काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ९८ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५७ करोड ६८ लाख रुपैयाँको तुलनामा ७१.५२ प्रतिशत बढी हो ।
संस्थाको नाफामा उल्लेख्य सुधार भएसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । अघिल्लो वर्ष ३०.८८ रुपैयाँ रहेको ईपीएस बढेर ४८.१५ रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १५.४६ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ८८ करोड रुपैयाँ थियो ।
त्यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी १८ करोड ८९ लाख रुपैयाँबाट बढेर २० करोड ८९ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा पनि ९१ करोड ३८ लाख रुपैयाँबाट बढेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
खराब कर्जा आधाभन्दा बढी घट्यो
डिप्रोक्सको खराब कर्जा अनुपातमा समेत उल्लेख्य सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्ष ११.३० प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ६.४९ प्रतिशतमा झरेको छ ।
संस्थाको सीडी रेसियो ११२.९७ प्रतिशतबाट घटेर ११२.६७ प्रतिशतमा आएको छ । त्यस्तै, बेस रेट १२.१२ प्रतिशतबाट घटेर ११.३३ प्रतिशत र कस्ट अफ फण्ड ७.७७ प्रतिशतबाट घटेर ६.८५ प्रतिशतमा झरेको छ ।
तर, स्प्रेड दर भने ७.१३ प्रतिशतबाट बढेर ७.७६ प्रतिशत पुगेको छ ।
वितरणयोग्य मुनाफा १ अर्ब नाघ्यो
संस्थाको वितरणयोग्य मुनाफा पनि उल्लेख्य बढेको छ । अघिल्लो वर्ष ५९ करोड ९८ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
संस्थाको लाभांश क्षमता ३२.११ प्रतिशतबाट बढेर ५२.८३ प्रतिशत पुगेको छ । रिटेन्ड अर्निङ १ अर्ब ८ करोड रुपैयाँ तथा रिजर्भको आकार १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा संस्थाको प्रतिसेयर नेटवर्थ २२६.८७ रुपैयाँ, तरलता अनुपात ८.१२ प्रतिशत, पीई रेसियो १७.६५ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४४६.९६ रुपैयाँ रहेको छ ।
