काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार साँझ अमेरिकाको राजधानी वासिङ्टन डीसी प्रस्थान गरेका छन्।
विश्व बैंक समूहका अध्यक्ष अजय बांगाको निमन्त्रणामा उनी दुईदिने भ्रमणका लागि अमेरिका गएका हुन्।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारी तथा निजी क्षेत्रका लगानीकर्ताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण भौतिक पूर्वाधारमा पुगेको क्षति र पुनर्निर्माणका लागि आवश्यक थप सहायता परिचालन गर्ने विषयमा उनले विश्व बैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गर्नेछन्। साथै, सडक र विद्युत् प्रसारण लाइनजस्ता महत्त्वपूर्ण पूर्वाधारमार्फत रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार र निजी क्षेत्रको लगानी बढाउने पहलका बारेमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ।
