काठमाडौंः सन् २००२ मार्च १४ मा एलन मस्कले रकेट कम्पनी खोल्ने निर्णय गर्दा त्यो महत्वाकांक्षा एउटा महँगो जुवा थियो-जसको जित्ने सम्भावनाभन्दा हार्ने जोखिम धेरै देखिन्थ्यो। धेरैका लागि एलन मस्कको स्पेसएक्स व्यापारिक अवसरभन्दा पैसा डुब्ने परियोजना थियो। मस्कको प्रवेश एउटा यस्तो उद्योगमा भएको थियो, जहाँ दशकौँदेखि सरकार र केही ठूला एयरोस्पेस कम्पनीहरूको एकाधिकार थियो।
रकेट निर्माणमा लाग्ने विशाल लागत तथा प्राविधिक अनिश्चितताका कारण यसलाई आकर्षक लगानीकै रूपमा हेरिँदैनथ्यो। साथीहरूले समेत उनलाई यो जोखिम नलिन सुझाएका थिए। मस्कसँग लगानीका लागि केही पैसा थियो। तर त्यो पर्याप्त थिएन। उनको लक्ष्य पृथ्वीबाट अन्तरिक्षमा सामान पुर्याउने अर्को कम्पनी बनाउनु मात्र थिएन।
उनी मानिसलाई बहुग्रहीय सभ्यता बनाउने सपना देखिरहेका थिए। मंगल ग्रहमा मानिस पुर्याउने उनको दीर्घकालीन महत्वाकांक्षा थियो। सुरुवाती तीनवटै रकेट प्रक्षेपण असफल भए। कम्पनीको पैसा सकिँदै थियो, लगानीकर्ताको विश्वास डगमगाएको थियो र स्पेसएक्स अस्तित्वकै संकटमा पुगेको थियो। स्पेसएक्ससँग अब न समय थियो, न पैसा, न गल्ती दोहोर्याउने सुविधा-चौथो रकेट सफल हुनैपर्थ्यो।
२८ सेप्टेम्बर २००८ मा स्पेसएक्सको फाल्कन–१ रकेटले आफ्नो चौथो उडानमा पहिलोपटक सफलतापूर्वक पृथ्वीको कक्षमा प्रवेश गर्यो। यो सफलताले टाट पल्टने अवस्थामा पुगेको स्पेसएक्सलाई एकाएक पुनर्जीवित मात्र गरेन, अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्थाको विश्वास जित्दै नयाँ लगानीको ढोका पनि खोलिदियो। यही एउटा सफल प्रक्षेपण स्पेसएक्सको अस्तित्व जोगाउने निर्णायक क्षण बन्यो।
मस्कले पछि ती कठिन दिनहरूलाई कम्पनी ‘मृत्युको मुखमा पुगेको’ अवस्थाका रूपमा सम्झिएका छन्। अझ रोचक कुरा, कम्पनी सुरु गर्दा मस्क स्वयंले स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा कम रहेको बताएका थिए। यसरी एउटै सफल रकेट प्रक्षेपणले स्पेसएक्सलाई मात्र बचाएन, मस्कको लगभग असम्भव देखिएको दाउ व्यावसायिक सम्भावनामा बदलियो त्यो पनि अन्तरिक्ष उद्योगको खेल नै बदल्ने गतिमा।
त्यसपछि स्पेसएक्सले रकेट प्रक्षेपणलाई महँगो सरकारी परियोजनाबाट पुनःप्रयोग गर्न मिल्ने, कम लागतको व्यावसायिक दौड सुरु गर्यो। मस्कको जोखिमपूर्ण दाउलाई एउटा सम्भावित व्यवसायमा मात्र होइन अन्तरिक्ष प्रक्षेपणको अर्थशास्त्र नै बदल्ने यात्रामा परिणत गरिदियो।
सन् २०२६ को जुन १२ मा स्पेसएक्सले पहिलोपटक साधारण सेयर (आईपीओ) जारी गरेसँगै नास्डाकमा कारोबार सुरु गर्दा ७५ अर्ब डलरको सेयर निष्कासनबाट सुरु भएको इतिहासकै सबैभन्दा ठूलो बन्यो। थप सेयर बिक्रीपछि कुल रकम करिब ८५.७ अर्ब डलर पुगेको थियो। पहिलो दिनको कारोबारपछि कम्पनीको बजार मूल्य करिब २.१ ट्रिलियन डलर पुग्यो। १३५ डलरमा सूचीकृत भएको सेयर सुरुवाती कारोबारमै २० प्रतिशतले बढ्यो।
