काठमाडौं: बागलुङको गलकोट नगरपालिकामा आएको बाढीले धान भित्र्याउने समयमा किसानको खेत बगाएको छ। दरमखोलामा आएको बाढीका कारण स्थानीय किसानको बालीनाली र उब्जाउ जमिनमा ठूलो क्षति पुगेको छ।
गलकोट-९ का स्थानीय पुरुषोत्तम गौतमले आफ्नो १८ मुरी धान फल्ने खेत बगाएको बताए। उनले भने, ‘नामोनिसान नरहने गरी खेत सबै बाढीले लग्यो, बाउबाजेले आर्जेको खेत बगर पल्टँदा मन भारी भएको छ।’ सोही स्थानका टेकराज शर्माले पनि आफ्नो १२ मुरी धान फल्ने चार रोपनी खेत बाढीले बगाएको जानकारी दिए।
वडाध्यक्ष तेजबहादुर थापाका अनुसार टिमुरबोट, ब्राहमुरी, झेतुङ र सयमुरीलगायतका क्षेत्रमा बाढीले बढी क्षति पुर्याएको छ। वडाध्यक्ष थापाले उक्त वडामा १३५ परिवार बाढीबाट प्रभावित भएको र धेरैको खेत कटान भएको बताए। उनले क्षतिको विवरण सङ्कलन गरी राहतका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। गलकोट-३ का वडाध्यक्ष फम खत्रीका अनुसार सो क्षेत्रमा पनि करिब २० रोपनी खेतमा क्षति पुगेको छ।
नगरप्रमुख भरत शर्मा गैरेले बाढीका कारण २२ घरगोठ र केही व्यावसायिक संरचनामा क्षति पुगेको बताए। नगरपालिकाले धानखेतमा क्षति पुगेका किसानलाई प्रतिरोपनी रु ४ हजारका दरले राहत दिने निर्णय गरेको छ। गैरेले भने, ‘बाढीले धानबालीमा पुर्याएको क्षतिका लागि किसानलाई चार हजारदेखि बढीमा १६ हजारसम्म क्षतिपूर्ति दिँदैछौँ।’
गत असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षाका कारण बागलुङ जिल्लाका अधिकांश स्थानीय तह प्रभावित भएका छन्। बाढीपहिरामा परी जिल्लामा हालसम्म १३ जनाको मृत्यु भएको छ भने भौतिक सम्पत्तिको ठूलो क्षति भएको छ।
