म्याग्दी: म्याग्दीमा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २.७० प्रतिशतले वृद्धि भएको छ। कृषि विकास कार्यालयका अनुसार अनुकूल मौसम र बालीमा रोगकीराको प्रकोप नदेखिएकाले उत्पादनमा सुधार आएको हो।
कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले धान रोप्ने र हुर्कने समयमा पर्याप्त वर्षा हुनुका साथै बाली भित्र्याउने समयमा पनि मौसम अनुकूल हुँदा उत्पादन बढेको जानकारी दिनुभयो। गत असोजमा आएको बाढीपहिरोले केही स्थानमा क्षति पुर्याए पनि जिल्लाको समग्र उत्पादनमा भने खासै असर परेको छैन।
जिल्लामा तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। यस वर्ष प्रतिहेक्टर तीन दशमलव आठ मेट्रिकटनका दरले कुल १४ हजार ४६२ दशमलव आठ मेट्रिकटन धान उत्पादन भएको छ। गत वर्ष प्रतिहेक्टर तीन दशमलव सात मेट्रिकटनका दरले १४ हजार ८७ मेट्रिकटन धान उत्पादन भएको थियो। कृषि प्रसार अधिकृत कल्पना पुनका अनुसार बाली कटानी विधिबाट यो तथ्याङ्क सङ्कलन गरिएको हो।
जिल्लामा गौरिया, गुडुरा, जेठो बुढो, जनर्ली, पहेँले, मार्सी, शङ्कर र युएस ३१२ जातका धान लगाइन्छ। लेकाली क्षेत्रका किसानले सिँचाइ आवश्यक नपर्ने घैया जातको धान लगाउने गरे पनि पछिल्लो समय उन्नत जातप्रति आकर्षण बढेसँगै रैथाने जातको खेती घट्दै गएको छ। रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बरङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, घार, नारच्याङ र दाना क्षेत्रमा धानखेती गरिन्छ। धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ तथा अन्नपूर्ण गाउँपालिकाको शिखमा भने चिसोका कारण धानखेती हुँदैन।
मङ्गला गाउँपालिका-५ पिपलबोटकी किसान चन्द्रकुमारी भण्डारीले गत वर्ष ५५ मुरी धान उत्पादन गरेकोमा यस वर्ष मौसम अनुकूल भएकाले ७० मुरी उत्पादन भएको बताउनुभयो। जिल्लामा रैथाने जातको खेती घट्दै जानु र खेतीयोग्य क्षेत्रफल विस्तार गर्न नसक्नु धान उत्पादनका प्रमुख चुनौतीका रूपमा रहेका छन्।
