पश्चिम अफ्रिकाको घाना कुनै समय सुन र कोकोको उत्पादनका कारण विश्व बजारमा चिनिन्थ्यो। प्राकृतिक स्रोतले सम्पन्न भए पनि कमजोर औद्योगिक आधार, राजनीतिक अस्थिरता, उच्च मुद्रास्फीति र विदेशी मुद्रा अभावले लामो समयसम्म यसको अर्थतन्त्रलाई दबाबमा राख्यो।
सन् १९७० र १९८० को दशकमा देशले गम्भीर आर्थिक संकट भोग्यो। प्रतिव्यक्ति आम्दानी घट्यो, औद्योगिक उत्पादन खस्कियो र कोको उत्पादनसमेत कमजोर बन्यो। तर घानाले त्यसपछि आर्थिक सुधारको बाटो समात्यो।
सन् १९८३ मा सुरु गरिएको आर्थिक पुनरुत्थान कार्यक्रमले राज्यनियन्त्रित अर्थतन्त्रलाई बजारमुखी बनाउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र व्यापार खुला गर्ने दिशामा परिवर्तन ल्यायो। त्यसपछिका दशकमा कृषि उत्पादन, शिक्षा, सेवा क्षेत्र, खानी, तेल र डिजिटल वित्तीय सेवाको विस्तारले अर्थतन्त्रलाई नयाँ गति दियो।
सन् २०११ मा घाना निम्नमध्यम आय भएको देशबाट मध्यम आय भएको अर्थतन्त्रमा उक्लियो। गरिबी घटाउने क्षेत्रमा पनि उल्लेखनीय प्रगति भयो। सन् १९९१ मा ५२.७ प्रतिशत रहेको राष्ट्रिय गरिबी दर सन् २०१२ मा २४.२ प्रतिशतमा झरेको विश्व बैंकको ऐतिहासिक अध्ययनले देखाउँछ।
तर घानाको कथा निरन्तर सफलताको सरल उदाहरण होइन। प्राकृतिक स्रोतमा अत्यधिक निर्भरता, कमजोर राजस्व आधार, सार्वजनिक खर्चको दबाब र विदेशी ऋणले देशलाई फेरि संकटमा पुर्यायो।
सन् २०२२ मा मुद्रास्फीति ५४ प्रतिशतभन्दा माथि पुग्यो। विदेशी ऋणको भुक्तानी धान्न नसकेपछि सरकारले ऋण पुनर्संरचना गर्नुपर्यो र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहायता लिनुपर्यो।
त्यसपछि सुरु भएको आर्थिक स्थायित्वको अभियानले पछिल्ला वर्षमा सुधारका संकेत देखाएको छ।
घानाको वास्तविक व्यावसायिक कथा यहीँ छ-प्राकृतिक स्रोतबाट आम्दानी गर्ने पुरानो मोडललाई उत्पादन, मूल्य अभिवृद्धि, डिजिटल कारोबार र निजी लगानीमा आधारित अर्थतन्त्रमा बदल्ने प्रयास। उपलब्धि हासिल भए पनि त्यसको लाभ सबै नागरिक र क्षेत्रसम्म पुर्याउने चुनौती अझै बाँकी छ।
संकटबाट सुधारको बाटो
घानाको आर्थिक इतिहासमा सन् १९८३ एउटा निर्णायक मोड हो। त्यसअघि सन् १९७० र १९८० को सुरुवातमा देशले आर्थिक संकटको सामना गरिरहेको थियो। खडेरी, विश्व बजारमा कोको, सुन र काठको मूल्यमा आएको गिरावट तथा कमजोर आर्थिक व्यवस्थापनले उत्पादन र आम्दानी दुवै घटाएका थिए।
सन् १९८३ सम्म आइपुग्दा प्रतिव्यक्ति वास्तविक आम्दानी सन् १९६० को तुलनामा करिब दुईतिहाइमा सीमित भएको विश्व व्यापार संगठनको ऐतिहासिक विवरणमा उल्लेख छ।
त्यस समयमा घानाको अर्थतन्त्रमा राज्यको नियन्त्रण बलियो थियो। विदेशी मुद्रा अभाव, आयात नियन्त्रण, कमजोर पूर्वाधार र उद्योग सञ्चालनका लागि आवश्यक सामग्रीको कमीले निजी क्षेत्रको विस्तार रोकेको थियो। कोकोजस्ता प्रमुख निर्यात वस्तुको उत्पादन घट्दा विदेशी मुद्रा आर्जनसमेत कमजोर बन्यो। अर्थतन्त्रको संरचना नै संकटमा परेको थियो।
