काठमाडौं: नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ललितपुरको खुमलटारस्थित आफ्ना कार्यालयहरूमा रहेका कर्मचारी आवास गृहहरूको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। परिषद्ले मातहतका कार्यालयहरूलाई आवास गृहको विवरण संकलन गर्न र अनधिकृत रूपमा प्रयोग भइरहेका आवास ३५ दिनभित्र खाली गराउन निर्देशन दिएको छ।
परिषद्को व्यवस्थापन बैठकले कात्तिक ११ गते गरेको निर्णयअनुसार यस्तो निर्देशन जारी गरिएको हो। परिषद्का कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा हाल आवास गृह प्रयोग गरिरहेका कर्मचारीको नाम, पद र तहसहितको विवरण तीन दिनभित्र उपलब्ध गराउन भनिएको छ।
परिषद्ले आवास गृहको प्रयोगसम्बन्धी विवरण अद्यावधिक गर्दै अनधिकृत प्रयोग नियन्त्रणका लागि आवश्यक कारबाही अघि बढाउन सम्बन्धित कार्यालयहरूलाई पत्राचार गरेको छ। आवास गृहको प्रयोगकर्ताको विवरण संकलन गर्ने र अनधिकृत रूपमा रहेका आवास खाली गराउने जिम्मेवारी सम्बन्धित कार्यालयलाई नै दिइएको छ।