त्यसपछि सेयर कारोबार प्रतिकित्ता १५० अमेरिकी डलरमा सुरु भएलगत्तै १६० डलर पुगेको थियो। स्पेसएक्सले आईपीओ निष्काशनमा कीर्तिमान नै बनायो। संसारकै धनाढ्य अमेरिकी अर्बपति मस्क संसारकै पहिलो ‘ट्रिलिनेयर’ अर्थात् १० खर्ब बढी सम्पत्ति भएको व्यक्ति बने ।
अन्तरिक्ष कम्पनी स्पेसएक्सको आजको सफलता र मूल्य बुझ्न धेरै पछाडि फर्किनुपर्छ। स्पेसएक्सको सफलता केवल प्रविधिको कथा होइन; यो असफलतापछि पनि पुँजी, धैर्य र जोखिमलाई निरन्तर पुनःलगानी गर्दै एउटा असम्भवजस्तो देखिएको विचारलाई उद्योगको नयाँ मानकमा बदलिएको कथा हो।
पेपालपछि मंगल ग्रहसम्म
पेपाल बिक्रीपछि मस्कसँग करिब २० करोड डलरको सम्पत्ति थियो। त्यसपछि उनले अन्तरिक्षबारे गम्भीर रूपमा सोच्न थाले। मस्कले सुरुमा आफैँ रकेट कम्पनी खोल्ने योजना बनाएका थिएनन्। उनको पहिलो विचार केही हदसम्म प्रचारात्मक थियो-मंगल ग्रहमा सानो हरितगृह पठाउने, त्यहाँ बिरुवा हुर्काउने र मानिसलाई मंगल ग्रहमा जीवन सम्भव हुन सक्ने कुरा देखाउने।
मस्कको सपना पूरा गर्न पहिलो आवश्यकता थियो-सस्तो र विश्वसनीय रकेट। यहीँबाट सुरु हुन्छ स्पेसएक्सको वास्तविक कथा। रकेटका लागि उनी रुस पुगे। पुराना अन्तरमहादेशीय क्षेप्यास्त्रबाट रूपान्तरण गरिएका रकेट खरिद गर्ने प्रयास गरे। तर वार्ता असफल भयो। पुरानो रकेटको मूल्य पनि मस्कले अपेक्षा गरेभन्दा धेरै थियो।
रुसबाट फर्कंदै गर्दा उनले एउटा हिसाब गर्न थाले-यदि पुरानो रकेट किन्न यति महँगो पर्छ भने किन आफैँ रकेट नबनाउने? त्यही विमान यात्रामा एउटा असम्भवजस्तो लाग्ने मस्कको विचारले आकार लियो। रकेट किन्नुभन्दा रकेट बनाउनु सस्तो हुन सक्छ। यही विचारले स्पेसएक्स जन्मायो।
मस्कले २००२ मा कम्पनी स्थापना गरे। क्यालिफोर्नियाको हथर्नमा मुख्यालय बनाए। उनको सोच परम्परागत एयरोस्पेस उद्योगभन्दा फरक थियो। ठूला कम्पनीहरूले जस्तै धेरैभन्दा धेरै काम बाहिरी आपूर्तिकर्तालाई दिने होइन, सकेसम्म धेरै प्रविधि र संरचना आफ्नै कारखानामा बनाउने।
त्यसको पछाडि एउटा साधारण आर्थिक तर्क थियो-यदि रकेटको हरेक महत्त्वपूर्ण भाग बाहिरबाट किन्नुपर्छ भने लागत मात्र बढ्दैन, समय र आपूर्ति शृंखला पनि अरूको नियन्त्रणमा जान्छ। स्पेसएक्सले सुरुवाती चरणमै आफ्नै इन्जिन, संरचना, इलेक्ट्रोनिक्स र अन्य महत्वपूर्ण प्रणालीमा नियन्त्रण बढाउँदै गयो। आज यो सामान्य रणनीतिजस्तो देखिन्छ। त्यतिबेला भने यो एयरोस्पेस उद्योगको स्थापित संस्कृतिविरुद्धको विद्रोह थियो।
फाल्कन १ : तीन असफलता, एक अन्तिम अवसर
स्पेसएक्सको पहिलो रकेट थियो- फाल्कन १। नाम ‘स्टार वार्स’को मिलेनियम फाल्कनबाट प्रेरित थियो। इन्जिनको नाम पनि बाजका विभिन्न प्रजातिबाट राखियो—मर्लिन र केस्ट्रेल। तर नाम रोचक भएर रकेट सफल हुँदैन।
२००६ मा पहिलो प्रक्षेपण भयो। केही सेकेन्डमै समस्या आयो र रकेट असफल भयो। एक वर्षपछि दोस्रो प्रयास भयो। फेरि असफल। २००८ मा तेस्रो प्रयास गरियो। यसपटक रकेटले उडान सुरु गरे पनि चरण छुट्टिने क्रममा समस्या आयो र मिसन असफल भयो।