सन् १९८३ मा सरकारले आर्थिक पुनरुत्थान कार्यक्रम लागू गर्यो। अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहयोगमा अघि बढाइएको यस कार्यक्रमले अर्थतन्त्रलाई बजारमुखी बनाउने नीति लियो। विनिमय दर प्रणालीमा सुधार, व्यापार उदारीकरण, सरकारी संस्थानको पुनर्संरचना, सार्वजनिक खर्च नियन्त्रण र निजी क्षेत्रको भूमिका विस्तार त्यसका प्रमुख पक्ष थिए।
सुधार कार्यक्रमको प्रभाव तत्काल सबै नागरिकले समान रूपमा अनुभव गर्न सकेनन्। सार्वजनिक क्षेत्रमा रोजगारी कटौती, आयात प्रतिस्पर्धा र मूल्य समायोजनका कारण केही व्यवसाय तथा समुदायमा दबाब परेको थियो। तर दीर्घकालमा उत्पादन र व्यापारलाई खुला बनाउने आधार तयार भयो। निजी क्षेत्रलाई आर्थिक गतिविधिमा सहभागी गराउने र बाह्य बजारसँग जोड्ने प्रक्रिया अघि बढ्यो।
घानाको सुधार यात्रामा राजनीतिक स्थिरताले पनि भूमिका खेल्यो। बहुदलीय लोकतन्त्रको निरन्तरता र सत्ता हस्तान्तरणको अभ्यासले लगानीकर्तालाई तुलनात्मक रूपमा पूर्वानुमानयोग्य राजनीतिक वातावरण उपलब्ध गरायो। विश्व बैंकका अनुसार पछिल्ला तीन दशकमा घानाले लोकतान्त्रिक संस्थाको विकास र सामाजिक प्रगतिमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
सुन र कोकोको अर्थतन्त्र
घानाको अर्थतन्त्रको पुरानो आधार सुन र कोको हो। अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्ये पर्ने घानामा खानी क्षेत्रले विदेशी मुद्रा, सरकारी राजस्व र रोजगारीमा योगदान गर्दै आएको छ। कोको उत्पादनमा पनि घानाको अन्तर्राष्ट्रिय पहिचान बलियो छ। विश्व बजारमा चकलेट उद्योगको मुख्य कच्चा पदार्थका रूपमा प्रयोग हुने कोकोले देशको कृषि अर्थतन्त्र र ग्रामीण जीविकोपार्जनमा महत्त्वपूर्ण स्थान ओगटेको छ।
तर प्राकृतिक स्रोतको प्रचुरता आफैँमा आर्थिक समृद्धिको ग्यारेन्टी होइन भन्ने उदाहरण पनि घाना हो। सुन, कोको र पेट्रोलियमजस्ता सीमित वस्तुमा निर्यात निर्भर हुँदा अन्तर्राष्ट्रिय बजारको मूल्य परिवर्तनले देशको आम्दानीमा ठूलो असर पार्छ।
विश्व बैंकले घानाको निर्यात संरचनामा सुन, कोको र पेट्रोलियमको हिस्सा ७५ प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै निर्यात विविधीकरणलाई आर्थिक रूपान्तरणको प्रमुख आवश्यकता मानेको छ।
सुनको मूल्य बढ्दा विदेशी मुद्रा सञ्चिति र चालु खाता सुधारिन सक्छ। तर मूल्य घट्दा वा उत्पादन प्रभावित हुँदा सरकारको राजस्व र विदेशी मुद्रा आम्दानीमा दबाब पर्छ।
यही समस्या कोकोमा पनि देखिन्छ। जलवायु परिवर्तन, बालीमा लाग्ने रोग, पुराना बगैँचा, उत्पादन लागत र किसानलाई दिइने मूल्यले कोको उत्पादनको प्रतिस्पर्धात्मक क्षमतामा प्रभाव पार्छ।
घानाले कच्चा पदार्थ निर्यात गरेर मात्र समृद्धि हासिल गर्न नसकिने निष्कर्ष क्रमशः आत्मसात् गरेको छ। सुनलाई प्रशोधन गरेर बढी मूल्यमा बिक्री गर्ने, कोकोबाट चकलेट तथा अन्य प्रशोधित खाद्य वस्तु उत्पादन गर्ने र खानीसँग सम्बन्धित उपकरण तथा सेवाको स्थानीय बजार विकास गर्ने विषय आर्थिक नीतिको महत्त्वपूर्ण पक्ष बनेका छन्।
कच्चा पदार्थको उत्पादन र निर्यातबाट प्राप्त आम्दानीलाई देशभित्रै उद्योग, प्रविधि, सीप र रोजगारी सिर्जनामा लगाउन सकिए मात्र प्राकृतिक स्रोत दीर्घकालीन विकासको आधार बन्न सक्छ। घानाको चुनौती पनि यही हो-स्रोतबाट प्राप्त आम्दानीलाई उत्पादनशील लगानीमा रूपान्तरण गर्नु।
