Logo

हुप्सेकोटबाट ३० करोडभन्दा बढीको काँक्रो बिक्री

अ+ अ-

नवलपरासी पूर्व (नवलपुरको) एउटै पालिकाबाट ३० करोड रुपिँयाभन्दा बढीको काँक्रो बिक्री भएको छ । यहाँको हुप्सेकोट गाउँपालिकाबाट मात्रै ३० करोड ५० लाख रुपिँया बराबरको काँक्रो बिक्री भएको हो । त्यस्तै, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिका समेत गरेर ३८ करोड रुपिँया बराबरको काँक्रो बिक्री भएको छ ।

यस क्षेत्रमा भक्तपुरे स्थानीय जातको काँक्रो खेति राम्रो हुने हुँदा किसानले दुई सिजन काँक्रो खेति गर्दै आएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई नवलपुरका कृषि अधिकृत रणबहादुर महतोले चालु वर्षको दुई सिजनमा हुप्सकोट गाउँपालिका र कावासोती नगरपालिकामा सामूहिक तथा व्यक्तिगत फर्महरूबाट चार हजार ७६ मेट्रिक टन काँक्रो उत्पादन भएको जानकारी दिनुभयो ।

यस क्षेत्रका १४ वटा कृषि समूह तथा व्यक्तिगत फर्मले उत्पादन गरेको काँक्रो बिक्रीबाट कूल ३८ करोड रुपिँया बराबरको कारोबार भएको कृषि अधिकृत महतोले जानकारी दिनुभयो ।

व्यक्तिगत फर्मतर्फ हुप्सेकोट ३ मा रहेको थमन कृषि फर्मले मात्रै ८० लाख रुपिँयाको काँक्रो बिक्री गरेको कृषि अधिकृत महतोले बताउनुभयो ।

यस्तै कृषि समूहमा सबैभन्दा बढी हुप्सेकोट एकमा रहेको सुनौलो महिला कृषक समूहले आठ करोड ५० लाख रुपिँयाको काँक्रो बिक्री गरेको छ भने हुप्सेकोट एकमै रहेको शक्ति कृषक समूहले आठ करोड र कावासोती चारमा रहेको हात्तिबुडे कृषक समूहले छ करोड रुपिँया बरारको काँक्रो बिक्री गरेका छन् ।

यस वर्ष काँक्रोको राम्रो मूल्य पाएका कारणले समेत आम्दानी राम्रो भएको कावासोती चारमा रहेको हात्तिबुडे कृषक समूहका अध्यक्ष छन् बहादुर रजालीले बताउनुभयो । उहाँको समूहमा २८ घरधुरी आबद्ध रहेका छन् । उहाँले मात्रै तीन बिगा क्षेत्रफलमा तरकारी खेती गर्दै आउनुभएको छ । समूहगत रूपमा करिब ४० बिगा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । किसानहरूले बोडी, घिरौँला, खुर्सानी, भिण्डी, घिउ सेमी र टमाटर खेती गर्दै आएका छन् भने काँक्रो खेती भने बढी हुने गरेको छ । खेती सिजनमा र अपसिजनमा समेत हुने गरेको किसान रजालीले बताउनुभयो । यस वर्ष काँक्रोको मूल्य राम्रो पाएको समेत उहाँले बताउनुभयो । अपसिजनमा प्रतिकेजी एक सय रुपिँयाभन्दा बढीमा बिक्री भएको र सिजनमा प्रति केजी ३५ रुपिँयासम्म बिक्री भएको रजालीले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई नवलपुरले कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकामा तरकारी सुपर जोन कार्यक्रम सञ्चालन गरेको छ । सुपर जोन आबद्ध भएका कृषक तथा कृषि समूहलाई कार्यालयले सिँचाइको प्रबन्ध गर्ने, जैविक मल निर्माण र प्रयोगलाई प्रोत्साहन गर्ने, यान्त्रीकरणलाई जोड दिँदै निःशुल्क रूपमा प्राविधिक सेवा प्रदान गर्ने र कृषि उत्पादनको प्रवर्धन तथा बजारीकरणमा सहयोग पुर्‍याउने काम गर्दै आएको कृषि अधिकृत महतोले जानकारी दिनुभयो ।

तरकारी जोन कार्यक्रम लागू भएपछि काँक्रो खेति गर्ने किसानहरूको सङ्ख्यामा समेत वृद्धि भएको उहाँको भनाइ छ । अहिले २२० हेक्टर क्षेत्रफलमा काँक्रो खेती गरिएको छ । यहाँको हुप्सेकोट एक नम्बर वडामा पर्ने जुकेपानी क्षेत्रमा धेरै क्षेत्रफलमा काँक्रो खेती हुँदै आएको छ । त्यसबाहेक पालिकाको गिरुबारी, वेलुवा क्षेत्र र कावासोती चारको हसौरामा काँक्रो खेती बढी हुने गरेको उहाँले बताउनुभयो ।

यहाँ उत्पादन भएको काँक्रोको मुख्य बजार काठमाडौँ र पोखरा हो । त्यसबाहेक स्थानीय बजारमा समेत खपत हुने गरेको छ ।