तीन असफलताले एउटा स्टार्टअपको पैसा मात्र सकिरहेका थिएनन्। कम्पनीको विश्वसनीयता पनि समाप्त हुँदै थियो। मस्कले फाल्कन १ का लागि मूलतः तीन प्रक्षेपणका लागि मात्र पर्याप्त पैसा छुट्याएका थिए। अब चौथो प्रयासका लागि पैसा थिएन। कम्पनी बन्द हुने अवस्थामा पुगेको थियो।
त्यही समयको सबैभन्दा महत्वपूर्ण कुरा थियो-मस्कसँग असफलताको विकल्प थिएन। उनले आफ्नो बाँकी सम्पत्तिबाट कम्पनीलाई धाने। पेपालसँग जोडिएका पुराना लगानीकर्ता र साथीहरूबाट पनि थप रकम जुटाइयो। तर चौथो प्रक्षेपण पनि असफल भएको भए स्पेसएक्सको कथा त्यहीँ समाप्त हुन सक्थ्यो।
सेप्टेम्बर २००८ मा फाल्कन १ चौथो पटक आकाशतर्फ उड्यो। यसपटक रकेट विस्फोट भएन। फाल्कन १ पृथ्वीको कक्षमा पुग्यो। यो एउटा सफल प्रक्षेपण मात्र थिएन। निजी कम्पनीले आफ्नै विकास गरेको तरल इन्धनयुक्त रकेटमार्फत कक्षा हासिल गरेको ऐतिहासिक क्षण थियो। तर त्योभन्दा महत्वपूर्ण थियो-स्पेसएक्स बाँच्यो।
केही महिनामै नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा सामान पुर्याउने कार्यक्रमका लागि स्पेसएक्सलाई १.६ अर्ब डलरको सम्झौता दियो। त्यो सम्झौता कम्पनीका लागि ग्राहकभन्दा धेरै थियो। त्यो प्रमाण थियो। स्पेसएक्स अब एउटा सनकी उद्यमीको प्रयोग मात्र रहेन। अमेरिकी अन्तरिक्ष उद्योगले यसलाई वास्तविक खेलाडीका रूपमा स्वीकार गर्न थालेको थियो।
असफलताको मूल्य तिरेर बनेको प्रविधि
स्पेसएक्सको सबैभन्दा ठूलो पाठ यहीँ छ। रकेट बनाउने प्रविधिमा वर्षौँसम्म लगानी गरेपछि मात्रै त्यसको आर्थिक परिणाम आउँछ। बीचमा उत्पादन, परीक्षण, विस्फोट, पुनःडिजाइन र फेरि परीक्षण हुन्छ। लगानीकर्ताले पैसा खर्च भइरहेको देख्छन्। तर राजस्व देखिँदैन। इन्जिनियरले प्रगति गरिरहेको देख्छ। बजारले भने असफल प्रक्षेपण मात्र देख्छ।
यही कारण गहिरो प्रविधिमा आधारित व्यवसाय-जसलाई ‘डीपटेक’ भनिन्छ-सामान्य डिजिटल स्टार्टअपभन्दा फरक हुन्छ। एउटा मोबाइल एप केही महिनामै लाखौँ प्रयोगकर्तासम्म पुग्न सक्छ। एउटा रकेट इन्जिन बनाउन वर्षौँ लाग्न सक्छ। सफ्टवेयरमा गल्ती भयो भने नयाँ संस्करण निकाल्न सकिन्छ। रकेटमा गल्ती भयो भने करोडौँ डलरको हार्डवेयर केही सेकेन्डमा ध्वस्त हुन सक्छ।
स्पेसएक्सको सफलताले देखाएको कुरा यही हो—गहिरो प्रविधि निर्माणमा पूँजी मात्र होइन, धैर्यशील पूँजी चाहिन्छ।
फाल्कन ९ : रकेटलाई फाल्ने होइन, फर्काउने
फाल्कन १ सफल भएपछि मस्कको अर्को लक्ष्य अझ ठूलो थियो। फाल्कन ९। यो फाल्कन १ भन्दा धेरै शक्तिशाली थियो। तर यसको वास्तविक महत्व आकार वा शक्तिमा थिएन। महत्व थियो—पुनःप्रयोगमा।
दशकौँसम्म रकेटको अर्थ थियो-उडाउने, अन्तरिक्षमा सामान पुर्याउने र बाँकी भाग समुद्रमा खसाल्ने। विमान एकपटक उडेपछि फालिँदैन। फेरि इन्धन भरिन्छ र अर्को उडान हुन्छ। मस्कको प्रश्न थियो—रकेट पनि किन त्यस्तै हुन सक्दैन?
