काठमाडौं: दसैं र तिहारको बिदाको समयमा बर्दिया राष्ट्रिय निकुञ्जमा १५ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्। निकुञ्जका अनुसार असोज २५ गते घटस्थापनादेखि कात्तिक मसान्तसम्म कुल १५ हजार ३ सय ७८ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका हुन्।
भ्रमण गर्ने पर्यटकहरूमध्ये १३ हजार ३ सय ५२ जना नेपाली, २ सय ४६ जना सार्क मुलुकका र १ हजार ७ सय ८० जना अन्य विदेशी नागरिक रहेका छन्। निकुञ्जका संरक्षण अधिकृत अरविन्द यादवका अनुसार सो अवधिमा १ हजार २ सय ९ वटा जिप सफारी भएको छ। यसअघि साउनमा ४ सय २७ र भदौमा ४ सय ६२ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए भने असोज महिनामा मात्र १ हजार ९ सय ३४ जना पर्यटक भित्रिएका थिए।
गत आर्थिक वर्ष २०८२-८३ मा कुल २७ हजार २५ जना र अघिल्लो आर्थिक वर्ष २०८१-८२ मा २८ हजार ६७ जना पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए। पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराईका अनुसार पछिल्लो समय विदेशी पर्यटकको साथै आन्तरिक पर्यटकहरूको निकुञ्ज भ्रमण गर्ने प्रवृत्ति बढेको छ। विशेषगरी सार्वजनिक बिदाका दिनहरूमा नेपाली पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरू मुख्यतया हात्तीसार, गोही प्रजनन केन्द्र, जंगल सफारी र जंगल वाल्कका लागि आउने गर्दछन्। निकुञ्जको मुख्यालय ठाकुरद्वारामा रहेको गोही प्रजनन केन्द्रका साथै हात्ती, कछुवा, पाटे बाघ र गैँडा अवलोकन गर्न पर्यटकहरू लालायित हुने गरेका छन्। सफारीमा जाने अधिकांश पर्यटकहरूले पाटे बाघलगायतका वन्यजन्तु देख्न पाएकोमा खुसी व्यक्त गर्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ।
