नेपालको अर्थतन्त्रमा डिजिटल कारोबारको विस्तार तीव्र छ।
बैंकको शाखामा नपुगी मोबाइलबाट रकम पठाउने, क्यूआर कोडबाट पसलमा भुक्तानी गर्ने, अनलाइनबाट सामान किन्ने, डिजिटल प्लेटफर्ममार्फत सेवा लिने र विदेशमा बसेका ग्राहकलाई नेपालबाटै सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी सेवा बेच्ने व्यवसायको दायरा फराकिलो हुँदै गएको छ।
तर यो विस्तारसँगै नागरिकका व्यक्तिगत विवरण कहाँ संकलन भइरहेका छन्, कसले प्रयोग गरिरहेको छ, कुन प्रयोजनका लागि राखिएका छन् र तिनको दुरुपयोग भए कसलाई जवाफदेही बनाउने भन्ने प्रश्न पनि जटिल बन्दै गएको छ।
सरकारले यही कानुनी रिक्तता सम्बोधन गर्ने उद्देश्यसहित वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ संशोधनको मस्यौदा तयार पारेको छ। प्रस्तावित संशोधनले डिजिटल कारोबारमा संलग्न कम्पनी, बैंक, भुक्तानी सेवा प्रदायक, ई–कमर्स प्लेटफर्म तथा अन्य प्रविधिमा आधारित संस्थालाई व्यक्तिगत सूचना संकलन र प्रशोधन गर्ने कानुनी आधार दिने मात्र होइन, त्यस्तो सूचना कसरी प्रयोग गर्ने भन्ने सीमा पनि तोक्न खोजेको छ।
अहिलेसम्म व्यक्तिगत सूचना संकलन, भण्डारण, संरक्षण, विश्लेषण, प्रशोधन र प्रकाशनका विषयमा ऐनको दफा २३ ले कडा व्यवस्था गरेको छ।
कानुनबमोजिम अधिकारप्राप्त अधिकारी वा अनुमति प्राप्त व्यक्तिबाहेक अन्यले व्यक्तिगत सूचना संकलन तथा प्रशोधन गर्न नहुने व्यवस्था विद्यमान ऐनमा छ।
डिजिटल कारोबारको विस्तारसँगै निजी क्षेत्रका संस्थाले ग्राहकको विवरण प्रयोग नगरी सेवा सञ्चालन गर्न नसक्ने अवस्था बनेको छ। यस्तो अवस्थामा कानुनको विद्यमान व्यवस्था र बजारको वास्तविक अभ्यासबीच अन्तर देखिएको थियो।
प्रस्तावित संशोधनले यही अन्तरलाई सम्बोधन गर्न ‘वैयक्तिक सूचना नियन्त्रक’ र ‘वैयक्तिक सूचना प्रशोधक’ को अवधारणा अघि सारेको छ। सूचना संकलन गर्ने, त्यसको प्रयोगको उद्देश्य निर्धारण गर्ने र प्रशोधन गर्ने संस्थाको भूमिका छुट्याउँदै तिनको दायित्व स्पष्ट पार्न खोजिएको छ।
यो संशोधन केवल गोपनीयताको विषय होइन। डिजिटल कारोबारमा ग्राहकको विश्वास, बैंकिङ प्रणालीको सुरक्षा, ई–कमर्सको प्रतिस्पर्धा, सूचना प्रविधि सेवाको निर्यात र विदेशी लगानी आकर्षित गर्ने वातावरणसँग पनि यसको प्रत्यक्ष सम्बन्ध छ। व्यक्तिगत विवरणको सुरक्षा कमजोर भएको देशमा अन्तर्राष्ट्रिय कम्पनीले संवेदनशील ग्राहक विवरण प्रशोधन गर्न दिने वा नदिने भन्ने निर्णय गर्दा नियामकीय विश्वसनीयतालाई महत्त्व दिन्छन्।
एशियाली विकास बैंकका लागि तयार पारिएको सन् २०२६ को अध्ययन प्रतिवेदनले नेपालको सूचना प्रविधि सेवा निर्यातमा कमजोर साइबर सुरक्षा, डेटा हस्तान्तरणसम्बन्धी अस्पष्टता, अपर्याप्त डेटा संरक्षण संरचना र बौद्धिक सम्पत्ति अधिकारको कमजोर सुरक्षालाई प्रमुख अवरोधका रूपमा औँल्याएको छ।
प्रतिवेदनअनुसार यस्ता नियामकीय कमजोरीले नेपाली कम्पनीलाई ठूला अन्तर्राष्ट्रिय ग्राहकसँग काम गर्न कठिन बनाइरहेको छ। यस अर्थमा प्रस्तावित संशोधन नागरिकको गोपनीयता संरक्षणसँगै नेपालको डिजिटल अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने कानुनी पूर्वाधार निर्माणको प्रयास पनि हो।
