काठमाडौं । सन् २०१४ को फेब्रुअरी १९। अमेरिकाको सान फ्रान्सिस्कोको दक्षिणी भागमा अवस्थित विश्वकै प्रमुख प्रविधि र नवप्रवर्तनको केन्द्र सिलिकन भ्यालीको ‘माउन्टेन भ्यु’मा रहेको ह्वाट्सएपको कार्यालयले संसारको ध्यान खिचेको थियो । फेसबुकले पाँच वर्षअघि मात्र स्थापना भएको मोबाइल मेसेजिङ सेवा ह्वाट्सएपलाई १९ अर्ब डलरमा खरिद गर्ने सम्झौता गर्दै थियो।
यो केवल एउटा प्रविधि कम्पनीको बिक्री थिएन; त्यसबेला यो ‘स्टार्टअप’ जगत्मै हलचल मच्चाउने र प्रविधि उद्योगमा नयाँ मानक स्थापित गर्ने सबैभन्दा ठूलो अधिग्रहणमध्ये एक थियो। सम्झौताको केन्द्रमा थिए त्यतिबेलाका ह्वाट्सएपका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत- जान कोउम।
त्यही सम्झौताले जान कोउमको जीवनको दूरी पनि मापन गर्दै थियो-अभावबाट अर्बपतिसम्मको। कोउमले १९ अर्ब डलरको सम्झौतामा हस्ताक्षर त्यही भावनात्मक ठाउँमा गरेका थिए जहाँ कुनै समय १६ वर्षका जन कोमको परिवारले अमेरिकामा दैनिक गुजारा चलाउन नसकेर आमासँग सरकारी खाद्य सहायता लिन लाइनमा उभिन्थे।
कोउमको एउटै भूगोलमा अभावबाट अर्बपति सम्मको यात्रा केवल व्यक्तिगत सफलताको कथा थिएन; यो प्रविधिले सामाजिक र आर्थिक गतिशीलतालाई कसरी उल्ट्याउन सक्छ भन्ने शक्तिशाली प्रतीक थियो। उद्यमी र व्यवसायिका लागि प्रेरणाको स्रोत थियो।
जान कोउमको सफलताको कथा अमेरिकाको एउटा सामान्य सरकारी सहायता कार्यालयको ढोकाबाट सुरु भएर विश्वकै सबैभन्दा ठूलो प्रविधि कारोबारमध्ये एकसम्म पुगेको असाधारण जीवनयात्राको प्रतीक हो।
फोर्ब्सका अनुसार त्यसबेला कोमसँग ह्वाट्सएपको करिब ४५ प्रतिशत स्वामित्व थियो। सम्झौतापछि उनी तत्कालै अर्बपति बने। जन कोमको कथा गरिबीबाट धनी भएको सामान्य ‘र्याग्स टु रिचेस’ कथा मात्र होइन। यो शरणार्थी पुनर्वास, आत्मशिक्षा, प्रविधि, आप्रवासन, मित्रता, उत्पादन दर्शन र प्रयोगकर्ताको गोपनीयतालाई व्यापारको केन्द्रमा राखेर बनाइएको कम्पनी कसरी विश्वव्यापी शक्ति बन्न सक्छ भन्ने कथा पनि हो।
कोउम र उनका व्यावसायिक साझेदार ब्रायन एक्टनले सीमित स्रोतबाट एउटा नवीन स्टार्टअपलाई कसरी तीव्र गतिमा विस्तार गर्न सकिन्छ भन्ने देखाए। केही वर्षअघि मात्रै मोबाइलमा साधारण सन्देश पठाउने समस्या समाधान गर्न सुरु गरिएको एउटा सानो एप अब विश्वकै ठूलो सामाजिक सञ्जाल कम्पनीमध्ये एक फेसबुकलाई करिब १९ अर्ब डलरमा बिक्री भयो।
अझ महत्त्वपूर्ण, उनीहरूको यात्रा यस्तो व्यवसाय निर्माणको उदाहरण बन्यो जसले नाफालाई मात्र लक्ष्य नबनाई प्रयोगकर्ताको समस्या समाधान, सेवाको पहुँच विस्तार र व्यापक सकारात्मक प्रभावलाई पनि आफ्नो केन्द्रमा राख्न सक्यो।
सोभियत युक्रेनको सानो घरबाट सुरु भएको कथा
जन बोरिसोभिच कोमको जन्म २४ फेब्रुअरी १९७६ मा तत्कालीन सोभियत युक्रेनको किभमा भएको थियो। उनको बाल्यकाल भने किभभन्दा बाहिरको सानो सहर फास्टिभमा बित्यो। परिवार सामान्य थियो। उनका बुबा निर्माण क्षेत्रमा काम गर्थे र अस्पताल तथा विद्यालय निर्माणसँग सम्बन्धित काममा संलग्न थिए। आमा गृहिणी थिइन्।
परिवारको आर्थिक अवस्था अत्यन्त खराब थिएन, तर सोभियत व्यवस्थाको अभावपूर्ण जीवन उनीहरूको दैनिक वास्तविकता थियो। उनीहरू बसेको घरमा आधारभूत सुविधासमेत सहज थिएनन्। तातोपानी विलासिताजस्तै थियो र बिजुलीसमेत सधैं भरपर्दो हुँदैनथ्यो।
त्यो समयको राजनीतिक वातावरण पनि कोमका लागि महत्त्वपूर्ण बन्यो। यहुदी परिवारमा जन्मिएका उनले सोभियत युक्रेनमा भोगेको सामाजिक तथा राजनीतिक वातावरण, निगरानीको संस्कृति र अभावले उनको विश्वदृष्टिलाई आकार दियो। धेरै वर्षपछि उनले बनाएको ह्वाट्सएपमा गोपनीयतालाई असाधारण महत्त्व दिनुको एउटा पृष्ठभूमि यही अनुभवसँग जोडिन्छ।
