विराटनगर: कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलमा निर्माणाधीन नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ। यात्रुको सुविधालाई मध्यनजर गर्दै निर्माण भइरहेको यो भवन अत्याधुनिक र प्रविधिमैत्री हुनेछ।
विमानस्थल कार्यालयका सूचना अधिकारी सञ्जीव खड्काका अनुसार सन् १९५८ मा सञ्चालनमा आएको यो विमानस्थलको संरचनालाई भूकम्परहित बनाउने उद्देश्यले विसं २०७९ पुसमा नयाँ भवन निर्माण सुरु गरिएको थियो। रु तीन अर्ब १२ करोड लागतमा बन्दै गरेको तीनतले सो भवन १८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ।
कुल १२२ बिघा क्षेत्रफलमा रहेको विमानस्थलको रनवे एक हजार ७७५ मिटर लम्बाइको छ। हाल यस विमानस्थलबाट दैनिक २० देखि २५ वटा उडान हुने गरेको छ। निर्माण कम्पनीले विसं २०८३ पुसभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई तीव्रता दिएको छ।
हाल पाँच वटा जहाज पार्किङ गर्न सकिने क्षमता रहेको विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएसँगै सात वटा जहाज पार्किङ गर्न मिल्ने गरी क्षेत्र विस्तार गरिने जनाइएको छ।
