काठमाडौं । अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध मुद्दा दायर भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैंकको नियमित कारोबार प्रभावित नभएको स्पष्ट पारेको छ । बैंकले बिहीबार विज्ञप्ति जारी गर्दै ग्राहक सेवा तथा दैनिक कार्यसम्पादन पूर्ववत् रूपमा सञ्चालन भइरहेको जनाएको हो ।
बैंकका अनुसार प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार गरिँदै आएको नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा अध्यक्ष, सञ्चालकहरू तथा सीईओविरुद्ध मुद्दा दायर भएको हो । उक्त घटनाप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मुद्दा दायर भए पनि बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको र बैंकका सम्पूर्ण सेवा नियमित, सुरक्षित तथा निर्बाध रूपमा सञ्चालन भइरहेको बैंकले जनाएको छ । बैंकले संस्थाको सबलता, ग्राहकको हित र समग्र बैंकिङ प्रणालीको स्थायित्वलाई प्राथमिकतामा राखेर काम भइरहेको स्पष्ट पारेको छ ।
यसअघि बैंकका सञ्चालक तथा सीईओविरुद्ध मुद्दा दायर भएको घटनाबारे नेपाल राष्ट्र बैंकले पनि बैंकको वित्तीय अवस्था सुरक्षित र सबल रहेको जनाएको थियो । केन्द्रीय बैंकका अनुसार बैंकको दैनिक सञ्चालनमा कुनै जटिलता देखिएको छैन र तरलतालगायत वित्तीय सबलताका प्रमुख सूचकहरू नियामकीय मापदण्डअनुसार सन्तोषजनक छन् ।
बैंकले बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोगका लागि आग्रह गरेको छ ।
साथै बैंकले सामाजिक सञ्जाल तथा अन्य माध्यममा आएका अपुष्ट सूचना र अनुमानका आधारमा धारणा नबनाउन आग्रह गरेको छ । बैंकसँग सम्बन्धित विषयमा आधिकारिक सूचनालाई मात्र आधार बनाउन बैंकले निक्षेपकर्ता, ग्राहक, सेयरधनी तथा अन्य सरोकारवालालाई अनुरोध गरेको छ ।
यसैबीच, मुद्दा दायर भएको घटनाले बैंकको नेतृत्व परिवर्तन हुने वा नियमित कामकाजमा अवरोध आउने अवस्था नरहेको बैंकले स्पष्ट पारेको छ ।