१६ वर्षमै शरणार्थी बनेर अमेरिका
सन् १९९२ मा सोभियत संघ विघटनको उथलपुथलबीच कोमकी आमाले अमेरिका जाने निर्णय गरिन्। यहुदी परिवार भएकाले भोगेको विभेद र असुरक्षाबाट बच्न उनी आफ्ना छोरा र आमासहित अमेरिकातर्फ लागिन्। १६ वर्षका कोमका लागि यो केवल देश परिवर्तन थिएन। यो भाषा, संस्कृति, विद्यालय, आर्थिक अवस्था र सामाजिक पहिचान सबै परिवर्तन हुनु थियो।
परिवार माउन्टेन भ्यु, क्यालिफोर्निया पुग्यो। सिलिकन भ्यालीको केन्द्रमा रहेको यही क्षेत्र भविष्यमा संसारका ठूला प्रविधि कम्पनीको घर बन्ने थियो। तर कोम परिवारका लागि त्यतिबेला माउन्टेन भ्युको अर्थ प्रविधिको राजधानी होइन, सुरक्षित बस्न पाउने ठाउँ थियो।
सरकारी सामाजिक सहायता कार्यक्रमबाट उनीहरूले एउटा दुई कोठे अपार्टमेन्ट पाए। परिवार खाद्य सहायता अर्थात् फुड स्ट्याम्पमा निर्भर थियो। उनकी आमाले बच्चा हेरचाह गर्ने काम गरिन् र स्वास्थ्य समस्याका कारण सरकारी सहायता पनि लिइन्। परिवारको खर्च धान्न कोम स्वयं किराना पसलमा काम गर्न थाले।

उनको काम कुनै प्रविधि कम्पनीको इन्टर्नसिप थिएन। उनी पसलको भुइँ सफा गर्थे। दिनको एउटा हिस्सा विद्यालयमा बित्थ्यो, अर्को हिस्सा काममा। तर उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन त्यही समय सुरु हुँदै थियो। त्यसबेला १६ वर्षका कोमलाई भविष्यमा आफूले विश्वकै सबैभन्दा प्रभावशाली सञ्चार प्लेटफर्ममध्ये एक बनाउनेछु भन्ने कल्पना थिएन। उनको पहिलो लक्ष्य धेरै साधारण थियो-परिवारलाई सुरक्षित ठाउँमा पुर्याउनु।
किताब किन्ने पैसा थिएन, पढेर फिर्ता गर्थे
१८ वर्ष पुग्दासम्म कोमको रुचि कम्प्युटर र नेटवर्किङतर्फ गहिरिइसकेको थियो। औपचारिक कम्प्युटर शिक्षा लिन पर्याप्त पैसा थिएन। त्यसैले उनले अर्को बाटो रोजे-आफैं सिक्ने। कम्प्युटर नेटवर्किङका म्यानुअलहरू किन्नसमेत पैसा खर्च गर्न सक्ने अवस्था थिएन। उनी पुराना किताब पसलमा जान्थे, आवश्यक म्यानुअल किन्थे, पढिसकेपछि फिर्ता गर्थे र अर्को किताब खोज्थे।
पछि उनले पुस्तकालय र आफ्नै प्रयोगबाट प्रोग्रामिङ तथा नेटवर्किङ सिके। कागजको प्रमाणपत्र थिएन। विश्वविद्यालयको डिग्री थिएन। तर जिज्ञासा थियो, समय थियो र सिक्ने अठोट थियो। त्यही आत्मशिक्षाले उनको करिअरको आधार बनायो।
सन् १९९६ मा उनी कम्प्युटर सुरक्षा र नेटवर्किङमा रुचि राख्ने ह्याकर समूह डब्लुजिरोजिरोडब्लुडब्लुजिरोजिरो (w00w00) मा जोडिए। त्यही नेटवर्कमार्फत उनले भविष्यका प्रविधि उद्यमीहरूसँग सम्बन्ध बनाए। त्यहाँ उनले पछि नेप्स्टरका सहसंस्थापक बन्ने सिन फ्यानिङसँग पनि नेटवर्क बनाए।
कोमका लागि ह्याकिङ केवल रोमाञ्च थिएन। त्यो कम्प्युटर प्रणाली कसरी काम गर्छ, कहाँ कमजोर हुन्छ र त्यसलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने सिक्ने माध्यम थियो। यही सीपले उनलाई केही वर्षमै सिलिकन भ्यालीको प्रविधि उद्योगको ढोकासम्म पुर्यायो।
विश्वविद्यालय गए, तर डिग्री पूरा गरेनन्
कोमले सान होजे स्टेट युनिभर्सिटीमा अध्ययन सुरु गरे। त्यससँगै उनले ‘अर्न्स्ट एन्ड यङ’मा सुरक्षा परीक्षकका रूपमा पार्टटाइम काम गर्न थाले। यहीँ सन् १९९७ मा उनको भेट भयो-ब्रायन एक्टनसँग। दुवैको व्यक्तित्व फरक भए पनि सोच्ने तरिका मिल्थ्यो।
कोम सीधा कुरा गर्ने, अनावश्यक औपचारिकता मन नपराउने व्यक्ति थिए। एक्टन पनि त्यस्तै थिए। एक्टनले पछि सम्झँदै कोमबारे भनेका थिए कि उनी अरूजस्तो ‘टचि–फिली’ शैलीमा कुरा गर्दैनथे। उनी सीधै सोध्थे-तपाईंका नीति के हुन्, यहाँ के भइरहेको छ?
