काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा ऊर्जा व्यापार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई मुख्य एजेन्डा बनाउन आग्रह गरेका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ऊर्जा क्षेत्र देशको आर्थिक समृद्धिको प्रमुख आधार भएको बताए।
कार्कीले पञ्चेश्वर र कर्णाली चिसापानीजस्ता ठूला जलविद्युत् आयोजनाहरू लामो समयदेखि चर्चामा मात्र सीमित रहेको भन्दै अब तिनको कार्यान्वयनमा ढिलाइ गर्न नहुनेमा जोड दिए।
ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन सरकारले लिएका नीतिगत निर्णयहरू सकारात्मक भए पनि उत्पादनसँगै प्रसारण लाइन निर्माण र विद्युत् व्यापारमा समेत निजी क्षेत्रको संलग्नता आवश्यक रहेको उनले बताए।
नेपालले भारतसँग आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने समझदारी गरिसकेको सन्दर्भ उल्लेख गर्दै उनले दीर्घकालीन विद्युत् व्यापारका लागि थप पहल गर्नुपर्ने धारणा राखे। साथै, बंगलादेशले नेपालबाट विद्युत् खरिद गर्न इच्छा देखाएकाले भारतसँगको सहजीकरणमा जोड दिनुपर्ने उनले बताए।
भारत हुँदै विद्युत् लैजानुपर्ने भएकाले यसका लागि द्विपक्षीय सहमति र सहजीकरण अपरिहार्य रहेको कार्कीको भनाइ छ। जलविद्युत् उत्पादनको प्रचुर सम्भावनालाई देशको आर्थिक विकाससँग जोड्न सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताएका छन्।
