काठमाडौं। लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावले नेपालमा विदेशी लगानीकर्ताको आकर्षण रहे पनि स्वीकृत लगानीको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएकी छन्।
मंगलबार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन्।
उक्यावले विगत १४ वर्षमा बोर्डबाट करिब १.६७ ट्रिलियन रुपैयाँ बराबरको लगानी स्वीकृत भए पनि त्यसको ठुलो हिस्सा वास्तविक परियोजना र रोजगारीमा रूपान्तरण हुन नसकेको उल्लेख गरिन्।
स्वीकृत लगानी र कार्यान्वयनमा जाने रकमबिच ठुलो अन्तर रहेको बताउँदै उनले यस विषयमा थप अध्ययन आवश्यक रहेको औँल्याइन्। उनले भनिन्, ‘विगत १४ वर्षमा १.६ ट्रिलियन नेपाली रुपैयाँ स्वीकृत भएको छ, तर यो रकम वास्तवमै मैदानमा परिणत भएको छ त? अब यसमा काम गर्नुपर्ने आवश्यकता छ।’
पर्यटन, जलविद्युत्, सूचना प्रविधि तथा रासायनिक मललगायतका क्षेत्रमा विदेशी लगानीकर्ताको उच्च चासो रहेको उनले जानकारी दिइन्। हाल थप १.७ ट्रिलियन रुपैयाँ बराबरको लगानीका लागि चासो आएको उनले बताइन्। तर, विदेशी लगानीकर्ताका लागि लामो र झन्झटिलो प्रक्रिया, स्वीकृति, लाइसेन्स र सरकारी निकायबिचको समन्वयमा समस्या रहेको उनको भनाइ छ।
बोर्डमा आएको पाँचौँ हप्तामा रहेकी उक्यावले लगानी बोर्डलाई परियोजना कार्यान्वयनमा केन्द्रित ‘डेलिभरी युनिट’का रूपमा विकास गर्न आफूहरू क्रियाशील रहेको बताइन्। उनले लगानी बोर्डको संरचना पुनरावलोकन गर्नुपर्ने आवश्यकता पनि औँल्याइन्।
हाल बोर्डमार्फत पाँचवटा परियोजना अध्ययन तथा मूल्यांकनको चरणमा र तीनवटा परियोजना सञ्चालनमा रहेका छन्। परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाएर रोजगारी सिर्जना र रोयल्टी वृद्धिमा योगदान पुर्याउने लक्ष्य रहेको उनले स्पष्ट पारिन्।
