काठमाडौं: नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं-तराई/मधेश द्रुतमार्गको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ। बुधबार आयोजित महादेवटार सुरुङमार्गको ब्रेकथ्रु कार्यक्रममा आयोजना प्रमुख सहायक रथी भरतलाल श्रेष्ठले आयोजनाको प्रगतिबारे जानकारी दिएका हुन्।
राष्ट्रिय गौरवको यस रणनीतिक आयोजनाको निर्माण कार्यलाई सेनाले तीव्रता दिएको छ। आयोजना प्रमुख श्रेष्ठका अनुसार विगतमा केही चरणमा निर्माण प्रभावित भए पनि हाल ललितपुरको खोकना-डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी केही समस्या बाँकी छन्। ६.५ किलोमिटर लामो उक्त खण्डको समस्या समाधानका लागि पहल भइरहेको र समाधान हुनासाथ ठेक्का प्रक्रिया अघि बढाइने उनले बताए।
आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण पूरा भइसकेकाले आगामी दिनमा कामले थप गति लिने विश्वास गरिएको छ। हालसम्म आयोजनाअन्तर्गत सात स्थानमा निर्माण भइरहेका १४ वटा सुरुङमध्ये धेद्रे, लेनडाँडा र महादेवटारका गरी ६ वटा सुरुङको निर्माण सम्पन्न भइसकेको छ। अन्य चार स्थानमा ८ वटा सुरुङ निर्माणाधीन अवस्थामा छन्। महादेवटार सुरुङमार्ग आयोजनाको सबैभन्दा लामो सुरुङ हो, जसको लम्बाइ ३,४५४ मिटर रहेको छ।
ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदूतलगायत बागमती प्रदेश प्रमुख, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
