काठमाडौं। गत साता परेको अविरल वर्षा र हावाहुरीका कारण नेपालगन्ज-१९ को जानकी टोलमा २५ लाख रुपियाँभन्दा बढीको तरकारी नष्ट भएको छ। स्थानीय ६० परिवारले ३७० कठ्ठा जमिनमा गरेको खेतीमध्ये २०० कठ्ठामा लगाइएको तरकारी बालीमा क्षति पुगेको हो।
अगुवा किसान गोपी यादवका अनुसार यसअघि दैनिक १० क्विन्टल तरकारी बजार पठाउँदै आएका किसानहरू अहिले दुईदेखि तीन क्विन्टल मात्र पठाउन बाध्य छन्। वर्षाले चिचिण्डा, घिरौला, काँक्रा र लौकाको बालीमा ठुलो क्षति पुर्याएको छ। यसका साथै आगामी सिजनका लागि रोपिएको ३० कठ्ठाको खुर्सानी र १० कठ्ठाको टमाटर खेतीमा पनि नोक्सानी भएको छ।
बाली नष्ट भएपछि किसानहरूले सरकारसँग क्षतिपूर्ति र बिमाको व्यवस्था गर्न माग गरेका छन्। किसान भर्री कुर्मीले आम्दानी आधा घटेको भन्दै चिन्ता व्यक्त गरे। प्रल्हाद धोबी, सुन्दर लोनिया र किसान धोबी लगायतका अन्य किसानहरूले पनि स्थानीय, प्रदेश र संघीय सरकारबाट सहयोगको अपेक्षा गरेका छन्।
कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका अन्य स्थानमा पनि धान र तोरी बालीमा क्षति भएको जानकारी आएको जनाएको छ। सूचना अधिकारी सुजिता शर्माले क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको बताए।