त्यो विचार त्यतिबेला लगभग असम्भव मानिन्थ्यो। तर स्पेसएक्सले त्यही असम्भव लक्ष्यलाई आफ्नो व्यवसायको केन्द्र बनायो। २०१५ मा फाल्कन ९ को पहिलो चरण पृथ्वीमा फर्किएर ठाडो रूपमा अवतरण गर्न सफल भयो। त्यो दृश्य अन्तरिक्ष उद्योगको इतिहासमा मोड बन्यो। रकेट उड्यो। आफ्नो मुख्य काम पूरा गर्यो। र फेरि पृथ्वीमा फर्कियो। पछि त्यही बुस्टरहरू पटकपटक उड्न थाले।
यसले अन्तरिक्ष प्रक्षेपणको अर्थशास्त्र नै परिवर्तन गरिदियो। पहिले प्रत्येक प्रक्षेपणसँग नयाँ रकेटको ठूलो हिस्सा निर्माण गर्नुपर्थ्यो। पुनःप्रयोगले एउटै हार्डवेयरलाई धेरैपटक प्रयोग गर्ने सम्भावना खोल्यो। यहीँ स्पेसएक्सको प्रतिस्पर्धात्मक लाभ गहिरो भयो।
प्रतिस्पर्धीले पैसा खर्च गरेर रकेट बनाउन सक्थ्यो। तर स्पेसएक्ससँग वर्षौँको परीक्षण, उडान डेटा, पुनःप्रयोगको अनुभव, इन्जिन प्रविधि र उत्पादन प्रणाली थियो। त्यो सबै एकैपटक किन्न सकिँदैनथ्यो।
लागत नै सबैभन्दा ठूलो हतियार
स्पेसएक्सको वास्तविक प्रतिस्पर्धा रकेटको आकारमा होइन, लागतमा थियो। कम्पनीले उत्पादनलाई आफ्नै नियन्त्रणमा राख्यो। इन्जिनियरिङ, डिजाइन र उत्पादनलाई एउटै संरचनामा जोड्यो। बाह्य आपूर्तिकर्तामाथिको निर्भरता घटायो।
यसको अर्थ एउटा प्रक्षेपण असफल भयो भने अर्को रकेट निर्माण गर्न वर्षौँ पर्खिनुपर्ने अवस्था कम हुँदै गयो। पुनःप्रयोगले त्यसलाई अझ परिवर्तन गर्यो। रकेटलाई ‘एकपटक प्रयोग हुने उत्पादन’बाट ‘पुनःप्रयोग गर्न सकिने पूँजीगत सम्पत्ति’मा बदलियो।
यही परिवर्तनले स्पेसएक्सलाई अरू कम्पनीभन्दा फरक बनायो। आज कम्पनीले अन्तरिक्ष प्रक्षेपण बजारमा असाधारण हिस्सा ओगटेको छ। २०२५ मा विश्वव्यापी प्रक्षेपण गतिविधिमा स्पेसएक्सको हिस्सा अत्यन्त ठूलो थियो, र फाल्कन ९ तथा स्टारलिंकका कारण पृथ्वीको कक्षमा पठाइएको कुल भारमा पनि कम्पनीको प्रभुत्व देखियो।
यसको अर्थ केवल धेरै रकेट उड्नु होइन। यसको अर्थ अन्तरिक्षमा जाने लागतको अर्थशास्त्र परिवर्तन हुनु हो।
रकेटभन्दा ठूलो व्यवसाय : स्टारलिंक
स्पेसएक्सको आजको मूल्य केवल रकेटबाट बनेको होइन। यसको अर्को ठूलो स्तम्भ हो-स्टारलिंक।
२०१९ पछि स्पेसएक्सले हजारौँ स्याटेलाइटलाई पृथ्वीको तल्लो कक्षमा पठाउन थाल्यो। उद्देश्य थियो-पृथ्वीको अधिकांश भागमा स्याटेलाइटमार्फत उच्चगतिको इन्टरनेट उपलब्ध गराउने।
पहाडी क्षेत्र, दुर्गम गाउँ, समुद्र, विमान, युद्ध क्षेत्र वा परम्परागत फाइबर पुर्याउन कठिन स्थान—जहाँ जमिनमा आधारित दूरसञ्चार पूर्वाधार महँगो वा असम्भव हुन्छ, त्यहाँ स्टारलिंकले नयाँ विकल्प प्रस्तुत गर्यो।