तेलले थपेको सम्भावना र जोखिम
घानाको अर्थतन्त्रमा सन् २०११ देखि व्यावसायिक तेल उत्पादन सुरु भएपछि अर्को महत्त्वपूर्ण अध्याय थपियो। समुद्री क्षेत्रमा रहेका तेल तथा ग्यास भण्डारबाट उत्पादन सुरु हुँदा देशले नयाँ राजस्व स्रोत पायो। तेल उत्पादनले आर्थिक वृद्धिमा योगदान गर्यो र विदेशी लगानी आकर्षित गर्ने सम्भावना बढायो।
तेल क्षेत्रको विकासले ऊर्जा, यातायात, निर्माण, सेवा तथा वित्तीय क्षेत्रमा नयाँ व्यावसायिक अवसर सिर्जना गर्यो। तेल उत्खनन र प्रशोधनसँग जोडिएका कम्पनी, आपूर्तिकर्ता, प्राविधिक सेवा प्रदायक तथा स्थानीय व्यवसायका लागि बजार विस्तार भयो। सरकारलाई प्राप्त हुने रोयल्टी र करले सार्वजनिक लगानीको सम्भावना पनि बढायो।
तर तेल उत्पादनले अपेक्षा गरेअनुसार सबै क्षेत्रमा औद्योगिक रूपान्तरण ल्याउन सकेन। तेलको मूल्यमा उतारचढाव, उत्पादनमा गिरावट र सरकारी आम्दानीको अस्थिरताले अर्थतन्त्रलाई जोखिममा राखिरह्यो। विश्व बैंकले सन् २०११ पछि तेल र वस्तु बजारको मूल्य वृद्धिले घानाको आर्थिक वृद्धिलाई गति दिएको भए पनि अर्थतन्त्र विविधीकरण हुन नसकेको औँल्याएको छ।
तेलबाट प्राप्त आम्दानीलाई शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा र उत्पादनमूलक उद्योगमा लगानी गर्ने दीर्घकालीन योजना आवश्यक थियो। तर सार्वजनिक खर्चको दबाब र ऋण व्यवस्थापनको कमजोरीले त्यो अवसर पूर्ण रूपमा उपयोग हुन सकेन। प्राकृतिक स्रोतबाट प्राप्त आम्दानीलाई उपभोग र चालु खर्चमा खर्च गर्ने प्रवृत्तिले आर्थिक स्थायित्व कमजोर बनाउन सक्छ भन्ने पाठ घानाको अनुभवले दिएको छ।
मोबाइल मनीले बदल्यो कारोबारको शैली
घानाको आर्थिक रूपान्तरणमा सबैभन्दा रोचक पक्षमध्ये एक डिजिटल वित्तीय सेवाको विस्तार हो। बैंक शाखा नपुगेका गाउँ, बजार र ग्रामीण समुदायसम्म मोबाइल फोनमार्फत वित्तीय कारोबार पुर्याउने प्रणालीले अर्थतन्त्रमा नयाँ सम्भावना खोलेको छ।
मोबाइल मनीले घानामा पैसा पठाउने, प्राप्त गर्ने, बिल तिर्ने, सामान किन्ने र साना व्यवसायको भुक्तानी व्यवस्थापन गर्ने तरिका परिवर्तन गरेको छ। बैंक खाता नभएका नागरिकले पनि मोबाइल फोन र एजेन्ट नेटवर्कमार्फत आधारभूत वित्तीय सेवा प्रयोग गर्न सक्ने अवस्था बनेको छ। यसले वित्तीय पहुँच विस्तार गर्नुका साथै अनौपचारिक कारोबारलाई डिजिटल प्रणालीमा ल्याउन सहयोग गरेको छ।
घानाको केन्द्रीय बैंकले प्रकाशित गरेको राष्ट्रिय भुक्तानी प्रणाली रणनीतिअनुसार सन् २०२४ मा ८१ प्रतिशत वयस्कसँग कुनै न कुनै वित्तीय संस्थामा खाता थियो। सन् २०१४ मा यस्तो पहुँच ४१ प्रतिशत मात्र थियो। मोबाइल मनी प्रदायकसमेत समेटिएको यस तथ्याङ्कले एक दशकमा वित्तीय पहुँच लगभग दोब्बर भएको देखाउँछ।
मोबाइल मनीको विस्तारले डिजिटल भुक्तानीको बजार पनि ठूलो बनाएको छ। सन् २०२५ अप्रिलमा घानामा मोबाइल मनी कारोबारको कुल मूल्य ३६५ अर्ब घाना सेडी पुगेको थियो।
अघिल्लो वर्षको सोही महिनामा यो मूल्य २०३ अर्ब सेडी थियो। कारोबार संख्या ६३० मिलियनबाट बढेर ७७८ मिलियन पुगेको थियो। त्यस अवधिमा दर्ता भएका मोबाइल मनी खाताको संख्या ७५.२ मिलियन र सक्रिय प्रयोगकर्ता २४.२ मिलियन पुगेको घाना न्युज एजेन्सीले केन्द्रीय बैंकको तथ्याङ्क उद्धृत गर्दै जनाएको थियो।
