काठमाडौं। सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा नआएसम्म स्थानीयको जीवनस्तरमा सुधार ल्याउन नसकिने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य भरत प्रसाद पराजुलीले बताएका छन्।
काठमाडौंबाट करिब ११४ देखि १२४ किलोमिटरको दूरीमा रहेको यो नाका नेपाल र चीन जोड्ने सबैभन्दा छोटो उत्तरी मार्ग हो। सन् २०१४ को जुरे पहिरो र २०१५ को भूकम्पपछि पटक-पटक अवरुद्ध हुँदै आएको यो नाका अहिले चिनियाँ पक्षले सुरक्षा र प्राकृतिक विपत्तिको कारण देखाउँदै बन्द गरेको छ।
सांसद पराजुलीले नाकाको अवरोधले स्थानीय व्यवसायी र बासिन्दा चरम आर्थिक संकटमा परेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, ‘तातोपानी नाका नखोलिकन जनताको मुहारमा खुसी ल्याउन सकिँदैन।’
पराजुलीका अनुसार यो नाका देशको अर्थतन्त्रको मेरुदण्ड र रणनीतिक राजमार्ग हो। नाका पूर्ण क्षमतामा सञ्चालन नहुँदा ठूला पूर्वाधार आयोजनाका लागि आवश्यक उपकरण ढुवानीमा समेत कठिनाइ भइरहेको छ।
उनले नाका खुलाउन कूटनीतिक पहल भइरहेको जानकारी दिँदै नवनियुक्त राजदूत डा. कल्याणराज शर्मासँग पनि छलफल गरेको बताए। सरकारले नाका सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण र सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे।
तातोपानी नाकाले विगतमा राज्यलाई वार्षिक करिब २३ अर्ब रुपैयाँसम्म राजस्व योगदान दिँदै आएको थियो। हालसम्म यस नाकाबाट राज्यले करिब ५ खर्ब रुपैयाँ राजस्व संकलन गरिसकेको छ। पराजुलीले चीन सरकारलाई यो नाका दुई देशको ऐतिहासिक सम्बन्धको प्रतीक भएको भन्दै यसलाई पहिलो प्राथमिकतामा राखेर सञ्चालनमा ल्याउन आग्रह गरे।
स्थानीय पूर्वाधारको हकमा बाह्रबिसेदेखि लिपिङसम्मको सडक सुधार र पुल निर्माणका लागि बजेट सुनिश्चित भइसकेको उनले जनाए। नाकाको महत्त्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न मिडियाले निरन्तर आवाज उठाउनुपर्नेमा उनले जोड दिए।