यहीँ एउटा रोचक परिवर्तन भयो। स्पेसएक्स रकेट कम्पनीबाट सञ्चार कम्पनीमा पनि रूपान्तरण हुन थाल्यो। रकेटले स्याटेलाइट कक्षमा पुर्याउँछ। स्याटेलाइटले इन्टरनेट सेवा दिन्छ। इन्टरनेट सेवाबाट नियमित आम्दानी हुन्छ। त्यो आम्दानी फेरि नयाँ रकेट, नयाँ स्याटेलाइट र नयाँ पूर्वाधारमा लगानी गर्न सकिन्छ।
यसले एउटा यस्तो चक्र बनायो, जहाँ स्पेसएक्सको अन्तरिक्ष व्यवसाय आफैँलाई वित्तीय रूपमा बलियो बनाउने संरचनातर्फ गयो।
सरकार ग्राहक, निजी कम्पनी इन्जिन
स्पेसएक्सको अर्को महत्वपूर्ण मोड २०२० मा आयो। ड्रागन अन्तरिक्षयानमार्फत नासाका अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुर्याइयो। अमेरिकी भूमिबाट मानवसहितको अन्तरिक्ष उडानमा निजी कम्पनीको भूमिका स्थापित भयो।
यो क्षणको आर्थिक अर्थ पनि ठूलो थियो। सरकारले अन्तरिक्ष कार्यक्रम आफैँ बनाउने र सञ्चालन गर्ने पुरानो मोडलबाट निजी कम्पनीलाई सेवा खरिद गर्ने मोडलतर्फ गति बढ्यो।
नासाले ग्राहकको भूमिका खेल्न थाल्यो। रक्षा निकाय ग्राहक बने। व्यावसायिक स्याटेलाइट कम्पनीहरू ग्राहक बने। एयरलाइन्स, आपत्कालीन सेवा र दुर्गम क्षेत्रका प्रयोगकर्ता पनि ग्राहक बने। सरकार र निजी क्षेत्रबीचको यही सम्बन्धले स्पेसएक्सको बजार विस्तार गर्यो।
अब लक्ष्य स्टारशिप
तर मस्कका लागि फाल्कन ९ अन्तिम लक्ष्य थिएन। अब उनको सबैभन्दा ठूलो दाउ हो-स्टारशिप। स्टारशिप केवल अर्को रकेट होइन। यो स्पेसएक्सले पृथ्वी र अन्तरिक्षबीचको यातायात प्रणालीका रूपमा परिकल्पना गरेको विशाल संरचना हो। यसमा दुई मुख्य भाग छन्-तल्लो चरणको सुपर हेभी र माथिल्लो चरणको ‘शिप’।
हालको भर्सनको पूरा स्टारशिप करिब १२४ मिटर अग्लो हुने र उडानका क्रममा करिब ५,५३३ टनसम्मको कुल द्रव्यमान हुने स्पेसएक्सको प्राविधिक विवरणमा उल्लेख छ। यसको ३३ र्याप्टर इन्जिनले प्रक्षेपणका बेला करिब १८ मिलियन पाउन्ड–फोर्स थ्रस्ट दिने लक्ष्य राखिएको छ। यो अपोलो अभियानमा प्रयोग भएको स्याटर्न ५ को प्रक्षेपण थ्रस्टभन्दा करिब २.४ गुणा बढी हो।
तर स्टारशिपको महत्व शक्तिमा मात्र छैन। यसको महत्व पूर्ण पुनःप्रयोगमा छ।
रकेट अवतरण होइन, टावरले समात्ने
स्टारशिपको माथिल्लो चरणमा एउटा रोचक कुरा देखिँदैन—अवतरण गर्ने खुट्टा। यो डिजाइनको कमजोरी होइन। यो नै डिजाइनको विशेषता हो। स्पेसएक्सले माथिल्लो चरणलाई पृथ्वीमा फर्काउँदा खुट्टाले जमिनमा अवतरण गराउनेभन्दा प्रक्षेपण टावरमै ‘समात्ने’ योजना बनाएको छ।
यसको उद्देश्य स्पष्ट छ। रकेटमा अवतरणका लागि खुट्टा, त्यसका यान्त्रिक प्रणाली, संरचनात्मक सुदृढीकरण र अन्य उपकरण थप्दा तौल बढ्छ। रकेटमा थपिएको प्रत्येक किलोग्रामलाई अन्तरिक्षसम्म लैजान ऊर्जा चाहिन्छ। यदि अवतरण प्रणालीको ठूलो हिस्सा जमिनमै राख्न सकिन्छ भने रकेट हलुका रहन्छ।