कोमलाई पनि एक्टनको यही सीधा शैली मन पर्यो। दुवैले आफूलाई ‘बकबास नगर्ने’ मानिसका रूपमा बुझ्थे। त्यो मित्रता पछि व्यापारिक साझेदारीमा बदलियो। सन् १९९७ मा कोम याहूमा इन्फ्रास्ट्रक्चर इन्जिनियर बने। त्यहाँ पुगेपछि उनको विश्वविद्यालयप्रतिको रुचि झन् घट्यो।
याहूमा काम सुरु गरेको दुई सातामात्र भएको थियो। एक दिन कम्पनीको एउटा सर्भर बिग्रियो। याहूका सहसंस्थापक डेभिड फिलोले कोमलाई फोन गरे। कोम त्यसबेला कक्षामा थिए। उनले बिस्तारै भने-‘म कक्षामा छु।’
फिलोको प्रतिक्रिया कडा थियो-‘तिमी कक्षामा के गरिरहेका छौ? अफिसमा आऊ।’ याहूलाई सर्भर इन्जिनियर चाहिएको थियो। कोमलाई थाहा थियो, उनको वास्तविक सिकाइ कक्षाभन्दा बाहिर भइरहेको छ। उनी विश्वविद्यालयबाट बाहिरिए। सन् १९९७ मा उनले औपचारिक शिक्षा छाडेर पूर्ण रूपमा याहूको काममा ध्यान दिए।
एकपछि अर्को व्यक्तिगत धक्का
कोमको व्यावसायिक यात्रा अघि बढिरहेको थियो। तर निजी जीवन भने निरन्तर संकटमा थियो। उनका बुबा सन् १९९७ मा युक्रेनमै बिते। परिवार अमेरिका आए पनि उनी कहिल्यै अमेरिकासम्म पुग्न सकेनन्। बुबा बितेको तीन वर्षपछि सन् २००० मा, उनकी आमाको क्यान्सरसँग लामो संघर्षपछि मृत्यु भयो। त्यसपछि कोम लगभग एक्लै भए।
प्रविधिको दुनियाँमा करिअर बनाउँदै गरेका एक युवा आप्रवासीका लागि यो ठूलो मानसिक र भावनात्मक धक्का थियो। त्यही समयमा एक्टन उनको परिवारजस्तै बने। उनले कोमलाई घरमा बोलाउँथे। दुवै स्की खेल्थे, फुटबल र अल्टिमेट फ्रिस्बी खेल्थे। पछि ह्वाट्सएपको सहसंस्थापक बन्ने यो मित्रता कुनै व्यवसायिक योजनाबाट सुरु भएको थिएन। यो कठिन समयमा बनेको सम्बन्ध थियो।
याहूका नौ वर्ष र आफ्नै कम्पनीको खोजी
कोम र एक्टनले याहूमा करिब नौ वर्ष बिताए। त्यहाँ उनीहरूले ठूलो प्रविधि कम्पनीमा प्रणाली कसरी चल्छ, करोडौं प्रयोगकर्ताका लागि सेवा कसरी विस्तार गरिन्छ र प्राविधिक पूर्वाधारले कसरी काम गर्छ भन्ने सिके। सन् २००७ मा दुवैले याहू छाडे। त्यसपछि करिब एक वर्ष उनीहरूले संगै यात्रा गरे, दक्षिण अमेरिकामा समय बिताए र अल्टिमेट फ्रिस्बी खेले।
दुवैले फेसबुकमा जागिरका लागि आवेदनसमेत दिए। फेसबुकले उनीहरूलाई अस्वीकार गर्यो। विडम्बना हेर्नुहोस्-केही वर्षपछि त्यही फेसबुकले उनीहरूले बनाएको कम्पनी किन्न १९ अर्ब डलरभन्दा बढी खर्च गर्नुपर्यो।
एउटा आइफोनले बदलिदिएको भविष्य
सन् २००९ को जनवरी। कोमले पहिलोपटक आइफोन किने। त्यसबेला एप्पलको एप स्टोर सुरु भएको करिब सात महिना मात्रै भएको थियो। तर कोमले त्यसमा एउटा नयाँ उद्योग जन्मिने सम्भावना देखे। उनले सोच्न थाले-मोबाइल फोनमा मानिसहरूले आफ्नो अवस्था अर्थात् ‘ह्वाट्स अप?’ जस्तो जानकारी दिन सक्ने सरल एप किन नबनाउने?
