काठमाडौं: अमेरिकी अर्बपति एलोन मस्कले आगामी वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको एक-एक सेयर दिने घोषणा गरेका छन्। मस्कले सोमबार सामाजिक सञ्जाल एक्समार्फत यस्तो जानकारी दिएका हुन्। उनले भनेका छन्, ‘अर्को वर्ष म अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको एउटा सेयर दिनेछु। यो सुरुवात मात्रै हुनेछ।’
स्पेसएक्सको बजार मूल्य करिब दुई ट्रिलियन अमेरिकी डलर रहेको छ। गत शुक्रबार बजार बन्द हुँदा कम्पनीको एक सेयरको मूल्य करिब १४६ डलर थियो। सीएनएनका अनुसार अमेरिकामा १८ वर्षमुनिका करिब सात करोड ३० लाख बालबालिका छन्। यदि सबै बालबालिकालाई एक-एक सेयर दिइएमा त्यसको कुल मूल्य करिब १० अर्ब ६६ करोड डलर हुन आउँछ। यद्यपि, मस्कले यो योजना कसरी कार्यान्वयन गर्ने भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।
यो घोषणा एआई कम्पनी एन्थ्रोपिकले आफ्नो सेयरको कम्तीमा पाँच प्रतिशत हिस्सेदारी सार्वजनिक हितका लागि खर्च गर्ने कोषमा दिने घोषणा गरेको केही दिनपछि आएको हो। एन्थ्रोपिकको उक्त हिस्सेदारीको मूल्य करिब ४८ अर्ब डलर हुन आउँछ। मस्कले एन्थ्रोपिकको उक्त कदममा प्रतिक्रिया दिँदै सेयर जनतालाई सिधै बाँड्नुपर्ने धारणा राखेका थिए।
हाल अमेरिकामा बालबालिकालाई लगानीको अवसर दिने उद्देश्यले ‘ट्रम्प अकाउन्ट्स’ नामक योजना पनि सञ्चालनमा छ। यसअन्तर्गत सन् २०२५ देखि २०२८ सम्म जन्मिएका योग्य बालबालिकालाई एक हजार डलरको सरकारी योगदान उपलब्ध गराउने व्यवस्था छ। मस्कको पछिल्लो घोषणालाई सार्वजनिक हितका लागि गरिएको प्रयासका रूपमा हेरिए पनि यसको कार्यान्वयन प्रक्रिया र बालबालिकाले सेयर पाउने वा नपाउने भन्ने विषयमा अझै स्पष्टता छैन।