यो विस्तार केवल मोबाइलबाट पैसा पठाउने सुविधा होइन। यसले साना पसल, यातायात व्यवसाय, कृषि उत्पादनका व्यापारी, अनलाइन विक्रेता र सेवा प्रदायकलाई डिजिटल भुक्तानी स्वीकार गर्ने अवसर दिएको छ। कारोबारको अभिलेख रहने भएकाले साना व्यवसायको आम्दानी र नगद प्रवाह बुझ्न पनि सहज भएको छ। भविष्यमा यही अभिलेखका आधारमा कर्जा, बीमा र बचत सेवा विस्तार गर्न सकिन्छ।
घानाको डिजिटल वित्तीय बजारमा दूरसञ्चार कम्पनी, बैंक, फिनटेक कम्पनी र भुक्तानी सेवा प्रदायकबीच प्रतिस्पर्धा बढेको छ। मोबाइल मनी प्लेटफर्मलाई बैंक खातासँग जोड्ने प्रणालीले प्रयोगकर्तालाई एउटै नेटवर्कमा सीमित नराखी विभिन्न सेवा प्रदायकबीच कारोबार गर्न सहज बनाएको छ।
घानाको केन्द्रीय बैंकले मोबाइल मनी अन्तरसञ्चालन र राष्ट्रिय डिजिटल परिचयपत्रलाई वित्तीय समावेशीकरणका आधारका रूपमा अघि सारेको छ।
डिजिटल वित्तीय सेवाको यो विस्तारले घानालाई अफ्रिकाको मोबाइल भुक्तानी बजारमा उल्लेखनीय स्थान दिएको छ। यसको व्यावसायिक महत्त्व भनेको परम्परागत बैंकिङ पूर्वाधार विस्तार गर्न ठूलो पुँजी आवश्यक पर्ने अवस्थामा मोबाइल नेटवर्कमार्फत कम लागतमा ठूलो जनसंख्यालाई वित्तीय सेवामा जोड्न सक्नु हो।
गरिबी घटाउने आधार
घानाको आर्थिक सुधारको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि गरिबी न्यूनीकरण हो। सन् १९९० को दशकपछि आर्थिक वृद्धिसँगै कृषि उत्पादन, शिक्षा र सेवा क्षेत्रको विस्तारले ग्रामीण तथा सहरी समुदायको आम्दानीमा सुधार ल्यायो।
विश्व बैंकको अध्ययनअनुसार सन् १९९१ देखि २०१२ सम्म घानाको राष्ट्रिय गरिबी दर ५२.७ प्रतिशतबाट घटेर २४.२ प्रतिशतमा झरेको थियो। अन्तर्राष्ट्रिय गरिबी मापनमा पनि उल्लेखनीय सुधार देखिएको थियो। कृषि उत्पादन वृद्धि र मानव पुँजी विकासले गरिबी घटाउन योगदान गरेका थिए।

घानाको निर्यात र विदेशी मुद्रा आम्दानीमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको सुन उद्योग। स्रोत: TimesLIVE
यही अवधिमा खाद्यान्न उत्पादन दोब्बर भएको र प्राथमिक तथा माध्यमिक शिक्षामा भर्ना दर बढेको अध्ययनले उल्लेख गरेको छ।
कृषि क्षेत्रमा उत्पादन बढ्दा ग्रामीण परिवारको आम्दानीमा सुधार आयो।
कोको किसानको गरिबी दर सन् १९९१ मा ६० प्रतिशत रहेकोमा सन् २००५ सम्म २४ प्रतिशतमा झरेको विश्व बैंकको अध्ययनमा उल्लेख छ। कृषि उत्पादनसँगै शिक्षा विस्तारले श्रम बजारमा नयाँ अवसर सिर्जना गर्यो।
अर्थतन्त्रको संरचनामा पनि परिवर्तन देखियो। सन् १९९१ मा कृषि क्षेत्रमा कार्यरत श्रमिकको हिस्सा ६२ प्रतिशत थियो। सन् २०१५ सम्म आइपुग्दा यो घटेर ४२ प्रतिशतमा झर्यो। त्यही अवधिमा सेवा क्षेत्रमा रोजगारीको हिस्सा २८ प्रतिशतबाट बढेर ४३ प्रतिशत पुगेको थियो। यसले घाना कृषिमा आधारित अर्थतन्त्रबाट सेवा क्षेत्रतर्फ अघि बढिरहेको संकेत गर्छ।
