काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका-६, सानागाउँस्थित सिद्धीपुर ग्यास स्टोरका सञ्चालक सरोज नेम्कुल पक्राउ परेका छन्।
ग्यास सिलिन्डरको सिलबन्दी खोलेर बजारमा कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उक्त स्टोरमा छापा मारेको थियो।
४७ वर्षीय नेम्कुलको स्टोरबाट प्रहरीले सिल गरिएका २ वटा र सिल नभएका तर ग्यास भरिएका २२ वटा गरी कुल २४ वटा सिलिन्डर बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं सूचना अधिकारी गौतम मिश्रका अनुसार, बरामद गरिएका सिलिन्डरसहित नेम्कुललाई प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ।
उनीमाथि ग्यासको कृत्रिम अभाव सिर्जना गरेको कसुरमा म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
