काठमाडौं: खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खाका रामबहादुर कुँवरले कृषि व्यवसायबाट वार्षिक १९ लाख रुपैयाँ आम्दानी गर्दै आएको छ। गाउँमा सडक सुविधा पुगेपछि व्यावसायिक कृषिमा लागेका कुँवरले अहिले सुन्तला खेती र बाख्रापालनबाट सो आम्दानी गरिरहेको हो।
कुँवरले सुन्तला खेतीबाट वार्षिक १४ लाख र बाख्रापालनबाट ५ लाख रुपैयाँ कमाउँदै आएको छ। करिब १० वर्षअघि व्यावसायिक सुन्तला खेती सुरु गरेका कुँवरको ७० रोपनी जग्गामा अहिले आठ सयभन्दा बढी सुन्तलाका बोट छन्। धेरै बोटले फल दिन बाँकी रहेकाले आगामी दिनमा आम्दानी अझ बढ्ने उहाँको विश्वास छ।
सुन्तला खेतीका लागि आवश्यक मलको जोहो गर्न बाख्रापालन सुरु गर्नुभएका कुँवरको खोरमा अहिले करिब एक सयवटा बाख्रा छन्। उनले व्यावसायिक रूपमा बोयर जातका बाख्रा पाल्दै आएको छ। बाख्रापालनमा व्यस्त हुनुपर्ने भएकाले उहाँले एक जनालाई रोजगारीसमेत दिएको छ। यस कार्यमा उनलाई श्रीमती र छोराले सघाउँदै आएको छ।
सडक सञ्जाल जोडिएपछि बजारीकरणमा सहज भएको छ। खसी, बोका र सुन्तला खरिदका लागि व्यवसायीहरू फर्मसम्मै पुग्ने गरेका छन्। यद्यपि, कुँवरले अधिकांश सुन्तला आफैँ जिल्ला सदरमुकाम दिक्तेल लगेर बिक्री गर्ने गर्नुहुन्छ। कुनै समय गाउँ छाडेर बसाइँ सर्ने सोचमा रहनुभएका कुँवर अहिले गाउँमै कृषिबाट आत्मनिर्भर बनेको छ।