उनले साथी एलेक्स फिसम्यानसँग कुरा गरे। नाम पनि धेरै सोच्नुपरेन। जुराइहाले – ह्वाट्सएप। ‘ह्वाट्स अप?’सँग मिल्ने नाम। त्यसपछि आफ्नो ३३औँ जन्मदिनको एक सातापछि, कोमले क्यालिफोर्नियामा ह्वाट्सएप इन्क. स्थापना गरे।
तर सुरुवात उत्साहजनक थिएन। एप लोकप्रिय भएन। प्रयोगकर्ता आएनन्। कोमले बनाएको उत्पादन असफल हुन सक्ने अवस्था थियो।
पुश नोटिफिकेसनले बदलिदिएको खेल
सन् २००९ को जुनमा एप्पलले एपहरूमा पुस नोटिफिकेसनको सुविधा थप्यो। कोमले त्यसलाई प्रयोग गरे। ह्वाट्सएपले प्रयोगकर्तालाई नयाँ सन्देश आएको सूचना दिन थाल्यो। त्यसपछि मानिसहरूले एपलाई सन्देश आदानप्रदानका लागि प्रयोग गर्न थाले।
विशेषगरी कोम र फिसम्यान वरपरका रूसीभाषी साथीहरूले एसएमएसको विकल्पका रूपमा ह्वाट्सएप प्रयोग गर्न थाले। उत्पादनले बिस्तारै आफ्नो बाटो भेट्टायो। यहाँ कुनै ठूलो विज्ञापन अभियान थिएन। कुनै सेलिब्रिटी प्रमोसन थिएन। ठूलो मार्केटिङ बजेट थिएन। उत्पादन प्रयोग गर्ने मानिसले अर्को मानिसलाई ल्याउँदै गए। यही वर्ड-अफ-माउथ ग्रोथ ह्वाट्सएपको सबैभन्दा ठूलो शक्ति बन्यो।
बेरोजगार एक्टनलाई सहसंस्थापक बनाए
ह्वाट्सएपको प्रयोगकर्ता बढ्न थालेपछि कोमलाई आफ्नो पुरानो साथीको आवश्यकता महसुस भयो। त्यतिबेला एक्टन जागिरविहीन थिए। कोमले उनलाई कम्पनीमा आउन आग्रह गरे। एक्टनले कम्पनीमा लगानी जुटाउन पनि भूमिका खेले। उनले २ लाख ५० हजार डलरको प्रारम्भिक लगानी जुटाउन सफल भएपछि कोमले उनलाई सहसंस्थापकका रूपमा स्वीकार गरे।
यसरी दुई पुराना याहू सहकर्मी एउटा सानो मोबाइल एपलाई विश्वव्यापी कम्पनीमा बदल्ने यात्रामा लागे।
‘हामीले प्रयोगकर्ताको डेटा बेच्नुपर्दैन’
ह्वाट्सएपको डिजाइनमा कोमको व्यक्तिगत इतिहास गहिरोसँग जोडिएको थियो। सोभियत व्यवस्थामा राज्य निगरानीको अनुभव गरेका व्यक्तिका लागि निजी सञ्चारको अर्थ अरूभन्दा फरक थियो। त्यसैले ह्वाट्सएपले न्यूनतम डेटा संकलन गर्ने, विज्ञापनलाई प्राथमिकता नदिने र प्रयोगकर्ताको निजी सञ्चारलाई संरक्षण गर्ने दर्शन अपनायो।
यो व्यापारका लागि असामान्य निर्णय थियो। सिलिकन भ्यालीको ठूलो हिस्सा प्रयोगकर्ताको ध्यानलाई विज्ञापनमा बदलिरहेको थियो। ह्वाट्सएपले भने प्रयोगकर्तालाई उत्पादनको रूपमा बेच्ने बाटो रोजेन। त्यो निर्णयले सुरुमा आम्दानीको ठूलो सम्भावना रोकेको जस्तो देखिन्थ्यो। तर पछि त्यही दर्शन कम्पनीको सबैभन्दा ठूलो ब्रान्ड पहिचान बन्यो।
४५ करोड प्रयोगकर्ता, १९ अर्ब डलरको मूल्य
सन् २०१४ को सुरुआतसम्म ह्वाट्सएपमा ४५ करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता पुगिसकेका थिए। तीमध्ये करिब ७० प्रतिशत दैनिक रूपमा सक्रिय हुने गरेको फेसबुकले सम्झौता घोषणा गर्दा जनाएको थियो।
कम्पनीले दैनिक १० लाखभन्दा बढी नयाँ दर्ता हुने प्रयोगकर्ता थपिरहेको थियो। तर ह्वाट्सएपको आम्दानी भने प्रयोगकर्ताको संख्याको तुलनामा अत्यन्त सानो थियो। फोर्ब्सका अनुसार बिक्रीको अघिल्लो वर्ष ह्वाट्सएपको आम्दानी करिब २ करोड डलर मात्रै थियो।