यद्यपि गरिबी न्यूनीकरणको उपलब्धि सबै क्षेत्र र समुदायमा समान छैन। विश्व बैंकका अनुसार देशको २० प्रतिशतभन्दा बढी जनसंख्या अझै गरिबीको अवस्थामा छ। उत्तरी र साभाना क्षेत्रका केही स्थानमा गरिबीको दर ५० प्रतिशतभन्दा माथि छ। यसले सहरी क्षेत्रमा देखिएको आर्थिक गतिविधि र ग्रामीण क्षेत्रको वास्तविक जीवनस्तरबीचको अन्तर अझै ठूलो रहेको देखाउँछ।
संकटले दिएको कठोर पाठ
घानाले आर्थिक सुधार र वृद्धि हासिल गरे पनि सन् २०२२ मा गम्भीर ऋण तथा मुद्रास्फीति संकट सामना गर्नुपर्यो। सरकारी खर्चको विस्तार, राजस्व संकलनको कमजोरी, बाह्य वित्तीय दबाब र मुद्रा अवमूल्यनले अर्थतन्त्रलाई अस्थिर बनायो। अन्तर्राष्ट्रिय बजारमा ऋण उठाउन कठिन भएपछि सरकारले बाह्य ऋणको भुक्तानी रोक्ने निर्णयसमेत गर्नुपर्यो।
सन् २०२२ को अन्त्यमा मुद्रास्फीति ५४.१ प्रतिशत पुगेको थियो। विदेशी मुद्रा सञ्चिति घटेर आयात धान्न कठिन हुने अवस्थामा पुग्यो। स्थानीय मुद्रा सेडीको मूल्य तीव्र रूपमा घट्दा आयातित वस्तु, इन्धन र खाद्यान्न महँगिए। यसले सर्वसाधारणको क्रयशक्ति घटायो र व्यवसायको लागत बढायो।
सरकारले सन् २०२३ मा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ३६ महिनाको विस्तारित कर्जा सुविधा कार्यक्रमअन्तर्गत करिब ३ अर्ब अमेरिकी डलरको सहायता सम्झौता गर्यो। यसको उद्देश्य वित्तीय स्थायित्व पुनःस्थापना, सार्वजनिक ऋणको दिगोपन, विदेशी मुद्रा सञ्चिति सुधार र आर्थिक सुधारलाई अघि बढाउनु थियो।
ऋण व्यवस्थापनका लागि सरकारले घरेलु ऋण विनिमय कार्यक्रम लागू गर्यो। यसमा सरकारी ऋणपत्र धारण गरेका स्थानीय लगानीकर्ताले पुराना ऋणपत्रको सट्टा नयाँ सर्तका ऋणपत्र स्वीकार गर्नुपर्ने अवस्था बन्यो। बाह्य ऋणदातासँग पनि पुनर्संरचनाको प्रक्रिया अघि बढाइयो। यसले सरकारलाई तत्काल भुक्तानीको दबाब कम गर्न सहयोग गरे पनि बैंक, वित्तीय संस्था, लगानीकर्ता र सर्वसाधारणको बचतमा असर परेको थियो।
ऋण संकटको अर्को कारण सरकारी वित्तीय अनुशासन कमजोर हुनु थियो। आम्दानीभन्दा बढी खर्च गर्ने, ऋण लिएर चालु खर्च धान्ने र सार्वजनिक संस्थानको वित्तीय दायित्व समयमै व्यवस्थापन नगर्ने प्रवृत्तिले अर्थतन्त्रलाई जोखिममा पुर्यायो। घानाको अनुभवले आर्थिक वृद्धि मात्र पर्याप्त नहुने, त्यसलाई टिकाउन सार्वजनिक वित्तीय व्यवस्थापन बलियो हुनुपर्ने देखाएको छ।
सुधारपछि फर्किएको स्थायित्व
संकटपछि घानाले वित्तीय अनुशासन, मौद्रिक नीति र ऋण व्यवस्थापनमा सुधारको प्रयास गर्यो। पछिल्ला तथ्याङ्कले आर्थिक स्थायित्वमा उल्लेखनीय सुधार देखाएका छन्।
घानाको केन्द्रीय बैंकको सन् २०२५ को वार्षिक प्रतिवेदनअनुसार त्यस वर्ष वास्तविक कुल गार्हस्थ्य उत्पादन ६ प्रतिशतले बढेको थियो। सन् २०२४ मा यस्तो वृद्धि ५.८ प्रतिशत थियो। मुद्रास्फीति सन् २०२४ को अन्त्यमा २३.८ प्रतिशत रहेकोमा सन् २०२५ को अन्त्यमा ५.४ प्रतिशतमा झरेको थियो।
त्यस्तै, सन् २०२५ मा घाना सेडी अमेरिकी डलरको तुलनामा ४०.७ प्रतिशतले बलियो भएको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ। सुन निर्यातबाट प्राप्त आम्दानी बढ्नु, वित्तीय अनुशासन र मौद्रिक नीतिमा गरिएको सुधारले विदेशी मुद्रा बजारमा सकारात्मक प्रभाव पारेको थियो।
