काठमाडौं: फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आन्तरिक राजस्व कार्यालय, ललितपुर-१ बाट सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मान प्राप्त गरेको छ। आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा कम्पनीलाई सो सम्मान प्रदान गरिएको हो।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आयोजित एक कार्यक्रममा प्रमुख कर अधिकृत शिवकुमार राईले फोनपेलाई सम्मानपत्र प्रदान गरे। सो अवसरमा राईले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन र आर्थिक गतिविधिहरूलाई औपचारिक प्रणालीमा आबद्ध गर्न फोनपेले पुर्याएको योगदानको प्रशंसा गरे।
डिजिटल भुक्तानी प्रणाली सञ्चालकका रूपमा फोनपेले वित्तीय समावेशीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। कम्पनीले लाखौँ प्रयोगकर्ता, वित्तीय संस्था तथा व्यापारीहरूलाई आफ्नो सञ्जालमा जोडेको छ। यसअघि पनि फोनपे सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सम्मानित भएको थियो।
कम्पनीले निकट भविष्यमा प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने तयारी पनि गरिरहेको छ। फोनपेका अनुसार आईपीओले संस्थागत पारदर्शिता, सुशासन र कम्पनीको विकासमा सर्वसाधारणको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
