काठमाडौँ- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार १०० र चाँदी ९० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८६ हजार ७०० कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ६५० निर्धारण भएको छ ।
हिजो एक तोला सुन दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ७४० मा कारोबार भएको थियो ।
गत मङ्गलबार एक तोला सुन तीन लाख एक हजार ९०० र चाँदी चार हजार ९२५ मा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।