चालु खाता बचत पनि सन् २०२४ को १.६ अर्ब डलरबाट बढेर सन् २०२५ मा ९.३९ अर्ब डलर पुगेको प्रतिवेदनले देखाउँछ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को मूल्याङ्कनले पनि घानाको आर्थिक स्थायित्वमा उल्लेखनीय सुधार भएको देखाएको छ।
सन् २०२२ को अन्त्यमा ५४.१ प्रतिशत पुगेको मुद्रास्फीति सन् २०२५ को अन्त्यमा ५.४ प्रतिशतमा झरेको थियो।
प्राथमिक बजेट सन्तुलन घाटाबाट बचतमा गएको र विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा बढेको कोषको प्रतिवेदनमा उल्लेख छ।
तर स्थायित्वको सुधारलाई दीर्घकालीन आर्थिक रूपान्तरण ठान्न मिल्दैन। मुद्रास्फीति घट्नु, मुद्रा बलियो हुनु र ऋणको अनुपात कम हुनु सकारात्मक संकेत हुन्। तर त्यसले स्वतः नयाँ उद्योग, उच्च उत्पादकत्व, गुणस्तरीय रोजगारी र व्यापक आय वृद्धि सुनिश्चित गर्दैन। घानाको अर्को चरणको चुनौती आर्थिक स्थायित्वलाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्नु हो।
निजी क्षेत्र र रोजगारीको चुनौती
घानाको आर्थिक रूपान्तरणमा निजी क्षेत्रको भूमिका निर्णायक छ। सुन, कोको र तेलबाहेक उत्पादनमूलक उद्योग, कृषि प्रशोधन, पर्यटन, यातायात, सूचना प्रविधि र वित्तीय सेवामा निजी लगानी विस्तार गर्नुपर्ने आवश्यकता छ।
देशमा युवा जनसंख्या ठूलो छ। उनीहरूलाई रोजगारी दिन अर्थतन्त्रले पर्याप्त अवसर सिर्जना गर्न सकेन भने आर्थिक वृद्धिको लाभ सीमित समूहमा केन्द्रित हुने जोखिम रहन्छ। अनौपचारिक क्षेत्रमा निर्भर रोजगारी, कम उत्पादकत्व र सीपको अभावले श्रम बजारलाई कमजोर बनाइरहेको छ।
विश्व बैंकले घानाको आर्थिक स्थायित्वलाई निजी लगानी, रोजगारी सिर्जना र संरचनात्मक रूपान्तरणमा बदल्नुपर्ने चुनौती औँल्याएको छ। विशेषगरी गैर-खनिज क्षेत्रमा लगानी बढाउनु, निजी व्यवसाय सञ्चालनको वातावरण सुधार्नु र उत्पादकत्व वृद्धि गर्नु आवश्यक रहेको उसको विश्लेषण छ।
घानाका साना तथा मझौला उद्यमले रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। तर उनीहरूलाई कर्जा, बजार, प्रविधि, दक्ष जनशक्ति र स्थिर ऊर्जा आपूर्तिमा पहुँच आवश्यक हुन्छ। बैंकिङ प्रणालीमा ब्याजदर उच्च हुँदा साना व्यवसायको विस्तार कठिन हुन्छ। डिजिटल भुक्तानीको विकासले कारोबार सहज बनाए पनि उत्पादन विस्तारका लागि आवश्यक लगानीको समस्या समाधान गर्दैन।
त्यसैले घानाको आगामी आर्थिक रणनीतिमा केवल विदेशी लगानी आकर्षित गर्नेभन्दा पनि स्थानीय उद्यमको क्षमता बढाउने विषय महत्त्वपूर्ण हुन्छ। कृषि उत्पादनलाई प्रशोधन उद्योगसँग जोड्ने, स्थानीय कच्चा पदार्थबाट तयार वस्तु उत्पादन गर्ने र क्षेत्रीय बजारमा निर्यात बढाउने नीतिले रोजगारी र आम्दानी दुवै विस्तार गर्न सक्छ।
निर्यात विविधीकरणको आवश्यकता
घानाको निर्यात संरचनामा सुन, कोको र पेट्रोलियमको अत्यधिक निर्भरता दीर्घकालीन जोखिम हो। विश्व बजारमा यी वस्तुको मूल्य घट्दा देशको विदेशी मुद्रा आम्दानी प्रभावित हुन्छ। उत्पादनमा जलवायु परिवर्तन वा प्राविधिक अवरोध आए पनि अर्थतन्त्रमा असर पर्छ।
विश्व बैंकले घानाको निर्यात विविधीकरणका लागि व्यापार नीतिमा सुधार, गैरभन्सार अवरोध घटाउने, घरेलु कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बढाउने र विदेशी प्रत्यक्ष लगानी आकर्षित गर्ने उपाय सुझाएको छ। कच्चा पदार्थ निर्यातमा सीमित रहँदा उच्च मूल्य अभिवृद्धि र रोजगारीको अवसर गुम्ने जोखिम रहेको उसको अध्ययनले देखाएको छ।
