काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आकारका हिसाबले ठूलो देखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा भने सानो रहेको बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले चालु आर्थिक वर्षका लागि प्रक्षेपित जीडीपी करीब ७४ खर्ब ५८ अर्ब रुपियाँ रहेको उल्लेख गर्दै बजेट त्यसको जम्मा २८.५ प्रतिशत मात्र रहेको बताउनुभयो । उहाँले जीडीपीको अनुपातमा बजेटको आकार ३० प्रतिशतभन्दा माथि जाने विगतको प्रवृत्तिलाई तोडेर राज्यको कार्यान्वयन क्षमता अनुकूल हुने गरी बजेट ल्याइएको दाबी गर्नुभयो । अर्थमन्त्री वाग्लेले जीडीपीको वास्तविक आकार आगामी दिनमा केही तलमाथि हुन सक्ने र त्यसबारे मध्यावधि समीक्षामा थप मूल्याङ्कन गरिने बताउनुभयो । उहाँले बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत, क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “प्रक्षेपित जीडीपीको सापेक्षतामा जम्मा २८.५ प्रतिशतको बजेट आएको छ । हाम्रो प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब छ । अब त्यो अलिकति तलमाथि पनि हुन सक्छ, त्यो पछिको कुरा भयो । मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला । तर आजका मितिमा यो चाहिँ ३० प्रतिशतभन्दा माथिको प्रवृत्ति (ट्रेन्ड) लाई हामीले भत्काएर अहिले त्यही पुरानो २५ देखि, राज्यको क्षमता अनुकूल हुने गरेर आकार ल्याएका छौँ । त्यसैले बजेट ठूलो होइन, जीडीपीको सापेक्षतामा सानै बजेट आएको छ भन्ने कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु ।”
अर्थमन्त्रीका अनुसार सरकारले बजेटलाई २५ देखि ३० प्रतिशतको दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयनयोग्य बनाउने प्रयास गरेको छ ।