काठमाडौं: ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी नेपाल बैंकर्स संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। होटल मर्क्युरमा आज आयोजित संघको ४०औँ वार्षिक साधारण सभाले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो।
यसअघि संघको उपाध्यक्ष रहेका रेग्मीलाई अध्यक्षका रूपमा चयन गरिएको हो। नेपाल बैंकर्स संघमा उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने अभ्यास रहेको छ। रेग्मी यसअघि माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको कार्यकालमा उपाध्यक्षका रूपमा कार्यरत थिए।
त्यसैगरी, संघको उपाध्यक्षमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल चयन भएका छन्। गत बुधबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूबीच भएको अनौपचारिक छलफलले खनाललाई उपाध्यक्ष बनाउने सहमति जुटाएको थियो।
