दाङ। घोराही–तुलसीपुर चार लेन सडकमा तिहार लगतै ग्राबेल गर्ने तयारी गरिएको छ। निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभिका इञ्जिनियर सुनिल ढुङ्गानाका अनुसार अहिले वाल र नाली निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए।
हाल सोही सडकमा १६ प्रतिशत भौतिक प्रगति भएको छ, भने १५ प्रतिशत आर्थिक प्रगति भएको प्राविधिक ढुङ्गानाले बताए। रु ४० करोड बराबरको काम पूरा भएको उनको भनाइ छ । “अहिले स्टकचरको काम भइरहेको छ”, उनले भने, “त्यो तिहारसम्म सकिन्छ, अनि ग्राबेलको काम हुन्छ ।” करिब १८ किलोमिटर पर्खालको काम पूरा भइसकेको छ, भने नालीको काम अन्तिम चरणमा पुगिसकेको छ । त्योसँगै ग्राबेलको काम सुरु हुने प्राविधिक ढुङ्गानाको भनाइ छ।
लामो समयदेखि अलपत्र रहेको उक्त सडक पुनः ठेक्का लगाएर हाल काम सुरु भएको हो। विसं २०८२ असारमा सम्झौता भइ निर्माण कम्पनीले काम गरिरहेको छ । त्योभन्दा अघि पाँच वर्षसम्म त्यो सडक अलपत्र अवस्थामा थियो।
जसका कारण नागरिकमा गुनासो थियो । अहिले पनि काम रोकिना साथ नागरिकमा शङ्का उत्पन्न हुने गर्छ । अहिले काम नरोकिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र विष्टले बताए।
उनले दशैमा सबै कामदार घर अबको एक/दुई दिनमा नै काम सुरु हुनेछ । सबै मजदुर कामका लागि आउन थालिसकेका छन् । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म २१ किलोमिटर ५८ मिटर सडक चारलेन हुनेछ।
जुन सडकको बीचबीचमा मेडिएन र दुवैतर्फ दुई/दुई लेनको हुने उनले बताए। जसमा बजार क्षेत्रमा फुटपाथसहितको चार लेन हुनेछ भने अन्य स्थानमा चार लेन मात्रै हुनेछ। सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडकमार्ग परियोजनाले ठेक्का सम्झौता गरेर कामअघि बढाएको हो।
जुन सडक निर्माण अनुगमनको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाई ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्रे हुनेछ । जसमा ढुङ्गा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्रे गरिनेछ।
सम्झौता भएको मितिले ३६ महिनामा काम सक्ने गरी सम्झौता भएको छ। वि.सं. २०८२ असार २४ मा भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा सडक चार लेनको काम भएको हो । सडक २०८५ असारभित्रै सक्नुपर्नेछ । सोहीअनुसार काम पूरा हुने निर्माण कम्पनीका प्राविधिक ढुङ्गानाले बताए।
सडक चार लेन बनाउनका लागि यसअघिको निर्माण कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरिएको थियो। ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको हो। तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको निर्णयानुसार रु तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो।
सोहीअनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर फागुन १ गते बोलपत्र आह्वान भएको थियो। उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चार लेनको पुल निर्माणका लागि प्रक्रियाअघि बढिसकेको छ।