ग्राहकको विवरणमा कम्पनीको मनपरी रोकिने प्रस्ताव
डिजिटल अर्थतन्त्रमा ग्राहकले आफ्नो विवरण नदिई सेवा लिन कठिन छ। अनलाइनबाट सामान किन्दा नाम, ठेगाना, फोन नम्बर र इमेल दिनुपर्छ। बैंक खाता खोल्दा नागरिकता, सम्पर्क विवरण, आम्दानीको स्रोत र पहिचानसम्बन्धी कागजात बुझाउनुपर्छ।
डिजिटल वालेट प्रयोग गर्दा मोबाइल नम्बर, बैंक खाता र कारोबारसम्बन्धी विवरण प्रणालीमा रहन्छन्। डेलिभरी सेवा प्रयोग गर्दा ग्राहकको घरको ठेगाना, सम्पर्क नम्बर र खरिद गरेको वस्तुसम्मको विवरण सम्बन्धित कम्पनीको प्रणालीमा पुग्छ।
यी विवरण सेवा प्रदान गर्न आवश्यक हुन्छन्। तर आवश्यकताभन्दा बढी विवरण संकलन गर्ने, लामो समयसम्म राख्ने, असम्बन्धित व्यावसायिक प्रयोजनमा प्रयोग गर्ने वा तेस्रो पक्षलाई उपलब्ध गराउने अभ्यासले ग्राहकको गोपनीयता जोखिममा पार्न सक्छ।
प्रस्तावित संशोधनले व्यक्तिगत सूचना संकलन तथा प्रशोधनका लागि वैध आधार आवश्यक हुने व्यवस्था गरेको छ। सम्बन्धित व्यक्तिको स्वतन्त्र र सूचित मञ्जुरी, करार कार्यान्वयन वा कानुनी दायित्व पूरा गर्नुपर्ने अवस्था त्यसका आधार हुन सक्नेछन्। तर संस्थाले सेवा प्रदान गर्न आवश्यक न्यूनतम विवरणभन्दा बढी सूचना संकलन गर्न पाउने छैनन्।
यसको व्यावसायिक अर्थ स्पष्ट छ। कुनै ई–कमर्स कम्पनीलाई सामान ग्राहकसम्म पुर्याउन नाम, ठेगाना र सम्पर्क नम्बर आवश्यक पर्न सक्छ। तर त्यही विवरणलाई ग्राहकको मञ्जुरी वा अन्य वैध कानुनी आधारबिना असम्बन्धित उत्पादनको विज्ञापन, प्रचार वा तेस्रो पक्षको व्यापारिक प्रयोजनमा प्रयोग गर्न पाइने छैन।
मस्यौदामा थप गर्न खोजिएको दफा २५क र दफा २६ को संशोधनले बैंक, भुक्तानी सेवा प्रदायक, ई–कमर्स कम्पनी तथा अन्य डिजिटल संस्थाले ग्राहकको भुक्तानी इतिहास, कारोबार विवरण र व्यक्तिगत सूचना अनुमति वा वैध आधारबिना बिक्री, हस्तान्तरण वा असम्बन्धित प्रत्यक्ष बजारीकरणमा प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरेको छ।
यो व्यवस्थाले विशेषगरी डिजिटल विज्ञापन र ग्राहकको व्यवहार विश्लेषणमा आधारित व्यापारिक मोडललाई प्रभाव पार्न सक्छ।
ग्राहकले कुन सामान किन्छ, कति रकम खर्च गर्छ, कुन समयमा कारोबार गर्छ, कुन पसलबाट खरिद गर्छ र कुन सेवामा रुचि राख्छ भन्ने विवरण कम्पनीका लागि व्यावसायिक सम्पत्ति जस्तै बनेका छन्।
यस्ता विवरणको विश्लेषणबाट ग्राहकको रुचि अनुमान गरी विज्ञापन देखाउने र बिक्री बढाउने अभ्यास विश्वव्यापी रूपमा फैलिएको छ।
तर ग्राहकले सेवा लिनका लागि दिएको विवरणलाई कम्पनीले आफ्नो इच्छाअनुसार प्रयोग गर्न पाउने कि नपाउने भन्ने प्रश्न नै गोपनीयताको मूल विषय हो। प्रस्तावित व्यवस्थाले ग्राहकको सूचना र कम्पनीको व्यावसायिक स्वार्थबीच सीमा निर्धारण गर्न खोजेको छ।
मञ्जुरीका विषयमा पनि मस्यौदाले महत्त्वपूर्ण व्यवस्था अघि सारेको छ। ग्राहकले विज्ञापन वा प्रचारका लागि दिएको सहमति जुनसुकै बेला फिर्ता लिन सक्नेछ। मञ्जुरी फिर्ता लिएको कारण देखाएर कम्पनीले अत्यावश्यक सेवा रोक्न वा सेवा लिनबाट वञ्चित गर्न पाउने छैन। मञ्जुरी दिने प्रक्रियाभन्दा फिर्ता लिने प्रक्रिया अनावश्यक रूपमा कठिन बनाउन नपाइने व्यवस्था पनि प्रस्तावमा छ।