त्यसैले स्पेसएक्सले ‘चपस्टिक’ नामले चिनिने टावरका विशाल बाहु प्रयोग गरेर फर्किएको रकेट समात्ने अवधारणा अघि सारेको हो। सुपर हेभी बुस्टरको हकमा यो प्रणाली परीक्षणमा सफल भइसकेको छ। २०२४ को अक्टोबरमा स्टारशिपको पाँचौँ परीक्षण उडानपछि सुपर हेभी बुस्टर पहिलोपटक प्रक्षेपण टावरका दुई बाहुले समातेर सफलतापूर्वक फर्किएको थियो।
तर माथिल्लो चरणको ‘शिप’लाई समात्नु अझ कठिन छ। किनभने त्यो धेरै उच्च वेगमा वायुमण्डलमा पुनःप्रवेश गर्छ, तातो सहन्छ, पेटतर्फ फर्केर वायुगतिकीय नियन्त्रण गर्छ, त्यसपछि ठाडो हुन्छ र इन्जिन प्रज्वलन गरेर टावरतर्फ आउनुपर्छ।
२०२६ को जुलाईमा स्टारशिपको १३औँ परीक्षण उडानमा शिप ४० ले पुनःप्रवेशपछि समुद्रमा अवतरणसम्मको प्रक्रिया पूरा गर्यो। त्यसले माथिल्लो चरणलाई भविष्यमा टावरबाट समात्ने सम्भावनाका लागि महत्वपूर्ण डेटा दिएको छ।
तर समुद्रमा खस्नु र स्टिलको टावरले समात्नु एउटै कुरा होइन। टावर क्याचका लागि त्रुटिको सीमा अत्यन्तै सानो हुन्छ। वेग, दिशा, इन्जिनको प्रदर्शन, हावा, नेभिगेसन र जमिनमा रहेको टावरका सबै प्रणाली एकैपटक सही हुनुपर्छ।
त्यसैले मस्कले अगस्ट २० मा माथिल्लो चरणलाई टावरले समात्ने प्रयास ‘केही महिनामा’ हुन सक्ने बताएका छन्। यसअघि अर्को परीक्षणमै प्रयास गर्ने सम्भावना व्यक्त गरिएको भए पनि पछिल्लो समयरेखा पछि सारिएको देखिन्छ। औपचारिक उडान मिति भने घोषणा भएको छैन।
यही हो डीपटेकको वास्तविक अर्थ
स्पेसएक्सको कथा अन्ततः रकेटको कथा मात्र होइन। यो पूँजीको प्रकृति बुझ्ने कथा हो। कम्पनीले २००२ मा पैसा हाल्यो। २००६ मा पहिलो रकेट असफल भयो। २००७ मा दोस्रो असफल भयो। २००८ मा तेस्रो असफल भयो। त्यसपछि मात्र चौथो प्रयास सफल भयो।
पुनःप्रयोग हुने रकेट बनाउन पनि वर्षौँ लाग्यो। स्टारलिंक निर्माण गर्न हजारौँ स्याटेलाइट, ग्राउन्ड स्टेसन, सफ्टवेयर र प्रक्षेपण क्षमता निर्माण गर्नुपर्यो। स्टारशिप अझै विकासकै क्रममा छ। यीमध्ये कुनै पनि परियोजनाले सुरुवाती वर्षमै लगानीकर्तालाई ठूलो प्रतिफल दिएको थिएन। यही कारण डीपटेक कम्पनीहरूमा सबैभन्दा ठूलो जोखिम प्रविधि असफल हुनु मात्र होइन। लगानीकर्ताले प्रविधि सफल हुनुअघि नै धैर्य गुमाउनु हो।
स्पेसएक्स बाँच्नुको कारण यहीँ छ। मस्कसँग पर्याप्त पूँजी थियो। असफलतापछि फेरि पैसा हाल्ने क्षमता थियो। इन्जिनियरहरूको टोली थियो। सरकारी ग्राहक प्राप्त गर्ने अवसर थियो। र सबैभन्दा महत्वपूर्ण-एक दशक वा दुई दशक लामो लक्ष्यमा लगानी गर्ने मानसिकता थियो।
दुई ट्रिलियन डलरको पछाडि के छ?
