काठमाडौं: प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नागरिक लगानी कोषलाई सर्वसाधारणको पहुँच विस्तार गर्ने योजना र भावी कार्यदिशासहितको विस्तृत प्रतिवेदन १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ।
समितिको बैठकमा सभापति डा. कृष्णहरि बुढाथोकीले कोषमा नागरिकको पहुँच बढाउन नसकिएको भन्दै बैठकमा उठेका विषयवस्तुलाई समेटेर प्रतिवेदन बुझाउन कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीलाई निर्देशन दिएका हुन्।
छलफलका क्रममा सांसदहरूले कोषको लगानी क्षेत्र सीमित रहेको औंल्याउँदै ठूला पूर्वाधार र उत्पादनमूलक परियोजनामा लगानी विस्तार गर्न सुझाव दिएका छन्। उनीहरूले दीर्घकालीन परियोजनाहरूमा कोषको सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए।
कोषका कार्यकारी निर्देशक कार्कीले सरकारी संलग्नता रहेका पूर्वाधार आयोजनामा लगानी विस्तार गर्न सहज वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेका छन्। उनले माथिल्लो तामाकोशी र न्यादीजस्ता जलविद्युत् आयोजनामा थप लगानीका लागि सरकारी पहल आवश्यक रहेको बताएका छन्।
