काठमाडौं । सुरक्षा जोखिमका कारण रोकिएको सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) नयाँ संस्करणसहित पुनः सञ्चालनमा आएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै प्रणाली पुनः सुरु भएको जानकारी दिएको हो।
कार्यालयले सबै सार्वजनिक निकायलाई निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सम्पूर्ण बोलपत्र नयाँ प्रणालीमार्फत मात्रै प्रकाशन गर्न निर्देशन दिएको छ।
यसअघि सञ्चालनमा रहेको ई–जीपी प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि गत भदौ ११ गतेदेखि नयाँ बोलपत्र सूचना प्रकाशन रोकिएको थियो। त्यसको विकल्पमा नयाँ सफ्टवेयर विकास गरी खरिद प्रक्रिया पुनः सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।
नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताले प्रणालीमा पुनः दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ।
नयाँ प्रणालीमा बोलपत्र पेस गर्न अनलाइनसँगै भौतिक रूपमा उपस्थित भएर हार्डकपी बुझाउन सकिने विकल्पसमेत खुला गरिएको छ। कार्यालयको सूचनाअनुसार बोलपत्रदाता वा आपूर्तिकर्ताले तोकिएको समयभित्र अनलाइन वा सम्बन्धित कार्यालयमा हार्डकपी बुझाएर प्रस्ताव दर्ता गर्न सक्नेछन्।
यसका लागि सार्वजनिक निकायहरूले दुवै माध्यमबाट प्रस्ताव दर्ता गर्न सकिने व्यवस्था मिलाउनुपर्नेछ।
कार्यालयले बोलपत्र खोल्ने तथा मूल्यांकन गर्ने काम विद्युतीय खरिद प्रणालीमार्फत गर्नुपर्ने स्पष्ट पारेको छ। हार्डकपीमार्फत प्राप्त बोलपत्र प्रस्तावको अभिलेख भने मुचुल्का र मूल्यांकन प्रतिवेदनमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
नयाँ प्रणाली सञ्चालनमा आएसँगै सार्वजनिक खरिद प्रक्रिया पुनः नियमित हुने र बोलपत्र प्रकाशन तथा दर्ताको काम अघि बढ्ने कार्यालयले जनाएको छ।