स्पेसएक्सको २०२६ को सार्वजनिक निष्कासनले बजारलाई एउटा असाधारण तथ्य देखायो। कम्पनीको मूल्य केवल रकेटको बिक्रीबाट तय भएको होइन। बजारले भविष्यको एउटा सम्पूर्ण अन्तरिक्ष पूर्वाधार कम्पनीको मूल्यांकन गरेको छ-रकेट, प्रक्षेपण सेवा, स्याटेलाइट इन्टरनेट, रक्षा, कृत्रिम बुद्धिमत्ता पूर्वाधार र भविष्यको अन्तरग्रहीय यातायातसम्म।
नास्डाकका अनुसार स्पेसएक्सले सार्वजनिक निष्कासनमा प्रारम्भिक रूपमा ७५ अर्ब डलर उठाएको थियो र समग्र रकम ८५.७ अर्ब डलरसम्म पुगेको थियो। पहिलो दिनको कारोबारमा कम्पनीको बजार मूल्य करिब २.१ ट्रिलियन डलर पुगेको थियो।
तर यति ठूलो मूल्यांकनसँगै प्रश्न पनि छन्। कम्पनीको मूल्य कति हदसम्म वर्तमान आम्दानीमा आधारित छ र कति भविष्यको अपेक्षामा? स्टारशिप कहिले पूर्ण रूपमा पुनःप्रयोगयोग्य बन्छ? मंगल ग्रहको व्यावसायिक अर्थशास्त्र कहिले सम्भव हुन्छ? स्टारलिंकको वृद्धि कति लामो समयसम्म कायम रहन्छ? र सबैभन्दा ठूलो प्रश्न-यति विशाल पूँजी लगानीपछि कम्पनीले वास्तवमै कति प्रतिफल सिर्जना गर्न सक्छ?
यी प्रश्नको उत्तर अहिले छैन। तर एउटा कुरा स्पष्ट छ। स्पेसएक्सले अन्तरिक्ष उद्योगको प्रतिस्पर्धाको आधार नै बदलिदिएको छ।
स्पेसएक्सको असली सम्पत्ति रकेट होइन
स्पेसएक्सको सबैभन्दा ठूलो सम्पत्ति फाल्कन ९ पनि होइन, स्टारलिंक पनि होइन, स्टारशिप पनि होइन। सबैभन्दा ठूलो सम्पत्ति हो-दुई दशकमा जम्मा भएको क्षमता। कुनै प्रतिस्पर्धीले आज १० अर्ब डलर खर्च गरेर रकेट कारखाना बनाउन सक्छ। तर त्यसले २००६ को असफलताबाट सिकेको अनुभव तुरुन्त किन्न सक्दैन।
२००७ को असफलताबाट आएको डेटा किन्न सक्दैन। २००८ को अन्तिम प्रक्षेपणबाट बनेको संस्थागत आत्मविश्वास किन्न सक्दैन। पुनःप्रयोगका सयौँ उडानबाट संकलित डेटा किन्न सक्दैन। हजारौँ स्याटेलाइट सञ्चालन गर्ने अनुभव किन्न सक्दैन।
र एउटै संगठनभित्र इन्जिनियरिङ, उत्पादन, प्रक्षेपण र सञ्चालन जोड्ने संस्कार एकै रातमा बनाउन सक्दैन। यही नै गहिरो प्रविधिको वास्तविक प्रतिस्पर्धात्मक लाभ हो। पैसा प्रवेशको टिकट हुन सक्छ। तर क्षमता निर्माणको विकल्प होइन।
नेपालको व्यवसायका लागि पनि एउटा पाठ
स्पेसएक्सको कथा नेपालका लागि टाढाको अन्तरिक्ष कथा जस्तो लाग्न सक्छ। तर यसको व्यवसायिक पाठ निकै नजिक छ।
नेपालमा प्रविधि, ऊर्जा, दूरसञ्चार, जलविद्युत्, डेटा सेन्टर, विद्युतीय यातायात, कृषि प्रविधि वा औद्योगिक उत्पादनमा दीर्घकालीन लगानी गर्ने कम्पनीहरूका लागि पनि एउटै प्रश्न लागू हुन्छ।
