काठमाडौं: भारतमा सञ्चालनमा रहेका सेभेन-इलेभेनका सबै कन्भिनियन्स स्टोर सेप्टेम्बर महिनामा बन्द भएका छन्। कम्पनीको जापानी मातृ संस्था सेभेन एन्ड आई होल्डिङ्सले मङ्गलबार यसको पुष्टि गरेको हो।
कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, मुम्बई र पुणेमा सेभेन-इलेभेन स्टोर सञ्चालन गर्ने मास्टर फ्रान्चाइजी रिलायन्सले ३० सेप्टेम्बरमा आफ्ना सबै ३१ स्टोर बन्द गरेको छ। सन् २०२१ को अक्टोबरमा मुम्बईबाट पहिलो स्टोर सञ्चालनमा ल्याएको कम्पनीको सञ्जाल पछि विस्तार भएर करिब ६० स्थानसम्म पुगेको थियो।
स्टोर बन्द हुनुको ठोस कारणबारे कम्पनीले विस्तृत जानकारी दिएको छैन। यद्यपि, जापानी सञ्चारमाध्यम निक्केई र योमिउरीका अनुसार भारतीय खुद्रा बजारमा रहेको कडा प्रतिस्पर्धाका कारण कम्पनीलाई व्यवसाय सञ्चालनमा चुनौती थपिएको थियो।
सेभेन एन्ड आई होल्डिङ्सले भारतबाट पूर्ण रूपमा बाहिरिने निर्णय नभएको स्पष्ट पारेको छ। कम्पनीले भनेको छ, “भारतमा ग्राहकलाई सेवा दिने हाम्रो चाहना कायमै छ। दीर्घकालीन रूपमा बजारमा आफ्नो उपस्थिति विस्तार गर्न हामी विभिन्न विकल्प खोज्नेछौँ।”
यसैबीच सेभेन-इलेभेनको प्रतिस्पर्धी मानिने अर्को जापानी कम्पनी लसनले सन् २०२७ मा भारतमा आफ्नो पहिलो स्टोर खोल्ने तयारी गरिरहेको छ। लसनले सन् २०३० सम्ममा भारतमा करिब १०० वटा स्टोर सञ्चालन गर्ने लक्ष्य राखेको छ।
