काठमाडौं: अमेरिकी प्रविधि कम्पनी एनभिडियाले मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र इन्डोनेसियामा एआई चिप जडित कम्प्युटर सर्भर पठाउन आफ्ना उत्पादन साझेदारहरूलाई रोक लगाएको छ। फाइनान्सियल टाइम्सका अनुसार अमेरिकी सरकारले संवेदनशील प्रविधिको निर्यात नियन्त्रणमा कडाइ गरेपछि कम्पनीले यस्तो निर्देशन दिएको हो।
अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२२ देखि नै चीनमा अत्याधुनिक चिप निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ। वासिङ्टनले गत साता निर्यात नियम थप कडा बनाएको छ। यसको उद्देश्य चिप तस्करी रोक्नु र दक्षिणपूर्वी एसियाका डाटा सेन्टरबाट कम्प्युटिङ क्षमता भाडामा लिएर प्रतिबन्ध छल्ने चिनियाँ कम्पनीहरूको गतिविधि नियन्त्रण गर्नु रहेको छ। डेल र सुपरमाइक्रो जस्ता कम्पनीहरूले तयार गर्ने सर्भरमा एनभिडियाका चिप जडान हुने गरेको छ, जुन नयाँ निर्देशनबाट प्रभावित भएका छन्।
सिङ्गापुरको क्लाउड कम्प्युटिङ कम्पनी एओलानीले चिनियाँ कम्पनी बाइटडान्सलाई हार्डवेयरमा पहुँच दिने योजना बनाएको थियो। यो रोक अस्थायी हो वा दीर्घकालीन भन्ने अझै स्पष्ट छैन। एक क्लाउड सेवा प्रदायकका कार्यकारीले नयाँ नियमले क्षेत्रीय व्यवसायमा समस्या निम्त्याएको बताएका छन्। यसैबीच, अमेरिकी निर्यात नियम उल्लङ्घन गर्दै चीनमा चिप पुर्याएको आशङ्कामा सिङ्गापुरको मेगास्पिड कम्पनीका पूर्वकार्यकारी एलिस हुआङमाथि अनुसन्धान भइरहेको छ। केही अमेरिकी अधिकारीले उनीमाथि बेइजिङका लागि जासुसी गरेको आशङ्का गरेका छन्। एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङ र एलिस हुआङबिच कुनै पारिवारिक सम्बन्ध नरहेको स्पष्ट पारिएको छ।
केपीएमजीका अनुसार दक्षिणपूर्वी एसियामा डाटा सेन्टर निर्माण तीव्र गतिमा भइरहेको छ। सन् २०३० सम्ममा यस क्षेत्रको डाटा सेन्टर क्षमता सन् २०२५ को तुलनामा तीन गुणा र एआईको प्रयोग दस गुणाले बढ्ने अनुमान गरिएको छ।