के लगानीकर्ताले प्रतिफल आउनुअघि पाँच, दस वा पन्ध्र वर्ष पर्खन सक्छ? के कम्पनीले सुरुमा बजारको आकारभन्दा क्षमता निर्माणलाई प्राथमिकता दिन सक्छ? के असफल परियोजनाबाट सिकेको ज्ञान अर्को परियोजनामा प्रयोग गर्ने संस्थागत प्रणाली छ? र सबैभन्दा महत्वपूर्ण-के पूँजी त्यतिबेलासम्म कम्पनीसँग रहन्छ, जतिबेलासम्म प्रविधिले आफ्नो वास्तविक मूल्य देखाउन थाल्छ? स्पेसएक्सको कथा यही प्रश्नको उत्तर हो।
अन्तिम उडान अझै बाँकी छ
२००८ मा चौथो फाल्कन १ सफल नभएको भए आजको स्पेसएक्स हुने थिएन। २०१५ मा पुनःप्रयोगको प्रयास असफल भएको भए फाल्कन ९को अर्थशास्त्र फरक हुने थियो। स्टारलिंक नआएको भए कम्पनीको आम्दानीको संरचना फरक हुने थियो। स्टारशिप सफल हुन्छ कि हुँदैन भन्ने प्रश्नको उत्तर अझै भविष्यले दिनेछ।
तर स्पेसएक्सले अहिलेसम्म एउटा असाधारण कुरा प्रमाणित गरिसकेको छ। अन्तरिक्षमा जाने लागत स्थिर छैन। रकेट एकपटक प्रयोग गरेर फाल्नुपर्ने वस्तु होइन। निजी कम्पनीले सरकारको ठाउँमा अन्तरिक्ष यातायात सञ्चालन गर्न सक्छ। स्याटेलाइट नेटवर्क विश्वव्यापी इन्टरनेट पूर्वाधार बन्न सक्छ। र बीस वर्षअघि असम्भवजस्तो देखिएको प्रविधि कुनै दिन विश्वकै सबैभन्दा मूल्यवान व्यवसायमध्ये एक बन्न सक्छ।
स्पेसएक्सको यात्रा त्यसैले केवल एलन मस्कको सफलताको कथा होइन। यो एउटा गहिरो व्यवसायिक सूत्र हो-धैर्यशील पूँजी + असफलताबीच टिक्ने विश्वास + वर्षौँमा निर्माण हुने प्राविधिक क्षमता = असाधारण प्रतिस्पर्धात्मक लाभ।
ट्रिलियन डलरको कम्पनी एकै दिनमा बन्दैन। त्यसको आधार ती वर्षहरूमा बन्छ, जब बाहिरबाट हेर्दा केही भइरहेको हुँदैन। स्पेसएक्सको सबैभन्दा ठूलो उपलब्धि यही हो-उसले त्यस्ता वर्षहरूमा पनि लगानी रोकिएन।
तीन रकेट विस्फोट भए। पैसा सकिन लाग्यो। कम्पनी बन्द हुने अवस्थामा पुग्यो। तर चौथो रकेटले कक्षा छोयो। त्यही एउटा उडानले कम्पनीलाई समय किन्यो। त्यसपछि स्पेसएक्सले त्यो समयलाई प्रविधिमा बदल्यो। प्रविधिलाई लागतको लाभमा बदल्यो। लागतको लाभलाई बजार शक्तिमा बदल्यो। बजार शक्तिलाई स्टारलिंकजस्ता नयाँ व्यवसायमा बदल्यो। र अन्ततः ती सबैलाई दुई ट्रिलियन डलरभन्दा बढीको सार्वजनिक कम्पनीमा बदल्यो।
त्यसैले स्पेसएक्सको कथा वास्तवमा रकेट प्रक्षेपणबाट सुरु भएर सेयर बजारमा समाप्त भएको कथा होइन। यो समय किन्न सक्ने पूँजीले कसरी असम्भवजस्तो प्रविधिलाई औद्योगिक शक्तिमा बदल्न सक्छ भन्ने कथा हो।
र स्टारशिपको पहिलो ‘टावर क्याच’ अझै बाँकी छ। सायद त्यही क्याचले स्पेसएक्सको अर्को अध्याय खोल्नेछ। सायद फेरि असफल हुनेछ। तर स्पेसएक्सको इतिहासले एउटा कुरा सिकाइसकेको छ-यस कम्पनीको लागि असफलता अन्त्य होइन। अर्को परीक्षणको सुरुवात हो।
