काठमाडौं: राष्ट्रिय जनमोर्चाले गोरखाको आरुघाट गाउँपालिका-५ शान्तिबजारका ६५ बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर वितरण गरेको छ। मंगलबार आयोजित एक कार्यक्रममा जनमोर्चाका महासचिव मनोज भट्ट नेतृत्वको टोलीले उक्त राहत सामग्री हस्तान्तरण गरेको हो।
गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखाका दर्जनौँ परिवार घरबारविहीन भएका थिए। राहत वितरण टोलीका सदस्य तथा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य गोविन्दकुमार शर्माका अनुसार पीडित परिवारको आवश्यकतालाई ध्यानमा राखेर ग्यास सिलिन्डर उपलब्ध गराइएको हो।
उक्त राहत सामग्री जनमोर्चाका कार्यकर्ताबाट संकलित रकम र भारतस्थित प्रवासी संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जुटाएको सहयोगबाट खरिद गरिएको हो। राहत रकम र सामग्री सरकारी कोषमा जम्मा नगरी सिधै पीडितको हातमा पुर्याउने उद्देश्यले वितरण गरिएको जनमोर्चाले जनाएको छ।
राहत वितरण कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव वेदबहादुर कार्की, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल बुद्धिजीवी सङ्घका कोषाध्यक्ष भोला ढकाल तथा जनमोर्चाका नेताहरू हरिकान्त पौडेल, मदन शर्मा र दिवाकर सुवेदीको उपस्थिति रहेको थियो। जनमोर्चाले यसअघि भोटेकोसी र त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा पनि पुगेर राहत वितरण गरेको थियो।