कृषि प्रशोधन घानाका लागि सम्भावनायुक्त क्षेत्र हो। कोकोबाट चकलेट, कोको पाउडर र अन्य प्रशोधित सामग्री उत्पादन गर्न सकिन्छ। काजु, फलफूल, पाम तेल र खाद्यान्न प्रशोधनमा पनि औद्योगिक सम्भावना छ।
उत्पादनको गुणस्तर, प्याकेजिङ, भण्डारण, ढुवानी र निर्यात मापदण्ड सुधार गर्न सके स्थानीय उत्पादकले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छन्।
पश्चिम अफ्रिकी क्षेत्रीय बजार पनि घानाका लागि महत्त्वपूर्ण अवसर हो। क्षेत्रीय व्यापार विस्तारले स्थानीय कम्पनीलाई ठूलो बजार उपलब्ध गराउन सक्छ। तर त्यसका लागि सीमा प्रक्रियामा सहजता, यातायात पूर्वाधार, ऊर्जा आपूर्ति र व्यापारसम्बन्धी नियममा स्थिरता आवश्यक हुन्छ।
डिजिटल अर्थतन्त्रको अर्को चरण
मोबाइल मनीको सफलतापछि घानाको डिजिटल अर्थतन्त्रमा थप सम्भावना देखिएको छ। डिजिटल परिचयपत्र, तत्काल भुक्तानी प्रणाली, मोबाइल बैंकिङ र फिनटेक सेवाले वित्तीय कारोबारलाई थप व्यवस्थित बनाउन सक्छन्। डिजिटल प्रणालीको पहुँच ग्रामीण क्षेत्रमा विस्तार गर्न सके साना किसान, महिला उद्यमी र अनौपचारिक व्यवसायलाई औपचारिक अर्थतन्त्रमा जोड्न सकिन्छ।
तर डिजिटल अर्थतन्त्र विस्तार गर्दा साइबर सुरक्षा, उपभोक्ता संरक्षण, व्यक्तिगत विवरणको सुरक्षा र वित्तीय साक्षरतामा ध्यान दिनुपर्ने हुन्छ। मोबाइल खाताको संख्या बढ्नु मात्र वित्तीय समावेशीकरणको पूर्ण मापन होइन। प्रयोगकर्ताले बचत, कर्जा, बीमा र लगानीजस्ता सेवा सुरक्षित र जिम्मेवार ढंगले प्रयोग गर्न सक्ने अवस्था पनि आवश्यक हुन्छ।
घानाको केन्द्रीय बैंकले सन् २०२५–२०२९ का लागि तयार गरेको राष्ट्रिय भुक्तानी प्रणाली रणनीतिमा डिजिटल भुक्तानीलाई दैनिक आर्थिक गतिविधिको सहज माध्यम बनाउने, वित्तीय साक्षरता बढाउने र प्रविधिमा आधारित वित्तीय नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
यसले मोबाइल मनीलाई केवल पैसा पठाउने सेवाबाट उद्यम र वित्तीय प्रणालीको पूर्वाधारमा रूपान्तरण गर्ने सम्भावना देखाउँछ। डिजिटल भुक्तानीको तथ्याङ्कलाई कर्जा मूल्याङ्कनसँग जोड्न सके बैंकिङ पहुँच नपुगेका साना व्यवसायलाई वित्तीय स्रोत उपलब्ध गराउन सकिन्छ। तर त्यसका लागि तथ्याङ्कको गुणस्तर, उपभोक्ताको सहमति र नियामकीय स्पष्टता आवश्यक हुन्छ।
घानाबाट नेपालले सिक्न सक्ने पाठ
घाना र नेपालको अर्थतन्त्रमा केही समानता छन्। दुवै देशमा कृषि ठूलो जनसंख्याको जीविकोपार्जनको आधार हो। दुवै देशले प्राकृतिक स्रोत, पर्यटन, सेवा क्षेत्र र वैदेशिक आम्दानीलाई आर्थिक विकासको आधार बनाउने प्रयास गरेका छन्। दुवै देशले विदेशी ऋण, कमजोर औद्योगिक आधार र रोजगारी सिर्जनाको चुनौती पनि सामना गरिरहेका छन्।
घानाको पहिलो पाठ भनेको आर्थिक सुधारलाई निरन्तरता दिनु हो। सन् १९८३ मा सुरु भएको आर्थिक पुनरुत्थान कार्यक्रमले तत्काल सबै समस्या समाधान गरेन।