त्यसैले प्रश्न उठ्यो-करोडौं प्रयोगकर्ता भएको, तर तुलनात्मक रूपमा न्यून आम्दानी गर्ने कम्पनीलाई फेसबुकले यति ठूलो रकम किन तिर्यो? उत्तर थियो-नेटवर्क र प्रयोगकर्ताको व्यवहार। फेसबुकले ह्वाट्सएपमा केवल एउटा मेसेजिङ एप देखेको थिएन। उसले विश्वभरका करोडौं मानिसको दैनिक सञ्चारको पूर्वाधार देखेको थियो।
२०१४: खाद्य सहायताको लाइनदेखि १९ अर्ब डलरको सम्झौतासम्म
१९ फेब्रुअरी २०१४ मा फेसबुकले ह्वाट्सएपलाई करिब १९ अर्ब डलरमा खरिद गर्ने घोषणा गर्यो। सम्झौताको संरचनामा नगद, फेसबुकका सेयर र प्रतिबन्धित स्टक युनिटहरू समावेश थिए।
फोर्ब्सले त्यसबेला कोमको ह्वाट्सएपमा करिब ४५ प्रतिशत हिस्सा रहेको अनुमान गरेको थियो। त्यो दिन कोमका लागि पैसा मात्र महत्त्वपूर्ण थिएन। सम्झौता गर्ने ठाउँ महत्त्वपूर्ण थियो। उनीहरूले सम्झौताको कागज माउन्टेन भ्युस्थित त्यही पुरानो सरकारी सामाजिक सेवा कार्यालयको ढोकामा हस्ताक्षर गरे, जहाँ कोम र उनकी आमाले कुनै समय खाद्य सहायता लिन लाइन बस्नुपर्थ्यो।
एक छेउमा सरकारी सहायतामा बाँचेको किशोर। अर्को छेउमा १९ अर्ब डलरको कम्पनी बिक्रीमा हस्ताक्षर गर्ने अर्बपति।
दुई दृश्यबीचको दूरी २२ वर्षको थियो।
१९ अर्ब डलरको मूल्यांकनको अर्थ २०१४ को सम्झौताको समयमा ह्वाट्सएपसँग करिब ४५ करोड मासिक सक्रिय प्रयोगकर्ता थिए। साधारण हिसाबले हेर्दा १९ अर्ब डलरलाई ४५ करोड प्रयोगकर्ताले भाग गर्दा कम्पनीको मूल्य प्रति मासिक सक्रिय प्रयोगकर्ता करिब ४२ डलर पर्न आउँथ्यो।
त्यो मूल्यांकनले प्रविधि उद्योगलाई एउटा महत्त्वपूर्ण संकेत दियो-प्रयोगकर्ता संख्या आफैंमा सम्पत्ति हो, विशेषगरी ती प्रयोगकर्ता दैनिक रूपमा एउटै प्लेटफर्ममा फर्किन्छन् भने। ह्वाट्सएपले सामाजिक सञ्जालभन्दा फरक बाटो समातेको थियो। यसको मूल शक्ति ‘कन्टेन्ट’ थिएन। सञ्चार थियो।
मानिसहरूले फोटो, भिडियो वा मनोरञ्जनका लागि मात्र होइन, परिवार, साथी, व्यवसाय र दैनिक जीवनका लागि एप प्रयोग गरिरहेका थिए। त्यसैले ह्वाट्सएपको नेटवर्क प्रभाव असाधारण रूपमा बलियो बन्यो।
फेसबुकसँगको टकराव
फेसबुकको स्वामित्वमा गएपछि ह्वाट्सएपको पहुँच अझ तीव्र भयो। तर कोमका लागि एउटा प्रश्न सधैं महत्त्वपूर्ण रह्यो-ह्वाट्सएपको मूल दर्शन के हुन्छ? फेसबुकको व्यापार मोडल विज्ञापन र प्रयोगकर्ताको डेटा वरिपरि निर्माण भएको थियो। ह्वाट्सएप भने विज्ञापनविहीन र गोपनीयतामैत्री प्लेटफर्मका रूपमा स्थापित भएको थियो। यही अन्तर पछि तनावको स्रोत बन्यो।
२०१४ मा सुरु भएको स्वामित्व सम्बन्ध अन्ततः २०१८ मा कोमको प्रस्थानमा पुग्यो। त्यसबेला ह्वाट्सएपमा अन्त्य-देखि-अन्त्यसम्मको इन्क्रिप्सन लागू गर्ने काम अघि बढिरहेको थियो। पूर्ण रूपमा सबै च्याटमा इन्क्रिप्सन लागू भएको प्रक्रिया २०१६ सम्म पूरा भएको थियो।
तर फेसबुकसँग डेटा प्रयोग, विज्ञापन र गोपनीयताको विषयमा मतभेद बढ्दै गए। अप्रिल २०१८ मा कोमले ह्वाट्सएप र फेसबुकबाट बाहिरिने घोषणा गरे। उनले फेसबुकको बोर्डबाट पनि राजीनामा दिए। त्यसअघि नै सहसंस्थापक एक्टन कम्पनी छाडिसकेका थिए। कोमको प्रस्थान केवल जागिर छाड्नु थिएन। यो उनले बनाएको कम्पनीको मूल दर्शन र त्यसलाई स्वामित्वमा लिएको विशाल प्रविधि कम्पनीबीचको मतभेदको परिणाम थियो।
अर्बौं डलर छाडेर पनि बाहिरिए?
