काठमाडौं: नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानले पाउन बाँकी रकम भुक्तानी गर्न सरकारसँग माग गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो माग अघि सारेको हो।
उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले तत्काल मूल्य तोक्न सरकारलाई आग्रह गरेको छ। उखु बजारमा पठाउने समय नजिकिँदै गर्दा किसानमा देखिएको चिन्तालाई सम्बोधन गर्न पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेसले उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई मुख्य आधार बनाउनुपर्ने धारणा राखेको छ।
साथै, किसानले चिनी उद्योगहरूबाट पाउन बाँकी रहेको भुक्तानी तत्काल उपलब्ध गराउन पनि सरकारसँग जोडदार माग गरेको छ।
