एजेन्सी । विश्वका प्रमुख भुक्तानी सेवा प्रदायक भिसा र मास्टरकार्डसँग सम्बन्धित केही ग्राहकका व्यक्तिगत विवरणमा साइबर आक्रमणकारीले अनधिकृत पहुँच बनाएको खुलासा भएको छ।
नोभेम्बर १९ मा सार्वजनिक विवरणअनुसार दुवै कम्पनीलाई सेवा दिँदै आएको बाह्य सेवा प्रदायकमाथि भएको साइबर आक्रमणका कारण सीमित ग्राहकका व्यक्तिगत विवरण जोखिममा परेका हुन्।
भिसाले एसिया–प्रशान्त क्षेत्रमा रहेको आफ्नो एक बाह्य सेवा प्रदायकसँग सम्बन्धित साइबर सुरक्षा घटना भएको पुष्टि गरेको छ। कम्पनीका अनुसार आफ्नै भुक्तानी प्रणालीमा भने कुनै असर परेको छैन। ग्राहकका कार्ड नम्बर तथा भुक्तानीसम्बन्धी संवेदनशील विवरण चोरी भएको पुष्टि नभएको पनि भिसाले जनाएको छ।
मास्टरकार्डले पनि आफ्नो विशेष सुविधा कार्यक्रममा आबद्ध केही ग्राहकका इमेल ठेगाना बाह्य सेवा प्रदायकसँग सम्बन्धित घटनाका कारण सार्वजनिक भएको स्वीकार गरेको छ। कम्पनीले समस्या नियन्त्रणमा लिइसकेको र आफ्नो भुक्तानी सञ्जाल सुरक्षित रहेको जनाएको छ।
अमेरिकी वित्तीय संस्था जेपीमर्गन चेजले पनि आफ्ना बाह्य सेवा प्रदायकमाथि साइबर आक्रमण भएको जनाएको छ। प्रारम्भिक जानकारीअनुसार केही ग्राहकका नाम, इमेल ठेगाना र बजार प्रवर्द्धनसम्बन्धी विवरणमा अनधिकृत पहुँच पुगेको हुन सक्ने बताइएको छ।
साइबर आक्रमणकारी समूहले यी घटनाको जिम्मेवारी लिएको दाबी गरे पनि सार्वजनिक गरिएका विवरणको पूर्ण सत्यता स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।
सम्बन्धित कम्पनीहरूले आफ्ना मुख्य भुक्तानी प्रणालीमा कुनै अवरोध नआएको र ग्राहकका कार्डमार्फत हुने कारोबार सामान्य रूपमा सञ्चालन भइरहेको बताएका छन्।
यस घटनाले बैंक तथा वित्तीय संस्थाका आफ्नै प्रणाली सुरक्षित भए पनि उनीहरूसँग काम गर्ने बाह्य सेवा प्रदायकमार्फत ग्राहकका व्यक्तिगत विवरण जोखिममा पर्न सक्ने चुनौती उजागर गरेको छ।
साइबर सुरक्षासम्बन्धी जोखिमलाई ध्यानमा राख्दै ग्राहकलाई अपरिचित इमेल, सन्देश र शंकास्पद लिङ्कबाट सावधान रहन आग्रह गरिएको छ। बैंक वा कार्ड कम्पनीको नाममा व्यक्तिगत विवरण, गोप्य सङ्केत वा सुरक्षा नम्बर माग्ने सन्देश आएमा आधिकारिक माध्यमबाट पुष्टि गर्न सुझाव दिइएको छ।
