काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व चुहावट नियन्त्रण गर्न र तोकिएको लक्ष्य पूरा गर्न भन्सार प्रशासनलाई कडा निर्देशन दिएका छन्।
मोरङको विराटनगर भन्सार कार्यालयको एकीकृत भन्सार जाँचपास चौकीको शुक्रबार स्थलगत निरीक्षण गर्दै मन्त्री वाग्लेले राजस्व संकलनमा शून्य सहनशीलताको नीति अपनाउन आग्रह गरे।
उनले भन्सार कर्मचारीहरूलाई लक्ष्यभन्दा कम राजस्व संकलन गर्ने कार्यालय र नेतृत्वको कार्यसम्पादनको मूल्यांकन गरिने चेतावनी दिए। सरकारको १६ खर्ब रुपैयाँको राजस्व संकलन लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्न उनले निर्देशन दिएका छन्। मन्त्री वाग्लेले भने, ‘राजस्व चुहावट रोक्न सबै कदम चाल्नुहोस्। त्यसमा शून्य सहनशीलताको नीति लिनुहोस्। राजस्व संकलनको ऐतिहासिक राष्ट्रिय लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्नुहोस्।’
भन्सार प्रशासनमा हुने झन्झट र राजस्व छल्ने कार्यलाई पूर्ण रूपमा रोक्न उनले जोड दिए। राजस्व चुहावट गर्ने र छल्नेहरूलाई संरक्षण गर्न नहुने बताउँदै उनले व्यापार प्रवर्द्धन र राजस्व संकलनलाई सँगसँगै लैजानुपर्ने आवश्यकता औंल्याए। मन्त्री वाग्लेले कार्यालयलाई आवश्यक पर्ने पूर्वाधार र सहयोगका लागि मन्त्रालयमा निर्धक्क भएर प्रस्ताव राख्न प्रशासनलाई आग्रह गरे।
सोही अवसरमा राजस्व महाशाखा प्रमुख तथा निमित्त अर्थसचिव डा. सुमन दाहालले भन्सार बिन्दुमा एमआरपी घोषणालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले कार्यालयको दैनिक कामकाज र अवस्थाबारे प्रस्तुति दिएका थिए।
