काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाडौंमा पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम सञ्चालनमा ल्याएको छ।
शुक्रबार आयोजित कार्यक्रममा टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुम उद्घाटन गरेका हुन्।
नयाँ शोरुममा टीभीएसका प्रिमियम मोटरसाइकल तथा विद्युतीय सवारीसाधन एउटै छानामुनि उपलब्ध हुनेछन्। यहाँ अपाचे आरटीआर २०० फोरभी यूएसडी प्रोजेक्टर, अपाचे आरटीआर १६० फोरभी यूएसडी प्रोजेक्टर, टीभीएस रोनिन, रोनिन अगोन्डा, टीभीएस आईक्यूब र टीभीएस अर्बिटरलगायतका मोडल राखिएका छन्।
शोरुममा प्रिमियम बाइकका लागि आधिकारिक गियर, एक्सेसरिज तथा कस्टमाइज गरिएका हेल्मेटसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।
शोरुम उद्घाटनकै अवसरमा कम्पनीले बाढीप्रभावित क्षेत्रका विभिन्न संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराइएको उक्त सहयोगबाट नुवाकोट र रसुवाका प्रहरी कार्यालय, स्थानीय तह, अस्पताल तथा सामुदायिक विद्यालय लाभान्वित भएका छन्।
सहयोग प्राप्त गर्ने संस्थामा जिल्ला प्रहरी कार्यालय नुवाकोट, नुवाकोट केन्द्रीय कारागार, विदुर नगरपालिका, विदुर जिल्ला अस्पताल, सरकारी विद्यालय, जिल्ला प्रहरी कार्यालय रसुवा, आमाछोदिङ्मो गाउँपालिका र उत्तरगया गाउँपालिकालगायत छन्।
कम्पनीका अनुसार मोटरसाइकल सहयोगले बाढीप्रभावित क्षेत्रमा सार्वजनिक सेवा प्रवाह, आवागमन र पुनःस्थापनाका कामलाई सहज बनाउन मद्दत पुग्नेछ।
कार्यक्रममा कलाकार सौगात तामाङले विशेष रूपमा डिजाइन गरेको कस्टमाइज्ड हेल्मेटसमेत सार्वजनिक गरिएको थियो।
टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गरले नेपाल कम्पनीको अन्तर्राष्ट्रिय विस्तारका लागि महत्वपूर्ण बजार रहेको बताए। नयाँ शोरुमले नेपाली बजारमा कम्पनीको दीर्घकालीन लगानी र ग्राहकका बदलिँदा आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धतालाई थप बलियो बनाउने उनको भनाइ छ।
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले टीभीएससँगको १५ वर्ष लामो सहकार्यले नेपालमा ब्रान्डको उपस्थिति विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। नयाँ शोरुमले ग्राहकलाई आधुनिक सवारीसाधन, प्रिमियम उत्पादन र थप सुविधासहितको सेवा उपलब्ध गराउने उनले उल्लेख गरे।
९० भन्दा बढी देशमा उपस्थिति रहेको टीभीएस मोटर कम्पनीले नेपालमा बिक्री सञ्जाल, ग्राहक सेवा र विद्युतीय सवारीसाधनको बजार विस्तारलाई निरन्तरता दिने जनाएको छ।
