काठमाडौं: गोर्खाका सिभिल इन्जिनियर कुमार लामिछानेले व्यावसायिक गाई तथा भैँसी पालनबाट मासिक १५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। नागार्जुन नगरपालिका-६, रामकोटमा उनले सञ्चालन गरेको क्षितिज एकीकृत कृषि फार्म प्रालिबाट यस्तो आम्दानी भइरहेको हो।
सन् २०२० को मे महिनामा स्थापना गरिएको यस फार्ममा लामिछानेले १० करोड रुपैयाँ लगानी गरेका छन्। उनले ६ रोपनी जग्गा मासिक एक लाख रुपैयाँ भाडा तिर्ने गरी भाडामा लिएका छन्। सुरुमा ३० वटा भैँसीबाट व्यवसाय थालेका लामिछानेको फार्ममा अहिले दुई सय गाई र ५० वटा भैँसी रहेका छन्।
इन्जिनियर लामिछानेले आफ्नो सात वर्षको अनुभवबारे बताउँदै भने, इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें, सात वर्षदेखि जीवन साथी इन्जिनियर सङ्गीतासँगको सहयोग र सहकार्यमा इन्जिनियरिङ पेसासँगै गाई तथा भैँसीपालन व्यवसाय गरेको हुँ। यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै छ।
हाल सो फार्मबाट दैनिक एक हजार दुई सय लिटर दूध उत्पादन हुने गरेको छ। उत्पादित दूध दुग्ध विकास संस्थान, नमूना डेरी र उपत्यकाका अन्य विभिन्न डेरीहरूमा बिक्री हुने गरेको छ।

