काठमाडौं: सरकारले विद्युत् चुहावट नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षमा १२.२६ प्रतिशत रहेको विद्युत् चुहावट चालु आर्थिक वर्षमा १२.१६ प्रतिशतमा झरेको छ।
प्रधानमन्त्री कार्यालयले यस वर्ष विद्युत् चुहावट १२.२० प्रतिशतमा सीमित गर्ने लक्ष्य तोकेको थियो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको नेतृत्वमा मन्त्रालयले सो लक्ष्यभन्दा ०.४ प्रतिशत बढी नियन्त्रण गर्दै सफलता प्राप्त गरेको हो। मन्त्री श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि दक्ष प्राविधिक जनशक्तिको परिचालन र समग्र व्यवस्थापनमा विशेष जोड दिएका थिए।
नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युत् चुहावट मुख्यतया चोरी, मर्मत सम्भारमा हुने कमजोरी र लोड व्यवस्थापनका कारण हुने गर्दछ। मन्त्रालयले विद्युत् नेटवर्कको स्तरोन्नति, समयमै मर्मत र प्राविधिक पक्षमा सुधार गर्दै चुहावट नियन्त्रणलाई तीव्रता दिएको जनाएको छ। प्राविधिक समस्या देखिएमा तत्कालै प्रतिक्रिया दिने व्यवस्था मिलाइएकाले पनि चुहावट घटाउन सहयोग पुगेको मन्त्रालयले उल्लेख गरेको छ।
दक्षिण एसियाली मुलुकहरूको औसत विद्युत् चुहावट १३.८ प्रतिशत रहेको तथ्यांक छ। मन्त्री श्रेष्ठले चुहावटलाई अझै न्यूनीकरण गर्न प्राविधिक र व्यवस्थापकीय पक्षलाई थप चुस्त बनाउने प्रतिबद्धता जनाएका छन्।