कोमको फेसबुकबाट प्रस्थान गर्दा एउटा आर्थिक प्रश्न पनि उठ्यो। सम्झौताअनुसार उनलाई प्रदान गरिएको फेसबुक स्टकको केही हिस्सा भविष्यमा निश्चित समय पूरा भएपछि मात्र प्राप्त हुने व्यवस्था थियो। त्यसैले तत्काल बाहिरिँदा उनले करिब १ अर्ब डलर बराबरको अप्राप्त स्टक गुमाउन सक्ने अनुमान गरिएको थियो।
तर पछि सार्वजनिक विवरणहरूले उनले ‘रेस्ट एन्ड भेस्ट’ संरचनामार्फत थप करिब ४५ करोड डलर बराबरको स्टक प्राप्त गरेको देखाए। अर्थात् कोमको कथा कम्पनी बेचेर समाप्त भएन। उनी प्रविधिको दैनिक दौडबाट बाहिरिए, तर उनको सम्पत्ति र प्रभाव भने बढ्दै गयो।
‘म उद्यमी होइन’
कोम आफूलाई ‘एन्ट्रप्रेनर’ अर्थात् उद्यमी भनिएको मन पराउँदैनन्। उनले सामाजिक सञ्जालमा मजाक गर्दै अर्को व्यक्तिले आफूलाई उद्यमी भने ‘बडीगार्डबाट मुक्का खुवाउने’ चेतावनीसमेत दिएका थिए। यसको पछाडि उनको एउटा गहिरो धारणा थियो। उनका अनुसार धेरै उद्यमीको प्राथमिक प्रेरणा पैसा कमाउनु हुन्छ। आफ्नो हकमा भने उनी आफूलाई उपयोगी उत्पादन बनाउने व्यक्तिका रूपमा हेर्थे।
यो भनाइ ह्वाट्सएपको इतिहाससँग मिल्छ। ह्वाट्सएपको सुरुआत ठूलो व्यापारिक साम्राज्य बनाउने योजनाबाट भएको थिएन। एक ३३ वर्षीय इन्जिनियरले नयाँ मोबाइल प्लेटफर्मको सम्भावना देखेर बनाएको एउटा साधारण एपबाट भएको थियो। तर त्यही सरलताले विश्वव्यापी व्यवसायको रूप लियो।
फुड स्ट्याम्पदेखि अर्बौं डलरको सम्पत्तिसम्म
- सन् १९९२–१९९७ : सरकारी सहायता, फुड स्ट्याम्प र न्यून ज्यालाका काम।
- १९९७–२००७ : याहूमा इन्फ्रास्ट्रक्चर इन्जिनियरका रूपमा करिअर।
- २००७ : याहूबाट बाहिरिएर एक वर्षको विश्राम र यात्रा।
- जनवरी २००९ : आइफोन किने र एप स्टोरको सम्भावना देखे।
- २००९ : ह्वाट्सएप स्थापना।
- जुन २००९ : पुश नोटिफिकेसनपछि एपको प्रयोग तीव्र रूपमा बढ्न थाल्यो।
- २०१४ : फेसबुकले ह्वाट्सएपलाई करिब १९ अर्ब डलरमा खरिद गर्ने घोषणा गर्यो।
- २०१६ : ह्वाट्सएपमा अन्त्य–देखि–अन्त्यसम्मको इन्क्रिप्सन सबै च्याटमा विस्तार भयो।
- २०१८ : कोमले ह्वाट्सएप र फेसबुक छाडे।
यो टाइमलाइनले एउटै कुरा देखाउँछ, कोमको सम्पत्ति एकै रातमा बनेको होइन। त्यसको पछाडि दुई दशकभन्दा बढी समयको सिकाइ, प्राविधिक दक्षता, जोखिम, असफलता र सही समयमा सही उत्पादन पहिचान गर्ने क्षमता थियो।
अरबपति भएपछि पनि दानमै रूची
ह्वाट्सएप बिक्रीपछि कोम विश्वका धनी व्यक्तिमध्ये एक बने। फोर्ब्सको पछिल्लो सार्वजनिक अनुमानअनुसार उनको सम्पत्ति १५ अर्ब डलरभन्दा बढीको स्तरमा पुगेको थियो। तर पछिल्ला वर्षमा उनको अर्को परिचय पनि बलियो भएको छ-परोपकारी दाता। उनले विश्वविद्यालय, शिक्षा, यहुदी समुदाय, स्वास्थ्य र अन्य सामाजिक क्षेत्रमा ठूलो रकम दान गरेका छन्।
उनले फोर्डह्याम युनिभर्सिटी लाई १० लाख डलर र स्ट्यानफोर्ड युनिभर्सिटीलाई ४१ मिलियन डलर दान गरेको विवरण सार्वजनिक छ। युक्रेनमाथि सन् २०२२ मा भएको रुसी आक्रमणपछि उनले युरोपियन यहुदी संघलाई १७ मिलियन डलर र फेडरेसन अफ जेविश कम्युनिटिज अफ द सीआईएसलाई १०.६ मिलियन डलर सहयोग गरेको विवरण पनि छ।
तर उनको परोपकारको सबैभन्दा ठूलो पछिल्लो घोषणा २०२६ मा आयो: २० करोड डलरको स्वास्थ्य लगानी । मे २०२६ मा कोम परिवार फाउन्डेसनले जेरुसेलमस्थित शारे जेडेक मेडिकल सेन्टरलाई २० करोड डलर दान गर्ने घोषणा गर्यो। यो इजरायली अस्पताललाई गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो एकल परोपकारी दानका रूपमा घोषणा गरिएको छ।
