काठमाडौँ: रुस र अमेरिकाबिच प्रस्तावित डिजेल आपूर्ति सम्झौतामा हस्ताक्षर भएपछि इन्धन अमेरिकी बजारमा पुग्न १५ देखि २० दिन लाग्ने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बताएका छन्।
यद्यपि, सम्झौतामा हस्ताक्षर हुने मिति अझै तय भइसकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता रुससँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता हुन लागेको घोषणा गरेका थिए। नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि उपभोक्तालाई इन्धनको मूल्यवृद्धिबाट राहत दिने प्रयासका रूपमा यो सम्झौतालाई हेरिएको छ।
रुसी सञ्चारमाध्यम भेस्टीसँगको अन्तर्वार्तामा उपप्रधानमन्त्री नोभाकले सम्झौताका व्यावसायिक सर्त र दस्ताबेजलाई अन्तिम रूप दिने विषयमा वार्ता भइरहेको जानकारी दिए। यसअघि बुधबार क्रेमलिनका सल्लाहकार किरिल दिमित्रिभले केही दिनभित्रै हस्ताक्षर हुने बताएका थिए। इरानविरुद्धको सैन्य द्वन्द्वपछि इन्धनको मूल्य बढ्दा अमेरिकामा उपभोक्ताको असन्तुष्टि बढेको छ, जसले आगामी निर्वाचनमा असर पार्न सक्ने आकलन गरिएको छ।
यद्यपि, विज्ञहरूले रुससँगको प्रस्तावित सम्झौताले अमेरिकी उपभोक्तालाई पर्ने आर्थिक भारमा ठुलो परिवर्तन नल्याउने बताएका छन्। अमेरिकामा दैनिक करिब ३९ लाख ब्यारेल डिजेल खपत हुने भए पनि प्रस्तावित सम्झौता २२ लाख २० हजार ब्यारेल आपूर्तिसँग सम्बन्धित छ। यो परिमाण अमेरिकाको एक दिनको खपतभन्दा पनि कम रहेकाले बजारमा इन्धनको मूल्यमा उल्लेखनीय प्रभाव पार्ने सम्भावना सीमित रहेको विज्ञहरूको भनाइ छ।

