काठमाडौं: तिहार र छठ पर्व नजिकिएसँगै बुटवल उपमहानगरपालिकाले नगरवासीलाई प्लास्टिकजन्य फूल तथा मालाको प्रयोग नगर्न आग्रह गरेको छ। उपमहानगरले प्लास्टिकको सट्टा स्थानीय स्तरमा उत्पादित फूल र मालाको प्रयोगलाई प्राथमिकता दिन अपिल गरेको हो।
स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहन गर्ने र बुटवललाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ। नगर प्रमुख खेलराज पाण्डेयद्वारा जारी अपिलमा प्लास्टिकजन्य सामग्रीको प्रयोगले वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने उल्लेख छ।
स्थानीय उत्पादनको प्रयोगले किसान तथा व्यवसायीको आयआर्जनमा वृद्धि हुनुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने उपमहानगरको अपेक्षा छ। बुटवलका विभिन्न १७ वटा कृषि फार्मबाट माला बनाउन प्रयोग हुने फूल खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ। तिहारमा फूलको उच्च माग हुने भएकाले वातावरणमैत्री ढङ्गले चाडपर्व मनाउन नगरवासीलाई उपमहानगरपालिकाले अनुरोध गरेको छ।
