एजेन्सी । इटालीमा प्रधानमन्त्री जर्जिया मेलोनी सरकारको आर्थिक नीति र प्रस्तावित बजेटविरुद्ध हजारौं विद्यार्थी तथा श्रमिक सडकमा उत्रिएका छन्। प्रमुख ट्रेड युनियन सीजीआईएलको आह्वानमा शुक्रबार देशभर आमहडतालसहित विरोध प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीले उच्च पारिश्रमिक, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा थप बजेट र सार्वजनिक सेवाको सुधार माग गरेका छन्। उनीहरूले बढ्दो महँगी, आवास खर्च र सैन्य क्षेत्रमा भइरहेको खर्चप्रति पनि असन्तुष्टि जनाएका छन्।
आमहडतालमा विद्यालय, स्वास्थ्य सेवा तथा निजी र सरकारी क्षेत्रका श्रमिक सहभागी भएका छन्। आधारभूत तहको युनियन कोबाससहित अन्य श्रमिक संगठनले पनि छुट्टाछुट्टै हडताल आह्वान गरेका थिए।
हडतालका कारण हवाई तथा रेल सेवा प्रभावित नहुने व्यवस्था गरिएको थियो। न्यूनतम सेवा मापदण्डका कारण स्थानीय सार्वजनिक यातायातमा पनि सीमित प्रभाव परेको छ। तर शुक्रबार राति ९ बजेदेखि शनिबार राति ८ बजेसम्म छुट्टै रेल हडतालको कार्यक्रम तय गरिएको छ।
प्रदर्शनकारीले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन नगरेको तथा युवाको भविष्यलाई प्राथमिकता नदिएको आरोप लगाएका छन्। विश्वविद्यालयकी २४ वर्षीया छात्रा लाउरा पेरिटोरेले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कटौती गर्दै युवाको भविष्य प्रभावित पारेको आरोप लगाइन्।
सीजीआईएलका नेता माउरिजियो ल्यान्डिनीले युरोपभर युवाहरू सडकमा उत्रिनु परिवर्तनको माग बढिरहेको संकेत भएको बताए। उनले श्रमिकको तलब वृद्धि, स्वास्थ्य सेवाको सुधार र युवाका लागि गुणस्तरीय शिक्षाको आवश्यकता औँल्याए।
इटालीको संसदमा मेलोनी सरकारले सन् २०२७ का लागि प्रस्ताव गरेको २६ अर्ब युरोको बजेटमाथि छलफल भइरहेको छ। उक्त बजेटले आम्दानी र सार्वजनिक सेवासम्बन्धी समस्या सम्बोधन गर्न नसकेको सीजीआईएलको आरोप छ।
युनियनले मुद्रास्फीतिका कारण घटेको क्रयशक्ति पुनःस्थापना गर्न तलब वृद्धि, श्रम सम्झौता नवीकरण, पेन्सनको पूर्ण मूल्य समायोजन तथा अवकाश उमेर नबढाउने व्यवस्था गर्न माग गरेको छ।
यता, उद्योगमन्त्री एडोल्फो उर्सोले आमहडताललाई अग्रिम हडतालको संज्ञा दिएका छन्। बजेटको अन्तिम विषयवस्तु सार्वजनिक हुनुअघि नै हडताल आह्वान गरिएको उनको आरोप छ। उनले संसद्मार्फत बजेटमा आवश्यक सुधार गर्न सकिने बताएका छन्।
सन् २०२७ मा संसदीय निर्वाचनको तयारी भइरहेका बेला भएको यो प्रदर्शन गत अक्टोबर ३० को राष्ट्रव्यापी आन्दोलनको निरन्तरता मानिएको छ।
