काठमाडौं: नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०८२/८३ मा तीन दशमलव ८५ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा चार दशमलव ४३ प्रतिशत रहेको वृद्धिदर गत वर्ष घटेको हो।
प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा प्रमुख कृषि बालीको उत्पादन शून्य दशमलव ८४ प्रतिशतले घटेको छ भने बालीले ढाकेको क्षेत्रफल पनि एक दशमलव ५६ प्रतिशतले घटेको छ। तरकारी उत्पादनमा एक दशमलव ६७ प्रतिशत र फलफूलमा शून्य दशमलव २१ प्रतिशतले वृद्धि भएको छ। पशुजन्य उत्पादनतर्फ दूध उत्पादन तीन दशमलव ६४ प्रतिशतले बढ्दा मासु र अण्डाको उत्पादन क्रमशः शून्य दशमलव ०९ प्रतिशत र पाँच दशमलव ७७ प्रतिशतले घटेको छ।
औद्योगिक क्षेत्रको अवस्था पनि कमजोर देखिएको छ। अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग अघिल्लो वर्षको ५१ दशमलव ४३ प्रतिशतबाट घटेर ४८ दशमलव १३ प्रतिशतमा सीमित भएको छ। असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा ३१ दशमलव ०२ प्रतिशत रहेको छ।
वैदेशिक व्यापारमा निर्यात र आयात दुवै बढेका छन्। कुल वस्तु निर्यात १३ दशमलव ८१ प्रतिशतले बढेर रु तीन खर्ब १५ अर्ब २९ करोड पुगेको छ भने आयात १६ दशमलव २० प्रतिशतले बढेर रु २० खर्ब ९६ अर्ब ३८ करोड पुगेको छ। निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च देखिएको छ।
गत आर्थिक वर्षमा संघीय सरकारको कुल बजेट खर्च संशोधित अनुमानको ९३ दशमलव ७१ प्रतिशत अर्थात् रु १५ खर्ब ८२ अर्ब १७ करोड भएको छ। कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६ दशमलव ७१ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम चार दशमलव दुई प्रतिशत रहेको छ।