यसले डिजिटल सेवा प्रदायकलाई ग्राहकको सहमति स्पष्ट, उद्देश्यअनुसार र फिर्ता लिन सकिने बनाउने दबाब सिर्जना गर्नेछ। एउटै बटन थिचेर सेवा सुरु गराउने तर प्रचारका लागि दिएको सहमति हटाउन जटिल प्रक्रिया राख्ने अभ्यासलाई यसले नियन्त्रण गर्न खोजेको छ।
डेटा चुहावटमा ७२ घण्टाभित्र जवाफदेही
व्यक्तिगत विवरणको सुरक्षा केवल सूचना संकलन गर्ने विषयमा सीमित छैन। कम्पनीको प्रणालीमा राखिएको सूचना चोरी भयो, अनधिकृत व्यक्तिले पहुँच प्राप्त गर्यो वा साइबर आक्रमणबाट ग्राहकको विवरण बाहिरियो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न अझ महत्त्वपूर्ण छ।
बैंकिङ, डिजिटल भुक्तानी र ई–कमर्स प्रणालीमा ग्राहकको व्यक्तिगत विवरणसँगै आर्थिक कारोबारको संवेदनशील सूचना पनि भण्डारण हुन्छ। यस्तो विवरण सार्वजनिक भएमा पहिचान चोरी, वित्तीय ठगी, अनधिकृत कारोबार, सामाजिक इन्जिनियरिङ तथा अन्य साइबर अपराधको जोखिम बढ्न सक्छ।
प्रस्तावित संशोधनले सूचना सुरक्षा घटनालाई सम्बोधन गर्न ७२ घण्टे सूचना दायित्व राखेको छ। संरक्षित सूचनामा अनधिकृत पहुँच वा चुहावट भई सम्बन्धित व्यक्तिको अधिकारमा गम्भीर प्रतिकूल असर पर्न सक्ने अवस्था आएमा सूचना नियन्त्रकले घटना थाहा पाएको ७२ घण्टाभित्र अधिकारप्राप्त नियामक निकायलाई जानकारी दिनुपर्नेछ। प्रभावित व्यक्तिलाई पनि अनावश्यक विलम्ब नगरी सूचना दिनुपर्ने प्रस्ताव छ।
यसले डेटा चुहावट भएपछि कम्पनीले घटना लुकाएर बस्ने वा आन्तरिक रूपमा मात्र समाधान गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउनेछ। ग्राहकको विवरण जोखिममा परेको अवस्थामा सम्बन्धित व्यक्तिले समयमै जानकारी पाएर आफ्नो बैंक खाता, डिजिटल वालेट, पासवर्ड तथा अन्य संवेदनशील पहुँच सुरक्षित गर्न सक्नेछन्।
तर ७२ घण्टाभित्र जानकारी दिनुपर्ने व्यवस्थालाई व्यवहारमा प्रभावकारी बनाउन घटनाको गम्भीरता निर्धारण गर्ने मापदण्ड, नियामक निकायको अधिकार, प्रारम्भिक र विस्तृत प्रतिवेदनको ढाँचा तथा प्रभावित व्यक्तिलाई जानकारी दिने विधि स्पष्ट हुन आवश्यक छ। सूचना चुहावट भएको पुष्टि हुनुअघि नै शंका उत्पन्न भएको अवस्थामा कम्पनीले के गर्ने भन्ने विषय पनि कार्यान्वयन निर्देशिकामा स्पष्ट पारिनुपर्छ।
मस्यौदाले नागरिकलाई आफ्नो व्यक्तिगत विवरण सच्याउन पाउने अधिकार पनि दिन खोजेको छ। कुनै डिजिटल सेवा प्रदायकको प्रणालीमा गलत वा अपूर्ण सूचना रहेको अवस्थामा सम्बन्धित व्यक्तिले सच्याउन अनुरोध गर्न सक्नेछ। यस्तो अनुरोध प्राप्त भएपछि संस्थाले १५ कार्यदिनभित्र परीक्षण गरी आवश्यक संशोधन गर्नुपर्ने प्रस्ताव छ।
बैंकिङ तथा डिजिटल सेवामा गलत विवरणले प्रत्यक्ष आर्थिक र व्यावसायिक असर पार्न सक्छ। ग्राहकको गलत सम्पर्क नम्बर, पहिचान विवरण वा कारोबार अभिलेखका कारण सेवा अवरुद्ध हुन सक्छ। गलत तथ्याङ्कका आधारमा जोखिम मूल्यांकन वा ग्राहक वर्गीकरण भएमा ग्राहकले थप समस्या भोग्न सक्छ। त्यसैले विवरण सच्याउने अधिकारलाई उपभोक्ता संरक्षणसँग पनि जोडेर हेर्नुपर्ने हुन्छ।
