एजेन्सी । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआई पहिलो स्मार्टफोन निर्माण गर्ने तयारीमा जुटेको छ। विश्वका स्थापित स्मार्टफोन ब्रान्डसँग प्रतिस्पर्धा गर्ने लक्ष्यसहित कम्पनीले हार्डवेयर विकासको काम अघि बढाएको विवरण सार्वजनिक भएको छ।
प्रविधि समाचार पोर्टल ग्याजेट्स ३६० का अनुसार चिनियाँ सञ्चारमाध्यम सेक्युरिटिज टाइम्स र काइलियन प्रेसले ओपनएआईको स्मार्टफोन परियोजनामा एप्पलको प्रमुख उत्पादन साझेदार फक्सकन जोडिएको जनाएका छन्। फक्सकनको सहायक कम्पनी एफआईएच मोबाइलले फोन एसेम्बलीको अर्डर पाएको विवरण सार्वजनिक भएको छ। उक्त स्मार्टफोन सन् २०२७ को अन्त्य वा २०२८ सम्म बजारमा आउन सक्ने अनुमान गरिएको छ।
हङकङ स्टक एक्सचेन्जमा सूचीकृत एफआईएच मोबाइल स्मार्टफोन तथा अन्य विद्युतीय उपकरणको डिजाइन, निर्माण र एसेम्बलीमा काम गर्ने कम्पनी हो। आईफोनलगायत एप्पलका उत्पादन निर्माणमा संलग्न फक्सकनको सहायक कम्पनी ओपनएआईको परियोजनामा जोडिनुलाई महत्वपूर्ण मानिएको छ।
ओपनएआईको हार्डवेयर योजनामा एप्पलको आपूर्ति शृंखलासँग आबद्ध अन्य चिनियाँ कम्पनीसमेत सहभागी हुन सक्ने विवरण सार्वजनिक भएको छ। काइलियन प्रेसका अनुसार लक्ससेयर प्रिसिजन, लिंगी आइटेक र एएसी टेक्नोलोजिजले पनि परियोजनामा भूमिका खेल्न सक्नेछन्। यी कम्पनीले स्मार्टफोनका विभिन्न कम्पोनेन्ट आपूर्ति तथा उत्पादनसम्बन्धी जिम्मेवारी सम्हाल्ने सम्भावना छ।
यसअघि टीएफ इन्टरनेसनल सेक्युरिटिजका विश्लेषक मिङ–ची कुओले पनि लक्ससेयरलाई ओपनएआईको सम्भावित प्रणाली सह–डिजाइन तथा निर्माण साझेदारका रूपमा उल्लेख गरेका थिए।
स्मार्टफोनको प्रोसेसर निर्माण योजनामा पनि परिवर्तन आएको बताइएको छ। यसअघि ओपनएआईले कस्टम प्रोसेसरका लागि मिडियाटेक र क्वालकमसँग सहकार्य गर्न सक्ने अनुमान गरिएको थियो। सन् २०२८ मा बृहत् उत्पादन सुरु हुने प्रारम्भिक अनुमानसमेत सार्वजनिक भएको थियो।
तर पछिल्ला विश्लेषणले उत्पादनको समयतालिका अघि सर्न सक्ने संकेत गरेका छन्। कुओले सन् २०२७ को पहिलो अर्धवार्षिकमै बृहत् उत्पादन सुरु हुन सक्ने सम्भावना औँल्याएका थिए। उनका अनुसार फोनमा टीएसएमसीको दुई न्यानोमिटर प्रविधिमा आधारित कस्टमाइज्ड मिडियाटेक डाइमेन्सिटी ९६०० चिपसेट प्रयोग हुन सक्छ। पछिल्ला विवरणमा मिडियाटेक एकमात्र प्रोसेसर आपूर्तिकर्ता बन्न सक्ने उल्लेख छ।
ओपनएआई र फक्सकनबीचको सहकार्य भने नयाँ होइन। दुवै कम्पनीले यसअघि नै एआई डेटा सेन्टरका उपकरण निर्माणमा सहकार्य गर्ने घोषणा गरिसकेका छन्। गत अक्टोबरको अन्त्यमा फक्सकनका अध्यक्ष यङ लिउले दुई कम्पनीबीच थप संयुक्त परियोजनाबारे छलफल भइरहेको बताएका थिए।
यद्यपि, ओपनएआई र फक्सकन दुवैले स्मार्टफोन निर्माणसम्बन्धी परियोजनाबारे औपचारिक पुष्टि गरेका छैनन्। त्यसैले सार्वजनिक विवरणलाई हालसम्म सम्भावित उत्पादन योजनाका रूपमा मात्रै हेरिएको छ।
ओपनएआई स्मार्टफोन बजारमा प्रवेश गरेमा च्याटजीपीटीजस्ता एआई सेवाबाट अघि बढेर आफ्नै हार्डवेयर उत्पादन गर्ने कम्पनीको रणनीतिमा नयाँ मोड आउन सक्छ। तर यसको डिजाइन, मूल्य, विशेषता र बजारमा उपलब्ध हुने समयबारे आधिकारिक विवरण आउन बाँकी छ।