रकमबाट नयाँ २४ तले मेडिकल टावर र सम्बन्धित पूर्वाधार निर्माण गरिनेछ। त्यो घोषणा ह्वाट्सएपको कारोबारभन्दा फरक प्रकृतिको थियो। २०१४ मा उनले मानिसलाई जोड्ने प्रविधिको मूल्य प्रमाणित गरेका थिए। २०२६ मा उनको सम्पत्तिको एउटा ठूलो हिस्सा स्वास्थ्य पूर्वाधारमा लगानी गर्ने निर्णयमा देखियो।
त्यही वर्ष जुन १८, २०२६ मा मिल्केन कम्युनिटी स्कुलले कौम फ्यामिली फाउन्डेसनबाट ३६ मिलियन डलरको लगानी प्राप्त गरेको घोषणा गर्यो। त्यसपछि विद्यालयको इस्ट क्याम्पसको नाम परिवर्तन गरेर जान कोउम क्याम्पस राखिएको छ। अर्थात्, कोमको यात्राको पछिल्लो अध्याय पनि शिक्षा र संस्थागत निर्माणसँग जोडिएको छ।
असाधारण सफलता: सबैका लागि एउटै सूत्र होइन
जन कोमको कथा पढ्दा एउटा सजिलो निष्कर्ष निकाल्न सकिन्छ-गरिबीबाट उठेर मेहनत गरेपछि जो कोही अर्बपति बन्न सक्छ। तर त्यो निष्कर्ष अधुरो हुन्छ। कोमको सफलता असाधारण अपवाद हो। शरणार्थीका लागि सरकारी सहायता जीवन स्थिर बनाउन महत्त्वपूर्ण हुन सक्छ। तर त्यसले आफैंमा अर्बौं डलरको कम्पनी निर्माण गर्दैन।
कोमसँग केही दुर्लभ कुरा एकै ठाउँमा मिले। आत्मशिक्षा। प्राविधिक दक्षता। सिलिकन भ्यालीको अवसर। सही समयमा नयाँ प्रविधि पहिचान गर्ने क्षमता। ब्रायन एक्टनजस्तो दीर्घकालीन साझेदार। उत्पादनमा अत्यधिक ध्यान।
र सबैभन्दा महत्त्वपूर्ण-अरूले व्यापारिक कमजोरी देखेको ठाउँमा उनले आफ्नो प्रतिस्पर्धात्मक शक्ति देखे। विज्ञापन नगर्ने निर्णयले सुरुमा ह्वाट्सएपको आम्दानी सीमित बनायो। तर त्यसले प्रयोगकर्ताको विश्वास बढायो। कम डेटा संकलन गर्ने निर्णयले डेटा–आधारित विज्ञापन व्यवसायको सम्भावना घटायो। तर त्यसले गोपनीयतालाई कम्पनीको पहिचान बनायो।
सरल उत्पादन बनाउने निर्णयले सुविधाहरूको सूची सानो राख्यो। तर मानिसले त्यसलाई बुझ्न र प्रयोग गर्न सजिलो भयो।
कोमको सबैभन्दा ठूलो पाठ: डिग्रीभन्दा उपयोगी सीप
जन कोमले विश्वविद्यालय पूरा गरेनन्। यसको अर्थ विश्वविद्यालय आवश्यक छैन भन्ने होइन। उनको कथा त्यस्तो निष्कर्षका लागि प्रयोग गर्नु गलत हुनेछ। बरु उनको यात्राले अर्को कुरा देखाउँछ-औपचारिक शिक्षाभन्दा बाहिरको आत्मशिक्षा पनि असाधारण प्राविधिक क्षमता निर्माण गर्ने माध्यम बन्न सक्छ।
उनले कम्प्युटर नेटवर्किङ किताबबाट सिके। ह्याकिङ समूहमा गएर सिके। सिस्टममा प्रयोग गरेर सिके। याहूमा वास्तविक संसारको पूर्वाधार व्यवस्थापन गरेर सिके। अन्ततः त्यही सीपले उनलाई विश्वकै ठूलो प्रविधि कारोबारको केन्द्रमा पुर्यायो।

आजको एआई, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा र सफ्टवेयर उद्योगमा पनि यही प्रश्न झन् महत्त्वपूर्ण बन्दै गएको छ-कागजमा के लेखिएको छभन्दा मानिसले वास्तवमा के बनाउन सक्छ? कोमको करिअर त्यस प्रश्नको एउटा ऐतिहासिक उदाहरण हो।
गरिबीले बनाएको उत्पादन दर्शन
कोमको जीवनको सबैभन्दा रोचक पक्ष शायद उनको सम्पत्ति होइन। उनको उत्पादन दर्शन हो। सरकारी सहायता लिएर हुर्किएको किशोरले पछि विश्वकै सबैभन्दा ठूलो मेसेजिङ प्लेटफर्ममध्ये एक बनाउँदा पनि उसले प्रयोगकर्ताबाट अधिकतम पैसा कसरी निकाल्ने भन्ने प्रश्नलाई केन्द्रमा राखेन।
उसले पहिले एउटा सरल प्रश्न सोध्यो- मानिसलाई के चाहिएको छ? उत्तर थियो-सस्तो, सरल, भरपर्दो र निजी सञ्चार। त्यही उत्तर ह्वाट्सएपको मूल बन्यो। कोमले भोगेको अभावले उनलाई पैसा र सुविधा नहुँदा मानिसको वास्तविक आवश्यकता के हुन्छ भन्ने बुझाएको हुन सक्छ र सोभियत निगरानीको अनुभवले निजी सञ्चारको मूल्य बुझाएको हुन सक्छ।
