काठमाडौं: पर्यटकीय सहर पोखरामा अहिले प्याराग्लाइडिङ गर्ने पर्यटकको संख्या बढ्दो छ। नेपाल हवाई खेलकुद संस्थाका अनुसार हाल दैनिक दुई सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले प्याराग्लाइडिङको अनुभव लिइरहेका छन्। दसैँ-तिहारको बिदाका बेला यो संख्या दैनिक चार सयसम्म पुगेको थियो।
संस्थाका अध्यक्ष माधव तिवारीका अनुसार प्याराग्लाइडिङ गर्नेमा ६० प्रतिशत विदेशी र ४० प्रतिशत स्वदेशी पर्यटक छन्। पोखरा घुम्न आउने कुल पर्यटकमध्ये करिब २० प्रतिशतले प्याराग्लाइडिङ गर्ने गरेका छन्।
पोखरामा ५४ वटा कम्पनीले प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्दै आएका छन् भने दुई सय ३० जना तालिमप्राप्त पाइलट कार्यरत छन्। पोखरा महानगरपालिका-१८ को सराङकोट र तोरीपानीबाट उडान भरी फेवाताल किनारको खपौदीमा अवतरण गरिन्छ। समुद्री सतहबाट १६ सय ५० मिटरको उचाइबाट हुने यो उडानका लागि अहिले रु आठ हजार पाँच सय शुल्क तोकिएको छ। प्याराग्लाइडिङ गर्ने पर्यटकले १५ देखि ३० मिनेटसम्म आकाशमा समय बिताउन पाउँछन्।
फिस्टेल नेपाल प्याराग्लाइडिङ कम्पनीका पाइलट एलिस थापाले सुरक्षा मापदण्ड पालना गरेर मात्र उडान गरिने बताए। उनले विदेशी पर्यटकलाई थप आकर्षित गर्न पोखरामा प्याराग्लाइडिङका लागि एयर स्पेस विस्तार गर्नुपर्नेमा जोड दिए। पोखरामा तीन दशकअघिदेखि प्याराग्लाइडिङ सुरु भएको हो। हालै कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभानमा नयाँ प्याराग्लाइडिङ प्रशिक्षण केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ। पोखरामा प्याराग्लाइडिङका अतिरिक्त बञ्जी, स्काइडाइभिङ, अल्ट्रालाइट र हट एयर बेलुन जस्ता साहसिक गतिविधि पनि सञ्चालनमा छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले साहसिक पर्यटनमा धेरैभन्दा धेरै विदेशी पर्यटकलाई आकर्षित गर्न सके पोखराको पर्यटन क्षेत्रले ठूलो लाभ लिन सक्ने बताए।