सूचना दुरुपयोगमा दण्डको व्यवस्था पनि प्रस्ताव गरिएको छ। जानीजानी अनधिकृत रूपमा व्यक्तिगत सूचना बिक्री वा दुरुपयोग गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था मस्यौदामा राखिएको छ। त्यसबाट वास्तविक हानि–नोक्सानी भएको अवस्थामा क्षतिपूर्ति भराउने प्रावधानसमेत प्रस्ताव गरिएको छ।
कसूर भएको थाहा पाएको मितिले तीन महिनाभित्र उजुरी दिन सकिने गरी हदम्यादको व्यवस्था पनि संशोधन गर्न खोजिएको छ। यसले प्रभावित व्यक्तिलाई घटना थाहा पाएपछि कानुनी उपचार खोज्ने अवसर दिन्छ।
तर व्यक्तिगत विवरणको दुरुपयोगबाट हुने आर्थिक क्षति, मानसिक असर, प्रतिष्ठामा पर्ने प्रभाव र अन्य सम्भावित नोक्सानीको मूल्यांकन कसरी गर्ने भन्ने विषय महत्त्वपूर्ण हुनेछ।
३० हजार रुपैयाँसम्मको जरिवाना मात्र पर्याप्त हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उठ्छ। ठूला कम्पनीले ठूलो परिमाणमा ग्राहकको विवरण प्रशोधन गर्ने अवस्थामा दण्डको मात्रा उल्लङ्घनको गम्भीरता र कम्पनीको आकारसँग जोड्ने व्यवस्था आवश्यक हुन सक्छ।
सीमापार डेटा प्रवाहमा खुला ढोका, सर्तसहित
नेपालको सूचना प्रविधि उद्योगका लागि व्यक्तिगत विवरणको सीमापार हस्तान्तरण सबैभन्दा महत्त्वपूर्ण विषयमध्ये एक हो। नेपालमा बसेर अमेरिका, युरोप, अस्ट्रेलिया वा अन्य देशका ग्राहकका लागि सफ्टवेयर विकास, लेखा प्रशोधन, ग्राहक सेवा, तथ्याङ्क विश्लेषण, डिजाइन, अनुसन्धान र अन्य डिजिटल सेवा प्रदान गर्ने कम्पनीको संख्या बढिरहेको छ।
यस्ता कम्पनीले विदेशी ग्राहकको विवरण नेपालमा ल्याएर प्रशोधन गर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा नेपालका कम्पनीले विदेशी ग्राहकको विवरण विदेशस्थित सर्भर वा अन्य सेवा प्रदायकलाई पठाउनुपर्ने पनि हुन सक्छ। तर डेटा कहाँ राख्ने, कसले पहुँच पाउने र कुन कानुनी आधारमा अर्को देशमा पठाउन सकिने भन्ने विषय स्पष्ट नभए अन्तर्राष्ट्रिय ग्राहकसँगको सम्झौता प्रभावित हुन सक्छ।
प्रस्तावित संशोधनले नयाँ दफा २५ख थपेर व्यक्तिगत सूचना नेपालबाहिर हस्तान्तरण गर्ने आधार र सर्त निर्धारण गर्न खोजेको छ।
सम्बन्धित व्यक्तिको स्पष्ट तथा सूचित मञ्जुरी, करार कार्यान्वयन वा कानुनी दायित्व पूरा गर्नुपर्ने अवस्था त्यस्तो हस्तान्तरणका आधार हुन सक्नेछन्। सूचना प्राप्त गर्ने व्यक्ति वा संस्थाले गोपनीयता, सूचना सुरक्षा र अनधिकृत प्रयोग रोक्न पर्याप्त कानुनी, करारगत तथा प्राविधिक व्यवस्था गरेको हुनुपर्नेछ।
तर नेपालभित्रै भण्डारण गर्नुपर्ने भनी कानुनले तोकेको सूचना विदेश पठाउन नपाइने प्रस्ताव छ। यसको अर्थ सबै प्रकारका डेटा विदेश पठाउन स्वतन्त्रता दिने व्यवस्था होइन। कुन विवरण कुन अवस्थामा विदेश पठाउन मिल्ने र कुन विवरण नेपालमै राख्नुपर्ने भन्ने सीमा कानुन तथा सम्बन्धित नियामक निकायका मापदण्डले निर्धारण गर्नेछन्।
यसको अर्को पाटो नेपालमै विदेशी ग्राहकको विवरण प्रशोधन गर्ने व्यवसायसँग सम्बन्धित छ। मस्यौदाले नेपालमा दर्ता भएको वा कानुनबमोजिम सञ्चालनमा रहेको व्यवसायले विदेशी ग्राहकसँगको वैध करारअनुसार व्यक्तिगत सूचना नेपालमा प्रशोधन गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ।
