काठमाडौं: गुल्मीका किसानका लागि खसीबोका पालन आम्दानीको प्रमुख स्रोत बनेको छ। छोटो समयमा राम्रो आम्दानी हुने भएपछि किसानहरू यस व्यवसायतर्फ आकर्षित भएका हुन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका अनुसार जिल्लामा वार्षिक करिब रु एक अर्ब बराबरको खसीबोका कारोबार हुने गरेको छ। जिल्लाका सबै पालिकामा बाख्रापालन हुने गरेको र हाल यहाँ करिब दुई लाख बाख्रा रहेको केन्द्रले जनाएको छ।
जिल्लाबाट वार्षिक १४ हजार ६०० खसीबोका बाहिरी जिल्लामा निर्यात हुने गरेका छन्। यसबाट जिल्लामा वार्षिक करिब रु २६ करोड २८ लाख भित्रिने गरेको केन्द्रका प्रमुख हुमाकान्त पाण्डेयले जानकारी दिए। जिल्लाका प्रत्येक पालिकाबाट वार्षिक करिब ४६ हजार खसीबोका उत्पादन हुने गरेको छ।
धुर्कोट गाउँपालिका मासुमा आत्मनिर्भर रहेको छ। यहाँ उत्पादित खसीबोका जिउँदो प्रतिकिलो रु ५५० का दरले बिक्री हुने गरेको गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताए। धुर्कोटबाट उत्पादित खसीबोका बुटवललगायतका सहरमा पठाइने गरिएको छ। जिल्लाको स्थानीय बजारमा खसीबोकाको मासु प्रतिकिलो रु ९५० मा बिक्री भइरहेको छ। यहाँ जमुनापारी खरीक्रस, बोयर खरीक्रस र सिरोही खरीक्रस जातका बाख्रा पालिने गरिएको छ।
प्रजननका लागि वार्षिक करिब ६०० बोका जिल्ला बाहिर बिक्री हुने गरेका छन्। पछिल्लो आर्थिक वर्षमा ४२१ वटा बाख्रा फार्म दर्ता भएका छन्। पशु सेवा विज्ञ केन्द्रले खोर निर्माण, उन्नत जातका बोका, औषधि उपचार र खोपमा किसानलाई प्राविधिक सहयोग गर्दै आएको छ।
यद्यपि, युवा विदेश पलायन र बसाइँसराइका कारण व्यावसायिक किसानको सङ्ख्या घट्दै गएको अनुमान गरिएको छ। रेसुङ्गा कृषि तथा पशुपन्छी फार्मका सञ्चालक केशर रजालीका अनुसार घाँस र व्यवस्थापन गर्ने जनशक्तिको अभाव यस व्यवसायका मुख्य चुनौती हुन्।
