ताप्लेजुङ। ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा बुधबार दिउँसो भीषण आगलागी भएको छ। आगलागीमा परी कम्तीमा १२ वटा घर तथा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आगो नियन्त्रणमा लिन फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको टोलीले प्रयास जारी राखेका छन्। यद्यपि, समाचार तयार पार्दासम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। आगलागीको कारण अझै खुल्न सकेको छैन।
स्थानीय बासिन्दा चन्द्रप्रसाद पौडेल र डण्डु लामा लगायतका घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। प्रत्यक्षदर्शीका अनुसार बजारका अधिकांश घरहरू काठ र जस्तापाताले बनेका कारण आगो तीव्र गतिमा फैलिएको हो। तमोर नदी र मैवाखोलाको दोभानमा अवस्थित यो बजार निकै घना बस्तीका रूपमा रहेको छ।
यसअघि वि.सं. २०७७ साल फागुन १८ गते पनि दोभान बजारमा भीषण आगलागी हुँदा करिब ४० वटा घर जलेर नष्ट भएका थिए। पछिल्लो समय निरन्तर वर्षा भइरहेको अवस्थामा नै बजारमा आगलागी भएको हो। क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ।