यसले बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ), नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) र सूचना प्रविधि सेवा निर्यात गर्ने कम्पनीलाई कानुनी आधार स्पष्ट पार्न खोजेको छ।
यो व्यवस्था नेपालको सेवा निर्यातका लागि महत्त्वपूर्ण हुन सक्छ। नेपालबाट विदेशमा सफ्टवेयर, लेखा, ग्राहक सेवा, तथ्याङ्क व्यवस्थापन र अन्य डिजिटल सेवा बेच्ने कम्पनीलाई विदेशी ग्राहकले आफ्नो डेटा सुरक्षित रहने विश्वास खोज्छन्। डेटा संरक्षणको स्पष्ट कानुनी व्यवस्था नहुँदा ठूला अन्तर्राष्ट्रिय कम्पनीले संवेदनशील विवरण नेपालमा प्रशोधन गर्न दिन हिच्किचाउन सक्छन्।
एशियाली विकास बैंकको सन् २०२६ को अध्ययनले नेपालको सूचना प्रविधि सेवा निर्यातमा डेटा संरक्षण र सीमापार हस्तान्तरणसम्बन्धी अस्पष्टतालाई प्रमुख नियामकीय अवरोध मानेको छ।
प्रतिवेदनमा उद्धृत अध्ययनअनुसार सन् २०२३ मा गरिएको सूचना प्रविधि कम्पनी र स्वतन्त्र पेसाकर्मीको सर्वेक्षणमा करिब ७० प्रतिशत सहभागीले नेपालको नीतिगत वातावरणले क्षेत्रको विकासलाई पर्याप्त समर्थन गर्छ कि गर्दैन भन्नेमा शंका व्यक्त गरेका थिए।
अध्ययनले विदेशी ग्राहकसँग काम गर्न व्यक्तिगत सम्पर्क र विदेशमा रहेका नेपालीको सञ्जालमा निर्भर रहनुपर्ने अवस्था पनि उल्लेख गरेको छ। प्रतिवेदनमा भनिएको छ, कमजोर साइबर सुरक्षा, डेटा हस्तान्तरणको अस्पष्टता र बौद्धिक सम्पत्ति अधिकारको कमजोर संरक्षणका कारण विदेशी सूचना प्रविधि कम्पनीले नेपाली सेवा प्रदायकलाई स्वतः खोज्ने अवस्था अझै बनेको छैन।
यसैले व्यक्तिगत सूचना संरक्षणको स्पष्ट कानुनी व्यवस्था केवल नागरिक अधिकारको विषय होइन, अन्तर्राष्ट्रिय बजारमा नेपाली कम्पनीको विश्वसनीयता बढाउने पूर्वाधार पनि हो।
डिजिटल कारोबारको आकारसँगै बढ्दै जोखिम
नेपालमा डिजिटल कारोबारको विस्तारले व्यक्तिगत विवरणको सुरक्षा किन महत्त्वपूर्ण बन्दै गएको छ भन्ने कुरा नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।
राष्ट्र बैंकको वार्षिक प्रतिवेदन २०२४/२५ अनुसार २०२५ जुलाई मध्यसम्म वालेट प्रयोगकर्ताको संख्या २ करोड ६७ लाख ६५ हजार ६६० पुगेको थियो। अघिल्लो वर्ष यस्तो संख्या २ करोड ३४ लाख ६१ हजार १०७ थियो। मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७७ लाख ४१ हजार २८४ पुगेका थिए भने इन्टरनेट बैंकिङ प्रयोगकर्ता २२ लाख १९ हजार ३४१ पुगेका थिए।
त्यस्तै, राष्ट्र बैंकको २०८२ चैतसम्मको भुक्तानी प्रणालीसम्बन्धी तथ्याङ्कअनुसार एक महिनामा मोबाइल बैंकिङमार्फत ७ करोड ४४ लाखभन्दा बढी कारोबार भएका थिए। सोही अवधिमा वालेटमार्फत ४ करोड ६५ लाखभन्दा बढी र क्यूआरमा आधारित प्रणालीमार्फत ५ करोड ४६ लाखभन्दा बढी कारोबार भएका थिए। ई–कमर्समार्फत २ लाख ४८ हजार ६३१ कारोबार भएको तथ्याङ्क छ।
यी तथ्याङ्कले डिजिटल कारोबारको दायरा र ग्राहक विवरण प्रशोधन हुने परिमाण कति ठूलो भइसकेको छ भन्ने देखाउँछन्। एउटा मोबाइल बैंकिङ कारोबारमा ग्राहकको पहिचान, खाता, रकम, समय, प्राप्तकर्ता र कारोबारको प्रकृतिसम्बन्धी विवरण प्रणालीमा रहन्छ। वालेट, क्यूआर र अनलाइन खरिदमा पनि यस्तै सूचना उत्पन्न हुन्छन्।
राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार २०२४/२५ मा भुक्तानी सेवा प्रदायकको संख्या २६ बाट घटेर २३ पुगेको थियो भने भुक्तानी प्रणाली सञ्चालक नौ वटै थिए।
सो अवधिमा भुक्तानी सेवा प्रदायकका एजेन्टको संख्या १७ हजार ५६३ बाट बढेर ४ लाख २७ हजार ७८७ पुगेको थियो।
यसले डिजिटल भुक्तानीको पहुँच तीव्र रूपमा विस्तार भइरहेको देखाउँछ। एजेन्ट सञ्जाल, वालेट, मोबाइल बैंकिङ र क्यूआर भुक्तानीको विस्तारसँगै ग्राहकको व्यक्तिगत विवरण धेरै तहका प्रणालीमा पुग्ने सम्भावना पनि बढ्छ। त्यस्ता प्रणालीमा पहुँच नियन्त्रण, अभिलेख व्यवस्थापन, कर्मचारीको जिम्मेवारी र तेस्रो पक्षसँगको डेटा साझेदारीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता बढेको छ।
ई–कमर्स क्षेत्रमा पनि व्यक्तिगत विवरणको व्यावसायिक महत्त्व बढ्दै गएको छ। विद्युतीय व्यापार ऐन, २०८१ ले अनलाइन माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायलाई कानुनी दायरामा ल्याएको छ। ऐनले अनलाइन व्यापारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्य राखेको छ।
अब गोपनीयता ऐनको प्रस्तावित संशोधनले ई–कमर्स कम्पनी, ढुवानी सेवा र भुक्तानी प्रणालीबीच ग्राहकको विवरण कसरी प्रयोग हुने भन्ने विषयलाई थप स्पष्ट पार्न खोजेको छ। यसले अनलाइन व्यापारमा ग्राहकको विवरण मात्र होइन, विक्रेताको व्यावसायिक तथ्याङ्कको सुरक्षासमेत महत्त्वपूर्ण बनाएको छ।
प्रस्तावित सातवटा कानुनी संशोधनको प्याकेजमा ई–कमर्स ऐन, उपभोक्ता संरक्षण ऐन, प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, वैयक्तिक गोपनीयता ऐन, सुरक्षित कारोबार ऐन, भुक्तानी तथा फर्स्यौट ऐन र प्रतिलिपि अधिकार ऐन समेटिएका छन्। यसको उद्देश्य डिजिटल कारोबार, उपभोक्ता अधिकार, बजार प्रतिस्पर्धा र वित्तीय प्रणालीलाई एउटै नीतिगत दिशामा अघि बढाउनु रहेको देखिन्छ।
यसले व्यक्तिगत सूचना संरक्षणलाई छुट्टै विषयका रूपमा मात्र नभई डिजिटल बजारको प्रतिस्पर्धा र उपभोक्ता अधिकारसँग जोडेर हेर्न खोजेको छ।
नियामक संरचना र कार्यान्वयनको चुनौती
कानुनमा अधिकार लेखिनु र व्यवहारमा त्यसको संरक्षण हुनु फरक विषय हुन्। प्रस्तावित संशोधनले व्यक्तिगत सूचना संरक्षणका लागि सरकारी निकायबीच नीतिगत समन्वय गर्ने व्यवस्था पनि अघि सारेको छ। नयाँ दफा ३४क मार्फत सम्बन्धित सरकारी निकायबीच समन्वय गर्ने र आवश्यकताअनुसार भविष्यमा स्वतन्त्र नियामक निकाय स्थापना गर्न सकिने बाटो खुला राखिएको छ।
तर स्वतन्त्र नियामक निकाय स्थापना गर्ने विषय तत्काल कार्यान्वयन हुने सुनिश्चितता होइन। मस्यौदामा भविष्यमा त्यस्तो निकाय स्थापना गर्न सकिने सम्भावना राखिएको छ। अहिलेका लागि कुन निकायले अनुगमन गर्ने, उजुरी कहाँ दिने, डेटा चुहावटको अनुसन्धान कसले गर्ने र उल्लङ्घनमा कारबाही गर्ने अधिकार कसलाई हुने भन्ने विषय स्पष्ट पार्नुपर्ने हुन्छ।
नेपालमा व्यक्तिगत सूचना विभिन्न नियामक निकायको क्षेत्राधिकारसँग जोडिन्छ। बैंक तथा वित्तीय संस्थाको कारोबार राष्ट्र बैंकको नियमनमा पर्छ। भुक्तानी सेवा प्रदायकका लागि पनि राष्ट्र बैंकले इजाजत र निर्देशन जारी गर्छ। ई–कमर्स व्यवसाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नियमनमा पर्छ। दूरसञ्चार र सूचना प्रविधिसँग सम्बन्धित सेवामा छुट्टाछुट्टै नियामकीय संरचना छन्।