माउन्टेन भ्युको सरकारी सहायता प्रणालीले उनलाई स्थिर हुन मौका दियो। सिलिकन भ्यालीले उनलाई अवसर दियो। याहूले उनलाई स्केल सिकायो। एक्टनले साझेदारीको शक्ति दिए। आइफोन र एप स्टोरले नयाँ बजार देखायो। र ह्वाट्सएपले यी सबैलाई एउटा उत्पादनमा जोड्यो।
एउटा कम्पनीभन्दा ठूलो कथा
जन कोमको कथा अन्ततः ह्वाट्सएपको कथा मात्र होइन। यो एउटा यस्तो आर्थिक प्रणालीको कथा हो जहाँ संसारको एउटा कुनाबाट आएको १६ वर्षको शरणार्थीले केही वर्षपछि विश्वकै सबैभन्दा उन्नत प्रविधि उद्योगको हिस्सा बन्न सक्छ।
यो सार्वजनिक सहायता र व्यक्तिगत प्रयासबीचको सम्बन्धको कथा पनि हो। सरकारी सहायता कार्यक्रमले कोमलाई अर्बपति बनाएको होइन। तर त्यसले उनलाई पहिलो चरण पार गर्न मद्दत गर्यो—बस्ने ठाउँ दियो, खानका लागि सहयोग दियो र सुरक्षित वातावरणमा आफ्नो भविष्य बनाउन समय दियो।
त्यसपछि बाँकी यात्रा उनले आफैं बनाए। किराना पसलको भुइँ सफा गर्ने किशोरले कम्प्युटर नेटवर्किङ सिक्यो। नेटवर्किङ सिकेको युवकले ह्याकर समुदायमा प्रवेश गर्यो। ह्याकर समुदायबाट आएको युवकले याहूमा जागिर पायो।
याहूका दुई सहकर्मीले ह्वाट्सएप बनाए। ह्वाट्सएपले ४५ करोड प्रयोगकर्ता जोड्यो। फेसबुकले १९ अर्ब डलर तिर्यो। र २२ वर्षअघि सरकारी सहायता लिन लाइन बसेको व्यक्ति आफ्नै कम्पनी बिक्रीको सम्झौतामा त्यही कार्यालयको ढोकामा हस्ताक्षर गर्दै उभियो।
जन कोमको जीवनमा सबैभन्दा ठूलो परिवर्तन कहिले भयो? १९ अर्ब डलरको सम्झौता भएको दिन? सायद होइन। सायद त्यो दिन, जब १८ वर्षका कोमले नयाँ कम्प्युटर नेटवर्किङ म्यानुअल किन्न सक्ने पैसा नभए पनि एउटा पुरानो किताब पसलबाट किताब किनेर पढ्ने र पढिसकेपछि फिर्ता गर्ने निर्णय गरे।
सायद त्यो दिन, जब उनले विश्वविद्यालयको डिग्रीभन्दा आफ्नो प्राविधिक कामलाई प्राथमिकता दिए। सायद त्यो दिन, जब याहूबाट बाहिरिएपछि पनि उनी र एक्टनले असफलताको डरभन्दा नयाँ उत्पादनको सम्भावनालाई रोजे। वा सायद त्यो जनवरी २००९ थियो, जब एउटा नयाँ आइफोन हातमा लिएर उनले एउटा यस्तो उद्योग देखे जुन त्यतिबेला अरू धेरैले देखेका थिएनन्। अन्ततः ह्वाट्सएपको मूल्य १९ अर्ब डलरमा पुगेको थियो। तर त्यसको सुरुआतमा मूल्य त्यति ठूलो थिएन।
त्यहाँ एउटा १६ वर्षको शरणार्थी थियो। दुई कोठे सरकारी अपार्टमेन्ट थियो। फुड स्ट्याम्प थियो। किराना पसलको भुइँ थियो। पुराना किताब थिए। एउटा कम्प्युटर थियो। र केही नयाँ सिक्ने असीम भोक थियो। जन कोमको कथा त्यसैले ‘गरिबबाट अर्बपति’ बन्ने कथा मात्र होइन। यो अवसर पाएपछि सीपले के गर्न सक्छ, सही उत्पादनले कस्तो बजार बनाउन सक्छ र व्यक्तिगत अनुभवले विश्वव्यापी व्यवसायको दर्शन कसरी बदल्न सक्छ भन्ने कथा हो।
आज २०२६ मा उनी शिक्षा र स्वास्थ्यमा सयौं मिलियन डलरको परोपकारी लगानी गरिरहेका छन्। माउन्टेन भ्युको त्यो दुई कोठे अपार्टमेन्ट र सरकारी सहायता कार्यालय भने उनको जीवनको विगत भइसकेको छ। तर उनको यात्राको सबैभन्दा बलियो प्रतीक अझै त्यही पुरानो ढोका हो- जहाँ कुनै समय उनी र उनकी आमा सहायता लिन लाइनमा उभिएका थिए, त्यही ढोकामा एक दिन उनले १९ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरे।
त्यस ढोकाले उनको गरिबीको अन्त्य मात्र देखेन त्यसले एउटा शरणार्थीको सम्भावना विश्वले कति ठूलो मूल्यमा किन्न सक्छ भन्ने पनि देखायो।
