Logo

राष्ट्रिय प्राथमिकता र बजेटबारे सरोकारवाला निकायसँग छलफल

अ+ अ-

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको आगामी कार्यदिशा, राष्ट्रिय प्राथमिकता र बजेट व्यवस्थापनका विषयमा अर्थ मन्त्रालयसहित राज्यका प्रमुख नीतिगत निकायहरूसँग सघन छलफल सुरु गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारी र नीति अनुसन्धान प्रतिष्ठानका विज्ञहरूको सहभागिता रहेको छ।

प्रधानमन्त्री शाहका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईका अनुसार, सहजकर्ता सुरेन्द्र बजगाईका अनुसार, बैठक विशेषगरी सरकारको राष्ट्रिय प्राथमिकताका क्षेत्रहरू पहिचान गर्न र ती प्राथमिकतालाई आगामी बजेट तथा कार्यक्रमसँग प्रभावकारी रूपमा जोड्न केन्द्रित रहेको छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता गरिमामय निकायहरूको वर्तमान जिम्मेवारी, उनीहरूले तर्जुमा गरेका कार्यक्रम र बजेटको सान्दर्भिकताका बारेमा चासो व्यक्त गर्नुभएको छ।

बैठकमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रलाई गति दिन र जनअपेक्षा अनुसारका काम अघि बढाउन सबै निकायबिच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ। सहभागी निकायले आ-आफ्नो कार्यक्षेत्रमा भोगिरहेका समस्या र कार्यसम्पादनमा सुधार ल्याउन चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीलाई संक्षिप्त जानकारी गराउने क्रम जारी छ।

यस छलफलबाट प्राप्त हुने निष्कर्ष र सुझावहरूले सरकारको आगामी नीति तथा कार्यक्रमलाई अझ व्यावहारिक र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।