एउटै डेटा चुहावटको घटनामा बैंक, भुक्तानी सेवा प्रदायक, प्रविधि कम्पनी र तेस्रो पक्ष सेवा प्रदायक जोडिन सक्छन्। यस्तो अवस्थामा अनुसन्धानको नेतृत्व कसले गर्ने र प्रभावित ग्राहकलाई क्षतिपूर्ति दिलाउने प्रक्रिया कसरी अघि बढाउने भन्ने विषय स्पष्ट हुनुपर्छ। नियामक निकायबीच अधिकार क्षेत्रको दोहोरोपन वा जिम्मेवारीको अस्पष्टता रहेमा कानुन कार्यान्वयन कमजोर हुन सक्छ।
मस्यौदाले ई-कमर्स, बैंकिङ तथा डिजिटल सेवा प्रदायकलाई नयाँ व्यवस्था लागू गर्न प्रणाली र सुरक्षा मापदण्ड मिलाउन छ महिनाको संक्रमणकालीन अवधि दिने प्रस्ताव गरेको छ। यो अवधिमा कम्पनीले डेटा संकलनको उद्देश्य, ग्राहकको मञ्जुरी, पहुँच नियन्त्रण, सूचना भण्डारण, तेस्रो पक्षसँगको सम्झौता, डेटा चुहावट व्यवस्थापन र सीमापार हस्तान्तरणको प्रक्रिया पुनरावलोकन गर्नुपर्ने हुन्छ।
ठूला बैंक तथा डिजिटल प्लेटफर्मसँग आफ्नै सूचना प्रविधि विभाग र सुरक्षा प्रणाली हुन सक्छ। तर साना ई–कमर्स कम्पनी, स्टार्टअप र आउटसोर्सिङ व्यवसायका लागि नयाँ मापदण्ड पूरा गर्न लागत चुनौती बन्न सक्छ। डेटा सुरक्षा प्रणाली, सुरक्षित सर्भर, कर्मचारी तालिम, नियमित परीक्षण र कानुनी परामर्शमा थप लगानी आवश्यक पर्न सक्छ।
यसले बजारमा अनुपालनको लागत बढाउने भए पनि दीर्घकालीन रूपमा ग्राहकको विश्वास र व्यावसायिक विश्वसनीयता निर्माण गर्न सहयोग पुर्याउन सक्छ। तर नियमनको मापदण्ड कम्पनीको आकार, कारोबारको प्रकृति र प्रशोधन हुने सूचनाको संवेदनशीलताअनुसार फरक हुनुपर्छ। सबै संस्थालाई एउटै स्तरको प्राविधिक पूर्वाधार अनिवार्य गर्दा साना व्यवसायमा अनावश्यक भार पर्न सक्छ।
अर्कोतर्फ, नियम पालना गरेको देखाउन कागजी प्रक्रिया मात्र पूरा गर्ने तर वास्तविक प्रणालीमा सुरक्षा कमजोर रहने जोखिम पनि छ। त्यसैले नियामक निकायले कम्पनीको नीति र कागजात मात्र होइन, वास्तविक प्रणाली, पहुँच अभिलेख, सुरक्षा परीक्षण र डेटा चुहावट व्यवस्थापनको क्षमता पनि परीक्षण गर्न सक्नुपर्छ।
व्यक्तिगत सूचना संरक्षणको प्रभावकारी कार्यान्वयनका लागि कर्मचारीको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। ग्राहकको विवरणमा पहुँच भएका कर्मचारी, बाह्य सेवा प्रदायक, क्लाउड सेवा सञ्चालक र व्यावसायिक साझेदार सबैको जिम्मेवारी स्पष्ट हुनुपर्छ। कम्पनीले डेटा प्रशोधनको काम तेस्रो पक्षलाई दिएको अवस्थामा मूल कम्पनीले आफ्नो जवाफदेहिता पन्छाउन नपाउने व्यवस्था आवश्यक हुन्छ।
नेपालको डिजिटल अर्थतन्त्रको विस्तारसँगै डेटा संरक्षणलाई व्यावसायिक जोखिम व्यवस्थापनको हिस्साका रूपमा हेर्नुपर्ने अवस्था आएको छ। ग्राहकको विवरण सुरक्षित राख्न नसक्ने कम्पनीले वित्तीय क्षति मात्र होइन, प्रतिष्ठा र बजार विश्वास पनि गुमाउन सक्छ।
आईटी निर्यातको अवसर र कानुनी विश्वसनीयताको परीक्षा
