काठमाडौं – साताको पहिलो कारोबार दिन साेमबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.५५ प्रतिशत अर्थात् ४१.७० अंकले उकालो लाग्दै २,७१९.२४ विन्दुमा पुगेको छ। त्यस्तै, ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९० प्रतिशतले बढेर ४७२.६० विन्दुमा पुगेको छ। आज ३४३ वटा कम्पनीको १ करोड २२ लाख ४५ हजारभन्दा बढी कित्ता सेयर ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँभन्दा बढीको मूल्यमा कारोबार भएका छन्।
बजारको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष हरि केसीले बजार तल्लो विन्दुबाट सुधारको मार्गमा अघि बढेको बताउनुभयो। उहाँका अनुसार सरकार र नियामक निकायहरूबाट नीतिगत स्पष्टता आउन थालेकाले लगानीकर्ताहरूमा उत्साह थपिएको छ, यद्यपि मूल्य बढेको अनुपातमा कारोबार रकम भने सोचेजस्तो बढ्न सकेको छैन। साउन महिनाको सुरुवातसँगै पुँजीगत लाभकरमा भएको वृद्धिले कारोबारमा केही प्रभाव पारे पनि अहिलेको बजार कारोबार पूर्ण रूपमा वास्तविक र पारदर्शी रहेको उहाँको दाबी छ। पहिलेको जस्तो समूहगत चलखेल अहिले निकै घटेको बताउँदै उहाँले सरकार र नियमनकारी निकाय सकारात्मक देखिएकाले लगानीकर्ताहरूलाई पनि थप जिम्मेवार बन्न आह्वान गर्नुभयो।
आजको बजारमा म्युचुअल फण्ड समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ। उत्पादन तथा प्रशोधन समूह ३.२१ प्रतिशतले वृद्धि हुँदा अन्य समूह २.८१ प्रतिशत र जलविद्युत समूह २.७९ प्रतिशतले बढेका छन्। म्युचुअल फण्ड समूहमा भने ०.०२ प्रतिशतको झिनो गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत २९ करोड १५ लाख रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ भने रिलायन्स स्पीनिङ मिल्स र रिडी पावर क्रमशः पछ्याउँदै छन्। सेयर मूल्यको हकमा एभरेष्ट कलर लिमिटेड र रिज लाइन इनर्जीको मूल्यमा पोजिटिभ सर्किट लागेको छ भने श्रीनगर एग्रीटेक र सोलु हाईड्रोपावरका लगानीकर्ताले पनि उच्च लाभ लिन सफल भएका छन्। अर्कोतर्फ, मूल्य घट्ने कम्पनीहरूमा आत्मनिर्भर लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंक अगाडि देखिएका छन्।
