काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको राजापुर शाखाले आउँदो शुक्रबारदेखि राजापुर नगरपालिकामा धान खरिद सुरु गर्ने निर्णय गरेको छ। धान खरिद प्रक्रियालाई व्यवस्थित बनाउन कम्पनीले बिहीबार नै किसानहरूलाई टोकन वितरण गर्ने तयारी गरेको छ।
कम्पनीका प्रमुख कमलराज पाण्डेका अनुसार टोकन प्राप्त गर्ने किसानहरूले शुक्रबारदेखि प्रतिव्यक्ति बढीमा २० क्विन्टलसम्म धान बिक्री गर्न पाउनेछन्। यस वर्ष बर्दिया जिल्लाका लागि कुल ३० हजार क्विन्टल धान खरिदको अनुमति प्राप्त भएको छ। प्राथमिक खरिद समितिले जिल्लाका आठवटा पालिकामध्ये प्रत्येकबाट तीन हजार क्विन्टलका दरले धान खरिद गर्ने निर्णय गरेको छ। बाँकी धान भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको परिसरभित्रै खरिद गरिने योजना छ।
राजापुरमा खरिद कार्य सुरु हुने भए पनि अन्य पालिकाहरूमा भने अझै अन्योल कायम छ। प्रमुख पाण्डेका अनुसार सम्बन्धित पालिकाहरूले धान भण्डारणका लागि गोदामको व्यवस्था गरेमा तत्कालै खरिद कार्य अघि बढाइनेछ। गत वर्ष गोदामको व्यवस्थापन गरेका छ वटा पालिकाबाट ३० हजार दुई क्विन्टल धान खरिद गरिएको थियो।
सरकारले यस वर्ष मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार छ सय ६० रुपियाँ र मध्यम धानको तीन हजार आठ सय ६० रुपियाँ तोकेको छ। गत वर्ष मोटो धानको मूल्य तीन हजार चार सय ६३ रुपियाँ र मध्यम धानको मूल्य तीन हजार छ सय २८ रुपियाँ प्रतिक्विन्टल कायम गरिएको थियो।