नेपालको सूचना प्रविधि उद्योगका लागि व्यक्तिगत डेटा संरक्षणको स्पष्ट कानुनी संरचना निर्यात विस्तारको आधार बन्न सक्छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा आ.व. २०८२/८३ मा दूरसञ्चार, कम्प्युटर तथा सूचना सेवाको अभिलेखित निर्यात २४ अर्ब ८६ करोड रुपैयाँ पुगेको देखिन्छ। अघिल्लो आर्थिक वर्षमा यस्तो निर्यात २२ अर्ब ३३ करोड रुपैयाँ थियो। यसमध्ये कम्प्युटर सेवाको निर्यात २० अर्ब २० करोड रुपैयाँ रहेको तथ्याङ्क छ।
तर अभिलेखित तथ्याङ्कले वास्तविक निर्यातको सम्पूर्ण आकार नसमेटेको हुन सक्ने विश्लेषण पनि छ। विदेशस्थित प्लेटफर्म, व्यक्तिगत खातामार्फत प्राप्त हुने भुक्तानी वा अन्य माध्यमबाट आउने आम्दानी सेवा निर्यातको औपचारिक तथ्याङ्कमा नदेखिन सक्छ। त्यसैले सूचना प्रविधि निर्यातको वास्तविक आकार र यसको आर्थिक योगदान मापन गर्ने प्रणाली पनि आवश्यक छ।
एशियाली विकास बैंकको अध्ययनले नेपालका सूचना प्रविधि सेवा निर्यातकर्ताले डेटा सुरक्षा, सीमापार हस्तान्तरण, साइबर सुरक्षा र बौद्धिक सम्पत्ति अधिकारको अस्पष्टताका कारण अन्तर्राष्ट्रिय बजारमा समस्या भोगिरहेको उल्लेख गरेको छ।
प्रतिवेदनले छिटो इन्टरनेट, पूर्वाधार र दक्ष जनशक्तिको अभावलाई पनि क्षेत्र विस्तारका चुनौतीका रूपमा औँल्याएको छ।
प्रस्तावित संशोधनले विदेशी ग्राहकको व्यक्तिगत सूचना नेपालमा प्रशोधन गर्न सकिने व्यवस्था स्पष्ट पार्नु यसै सन्दर्भमा महत्त्वपूर्ण छ। अन्तर्राष्ट्रिय कम्पनीले आफ्नो ग्राहकको विवरण नेपालमा काम गर्ने कम्पनीलाई दिँदा त्यसको सुरक्षा कसरी सुनिश्चित हुन्छ भन्ने प्रश्नको कानुनी जवाफ खोज्छ।
डेटा संरक्षणको स्पष्ट मापदण्ड, उल्लङ्घनमा दण्ड, क्षतिपूर्तिको व्यवस्था र नियामकको निगरानी भएमा नेपाली कम्पनीको विश्वसनीयता बढाउन सहयोग पुग्न सक्छ।
तर कानुनले मात्र अन्तर्राष्ट्रिय ग्राहकको विश्वास निर्माण हुँदैन। डेटा सेन्टरको सुरक्षा, साइबर आक्रमणबाट जोगिने क्षमता, कर्मचारीको पहुँच नियन्त्रण, नियमित सुरक्षा परीक्षण र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको व्यवस्थापन पनि आवश्यक हुन्छ। कानुनी व्यवस्था र प्राविधिक क्षमता एकअर्काका पूरक हुन्।
प्रस्तावित संशोधनले डिजिटल कारोबारमा संलग्न कम्पनीलाई कानुनी आधार दिने र ग्राहकको विवरणको दुरुपयोग रोक्ने दुवै उद्देश्य राखेको छ। यसको सफलता भने कार्यान्वयनमा निर्भर हुनेछ।
मस्यौदा कानुनका रूपमा अघि बढेको अवस्थामा सरोकारवाला कम्पनी, बैंक, सूचना प्रविधि उद्योग, उपभोक्ता अधिकारकर्मी र कानुनी विज्ञसँग पर्याप्त परामर्श आवश्यक छ।
अन्ततः व्यक्तिगत सूचना कम्पनीको व्यावसायिक सम्पत्ति मात्र होइन, नागरिकको अधिकारसँग जोडिएको विषय हो। डिजिटल सेवा विस्तारका नाममा ग्राहकको विवरणमा असीमित पहुँच स्वीकार्य हुन सक्दैन। त्यस्तै, गोपनीयताको नाममा वैध डिजिटल कारोबार र सेवा निर्यातलाई अनावश्यक रूपमा अवरुद्ध गर्ने व्यवस्था पनि प्रभावकारी हुँदैन।
सरकारले अघि सारेको संशोधनले यी दुई पक्षबीच सन्तुलन खोजेको छ। अब यसको वास्तविक परीक्षा कानुनको अन्तिम स्वरूप, नियामक संरचनाको स्पष्टता, कम्पनीले पालना गर्नुपर्ने मापदण्ड र उल्लङ्घनमा हुने कारबाहीबाट हुनेछ। डिजिटल अर्थतन्त्रको अर्को चरणमा प्रतिस्पर्धा केवल सेवा र मूल्यमा सीमित रहने छैन; ग्राहकको सूचना कति सुरक्षित छ भन्ने विषय पनि व्यावसायिक विश्वसनीयताको आधार बन्नेछ।
