काठमाडौं। रुपन्देहीको तिलोत्तमामा आगामी मंसिर ३ देखि १६ गतेसम्म चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ। तिलोत्तमा उद्योग वाणिज्य सङ्घले स्थानीय उत्पादन, उद्योग, व्यापार, कृषि, प्रविधि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त मेला आयोजना गर्न लागेको हो। सङ्घले आइतबार पत्रकार सम्मेलनमार्फत तिलोत्तमा नगरपालिका-४, मणिग्रामस्थित अस्थायी प्रदर्शनीस्थलमा मेला सञ्चालन गरिने जानकारी दिएको छ।
सङ्घका अध्यक्ष ज्ञानेन्द्र कार्कीका अनुसार मेलामा ३५० भन्दा बढी स्टल रहनेछन्। आयोजकले पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १२ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने लक्ष्य राखेको छ। मेलामा औद्योगिक तथा व्यावसायिक उत्पादन, कृषि उपज, प्रविधि र पर्यटनलगायतका क्षेत्रका सामग्री तथा सेवा प्रदर्शन गरिनेछ। यसका लागि होटलका लागि २० वटा स्टल छुट्याइएको छ भने अटोमोबाइल र सूचना प्रविधिसम्बन्धी स्टलको पनि व्यवस्थापन गरिने अध्यक्ष कार्कीले बताए।
मेलालाई थप आकर्षक बनाउन बाल उद्यान, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछ। मेलाको प्रवेशद्वारमा लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथका संरचनाको झल्को दिने सजावट गरिने आयोजकले जनाएको छ। यसबाट नेपाली कला, संस्कृति र धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। कार्कीका अनुसार मेलाको मुख्य उद्देश्य स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने, साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने रहेको छ।
मेलामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारका साङ्गीतिक प्रस्तुति रहनेछन्। स्वदेशी उत्पादनको बजारीकरण र उद्यमीबिच व्यावसायिक सम्बन्ध विस्तारलाई प्राथमिकता दिइने सङ्घले जनाएको छ। मेलालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सरोकारवाला निकायसँग समन्वय गरिने र पारदर्शिता, सामाजिक उत्तरदायित्व तथा वातावरणीय सचेतनालाई विशेष प्राथमिकता दिइने आयोजकले स्पष्ट पारेको छ।
