Logo

अब हरेक दिन १ जना नेपाली बन्नेछन् लखपति

अ+ अ-

काठमाडौं – सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्, अभियान सञ्चालनमा ल्याएको छ । यस योजनाअनुसार अब हरेक दिन एक जना नेपाली लखपति बन्नेछन् भने प्रत्येक महिना दुई जनाले बम्पर पुरस्कारस्वरूप १०-१० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट एक सय रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी सक्कली बिल लिने उपभोक्ताहरू यस योजनामा सहभागी हुन सक्नेछन् । नगद वा अनलाइन जुनसुकै माध्यमबाट भुक्तानी गर्दा प्राप्त हुने बिल नम्बर नै लखपति छनोटको मुख्य आधार हुनेछ ।

उपभोक्तालाई हरेक खरिदमा सक्कली बिल लिन प्रोत्साहन गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।

हालका लागि प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन (पाक्षिक रूपमा) विजेता घोषणा गरिने व्यवस्था मिलाइएको छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको यस कार्यक्रमको कार्यान्वयनसम्बन्धी विस्तृत व्यवस्था कार्यविधिमा उल्लेख गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।