तर बजार सुधार, निजी क्षेत्रको भूमिका विस्तार र व्यापार खुलापनले दीर्घकालीन परिवर्तनको आधार तयार गर्यो। आर्थिक नीति बारम्बार बदलिँदा लगानीकर्ताको विश्वास कमजोर हुन्छ। नेपालले पनि औद्योगिक र लगानीसम्बन्धी नीतिमा स्थिरता कायम गर्न आवश्यक छ।
दोस्रो पाठ निर्यात विविधीकरण हो। घानाले सुन, कोको र तेलबाट ठूलो आम्दानी गरे पनि सीमित वस्तुमा निर्भर रहँदा जोखिम बढेको अनुभव गरेको छ। नेपालले पनि रेमिट्यान्स, पर्यटन र केही सीमित निर्यात वस्तुमा मात्र निर्भर रहनेभन्दा कृषि प्रशोधन, जलविद्युत्, सूचना प्रविधि, औषधि, जडीबुटी र उत्पादनमूलक उद्योगको निर्यात क्षमता बढाउनुपर्छ।
तेस्रो पाठ डिजिटल वित्तीय सेवाको उपयोग हो। घानाले मोबाइल मनीमार्फत बैंकिङ पहुँच सीमित भएका नागरिकलाई वित्तीय प्रणालीसँग जोडेको छ। नेपालमा पनि मोबाइल बैंकिङ, डिजिटल वालेट र क्यूआर भुक्तानी विस्तार भएका छन्। तर यी सेवाको पहुँचलाई साना उद्यमको कर्जा, बचत, बीमा र व्यापार विस्तारसँग जोड्न सकिने सम्भावना अझै छ।
चौथो पाठ सार्वजनिक ऋण व्यवस्थापन हो। आर्थिक वृद्धि भइरहँदा पनि वित्तीय अनुशासन कमजोर भए संकट आउन सक्छ भन्ने घानाको अनुभव महत्त्वपूर्ण छ।
ऋण लिएर पूर्वाधार निर्माण गर्नु आफैँमा समस्या होइन। तर ऋणबाट सिर्जना हुने प्रतिफलले ऋणको लागत धान्न सक्ने हुनुपर्छ। चालु खर्च धान्न ऋण बढाउने प्रवृत्तिले भविष्यको विकास खर्चलाई संकुचित गर्न सक्छ।
पाँचौँ पाठ प्राकृतिक स्रोतको मूल्य अभिवृद्धि हो। घानाले सुन र कोको उत्पादनमा अन्तर्राष्ट्रिय पहिचान बनाएको छ। तर प्रशोधन, औद्योगिक उत्पादन र स्थानीय आपूर्ति शृङ्खलाको विकास अझै आवश्यक छ।
नेपालले पनि जलविद्युत् उत्पादन, कृषि, जडीबुटी र पर्यटनमा कच्चा सम्भावना मात्र होइन, त्यसबाट सिर्जना हुने स्थानीय उद्योग र रोजगारीलाई प्राथमिकता दिनुपर्छ।
अधुरो रूपान्तरणको कथा
घानाको यात्रा आर्थिक संकटबाट सुधारतर्फ अघि बढेको महत्त्वपूर्ण उदाहरण हो। सन् १९८० को दशकको आर्थिक पतनबाट बजारमुखी सुधार, गरिबी न्यूनीकरण, सुन र कोको निर्यात, तेल उत्पादन, मोबाइल मनी र डिजिटल वित्तीय सेवासम्म आइपुग्दा देशको अर्थतन्त्रमा ठूलो परिवर्तन आएको छ।
तर यो परिवर्तन अझै पूर्ण भएको छैन। प्राकृतिक स्रोतमा निर्भरता, क्षेत्रीय असमानता, बेरोजगारी, कमजोर औद्योगिक आधार र ऋण व्यवस्थापनको चुनौती कायम छन्। सन् २०२२ को ऋण संकटले विगतका सुधारबाट प्राप्त उपलब्धि कमजोर वित्तीय अनुशासनका कारण जोखिममा पर्न सक्ने देखाएको छ।
पछिल्ला वर्षमा मुद्रास्फीति घट्नु, मुद्रा बलियो हुनु र आर्थिक वृद्धि कायम रहनु सकारात्मक संकेत हुन्। तर घानाको दीर्घकालीन सफलता अब सुन, कोको र तेलको मूल्यमा मात्र निर्भर रहने छैन।
देशले उत्पादनमूलक उद्योग, कृषि प्रशोधन, डिजिटल व्यवसाय, निजी लगानी र दक्ष रोजगारी विस्तार गर्न सक्यो भने मात्र आर्थिक स्थायित्वलाई व्यापक समृद्धिमा बदल्न सक्नेछ।
घानाको कथा त्यस अर्थमा पूर्ण सफलताको कथा होइन, संकटबाट सिक्दै आर्थिक संरचना बदल्ने प्रयासको कथा हो। प्राकृतिक स्रोत सम्पन्न देशले पनि वित्तीय अनुशासन, उत्पादन विविधीकरण र प्रविधिमा लगानी नगरे दिगो समृद्धि हासिल गर्न सक्दैन भन्ने यसको सबैभन्दा महत्त्वपूर्ण सन्देश हो।
